प्रिय पात्र

बीपीले सबै पात्रलाई आफ्नो स्वीटर लगाइदिएका छन्

बानेश्वरमा एक आमसभा थियो। त्यहाँ मेरा दाजु (ईश्वर बल्लभ)ले पनि कविता सुनाएका थिए। आमसभालाई सम्बोधन गरेका थिए बीपीले। म सानै थिएँ, गहिरोगरी बुझ्ने भइसकेको त थिइनँ, तर त्यतिबेलैदेखि बीपी मन पर्ने पात्र बने मेरा।

बीपीले सबै पात्रलाई आफ्नो स्वीटर लगाइदिएका छन्

केही किताबमा बन्धित पात्र
केही समाजमा बाँचेका पात्र

मलाई लाग्छ दुनियाँमा दुइथरि पात्र छन्। एक किताबभित्रका पात्र, दोस्रो किताब बाहिरका पात्र।

सामाजिक, राजनीतिक र व्यक्तिगत रुपमा बाँचेका पात्र। किताब बाहिरका हामीहरु कुनै कथाका पात्र जस्ता छौँ। हाम्रा कथा कहिले वियोगान्त र संयोगान्त त कहिले सुखान्त र दुखद् छन्।

किताबका पात्रको कुरा गर्नुपर्दा मलाई शेक्सपियरका हेमलेट, जुलियट, रोमियो, शाइलक, ओथेलो लगायतका थुप्रै पात्र मन पर्छन्। गोपालप्रसाद रिमालको मसानका कृष्ण, दुलही र युवती मन पर्छन्। भीमनिधि तिवारीका धेरै नाटकका र गुरुप्रसाद मैनालीका कथाका अधिकांश पात्र मलाई मन पर्छन्।

हुन त अब म धेरै बिर्सिने भइसकेको छु। कसैले तैले लेखेका दश गीत भन् भन्दा पनि सम्झिन मुश्किल पर्छ। कहिले कुन त कहिले कुन पात्रले प्रभाव पारिरहने भएकाले जीवनका कालखण्डमा फरक फरक पात्र मन पर्छन्, एकै पात्र मन परिरहने भन्ने हुँदैन।

यतिबेला विगतदेखि सम्झिनुपर्दा मलाई सबैभन्दा मन पर्ने पात्र बीपी कोइरालाका पात्रहरु हुन्।

प्रथमतः मलाई बीपी कोइराला नै एक पात्र जस्तो लाग्छन्। बीपीका पात्रहरुभन्दा बढी मन पर्ने पात्र त बीपी नै हुन् मेरा लागि। मैले शुरुमै भने किताबभित्रका काल्पनिक र किताब बाहिरका यथार्थ पात्र दुवै कुनै कथा बाँचिरहे जस्ता लाग्छन् मलाई। हरेक क्षेत्रमा लागेर जनतालाई प्रभाव पार्ने काम गर्ने नायक जस्तो लाग्छ मलाई बीपी। त्यसैले शुरुमा बीपीकै कुरा गरौँ, त्यसपछि केही किताबी पात्रमा प्रवेश गरौँला।

साहित्य, राजनीतिक र सामाजिक क्षेत्रमा पनि म धेरै प्रभावित भएको व्यक्तित्व बीपी हुन्। उनका प्रत्येक रचना पढ्दा होस् वा उनको राजनीतिक र व्यक्तिगत जीवनको भोगाइहरुबारे सुन्दा होस् यी दुवै कारणले उनी मलाई मन पर्ने पात्र हुन्। जुन विचारमा अडिग भएर उनले दुश्मनसँग पनि दुश्मनी मोलेर नभई रणनीतिक हिसाबले अघि बढे, जसले राजनीतिमा पछिसम्म एउटा मार्गनिर्देश गर्यो, नेता त्यस्तै प्रकारको हुनुपर्छ भन्ने लाग्छ।

व्यक्तिगत सम्बन्ध त्यस्तो होइन। एक दुई पटक आमसभामा सुनेको हो। बानेश्वरमा एक आमसभा थियो। त्यहाँ मेरा दाजु (ईश्वर बल्लभ)ले पनि कविता सुनाएका थिए। आमसभालाई सम्बोधन गरेका थिए बीपीले। म सानै थिएँ, गहिरोगरी बुझ्ने भइसकेको त थिएन, तर त्यतिबेलैदेखि बीपी मन पर्ने पात्र बने मेरा।

अलिअलि सुनियो, अलिअलि देखियो, अलिअलि पढियो, अलिअलि अफवाह पनि फैलिए होलान्, यसै क्रममा बीपी मेरो प्रिय पात्र बन्न पुग्यो।

पिताजी (पं.मुरलीधर भट्टराई) राजनीतिक पृष्ठभूमिका व्यक्तित्व हुनुहुन्थ्यो। प्रजातान्त्रिक विचारधाराका कारण उहाँ जेल पनि पर्नुभयो। कैदीका सन्तान हौँ हामी। त्यसकारण पनि बीपीसँग निकटतम् सम्बन्ध जस्तो लाग्ने वा नायक जस्तो लाग्ने होला।

हरेकको घरमा एउटा गाई होस्, एउटा छाप्रो होस् भन्ने जुन उनको विचार थियो त्यसबाट म निकै प्रभावित भएँ। उनको त्यो आर्थिक सोचाइ एकदमै सान्दर्भीक थियो। किनभने गाई हुनु र छाप्रो हुनु अहिलेलाई सामान्य जस्तो लागे पनि त्यतिबेला एकदमै ठूलो कुरा थियो।

प्रत्येक नेपालीको सपना हुन्थ्यो, एउटा गाई। जुग अनुसार व्यक्तिका आवश्यकता फेरिन्छन्। त्यसकारण अहिलेको समयमा गाई हुनुपर्छ भन्ने अर्थ होइन त्यसको। यसलाई प्रतीकात्मक रुपमा लिएर अहिलेका राजनीतिज्ञले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ।

सैद्धान्तिक रुपमा राजा र राणाकै विरोधमा उनले राजनीति गरे। राणा र राजा भन्नुमा कुनै अन्तर होइन। कहिले राणाबाट राजा त कहिले राजाबाट राणा शासित भए भन्ने मात्र हो। नत्र राजा र राणा भन्नु उस्तै हो। उनीहरुकै अन्तर बसेर पनि अरुले फाँसी दिइन्छ नेपाल फर्किए भनेर सचेत गराउँदा पनि बीपी कठिन समयमा भारतबाट नेपाल आए। फाँसी दिने पक्कापक्की पनि थियो। यदि ब्राम्हणको छोरा हुन्थेन भने दिइन्थ्यो पनि होला। त्यस्तो बेला नेपाल उनी आए। यसलाई राजनीतिक सुझबुझ र आदर्श सिद्धान्तका रुपमा लिन्छु म।

बीपी किताब बाहिरको एउटा पात्र थिए। जो कथा जस्तो जिन्दगी बाँचेर गए। आफूलाई नै कथामा लेखे जस्तो लाग्छ। उनका हरेक पात्र बीपी जस्ता लाग्छन् मलाई। पात्रको पर्खाल लगाएर उनले आफूलाई प्रस्तुत गरे जस्तो लाग्छ। बीपीले कथाका सबै पात्रलाई आफ्नो स्वीटर लगाइदिएका छन्।

किताबी पात्रका कुरा गर्नुपर्दा मलाई निकै मन पर्ने एक पात्र शत्रु कथाको कृष्ण राय हो। शत्रु भन्या को हुन्छ ? गहन दर्शन छ यसमा। आफै शत्रु हो। आफ्नै छायाँ शत्रु हो। कथामा मित्र को हो ? शत्रु को हो ? भन्ने कल्पनाको उचाइ जुन छ त्यो एकदमै मन परेको हो।

यो पात्रलाई मान्छेले आफू अनुसार व्याख्या गर्लान्। मैले आफूसँग कसरी दाँजे भन्नुपर्दा यो यथार्थ चित्र हो। हामी सबैले भोगिरहेको पात्र। पल पल र क्षण क्षणमा भोगिरहेको। आफै हो कि जस्तो लाग्ने। मान्छे कुनै कुरामा परिपूर्ण हुँदैन। बदमासी पनि गरियो होला, बदमासीको जुन एउटा परिभाषा छ ती भए होलान्। तिनै सबै कुरा मिलेर एउटा पात्र बनेको छ, कृष्ण राय।

मैले गहन रुपमा विद्यावारिधिका लागि यो पात्रलाई अध्ययन गरेको भन्ने होइन। तर मैले बाँचेको समाजको पल पल क्षण क्षण ठोक्किने पात्र मन परेको हो। वर्ष दिन काम गरेर तीन महीनाको मात्रै तलब लिएर जागिर गरेका संघर्षका दिन पनि थिए। त्यहाँ म कृष्ण राय बाँचेँ। घरमा र आफ्नै साथी कृष्ण राय भए।

म धेरैपटक परेको छु शंकामा। शंकाले बिग्रिएका कुरा पनि छन् कतिपय। शंका केही सत्य पनि होलान्, तर धेरै जस्तो झूट हुन्छन्। शंकाले एउटा यस्तो दुनियाँ सिर्जना गरिदिन्छ, कसैलाई बर्बाद नै बनाएर सकिदिन्छ। यस्ता कतिपय मुश्किल नाघेर हिँडियो होला, कतिपय कठिनाइसँग जुधियो होला। जीवनको कालखण्डमा कृष्ण रायहरु आइ नै रहे।

उनका मोदीआइन्, तीन घुम्ती, सुम्निमा तथा कथाका पात्रहरु मलाई मन पर्छन् नै। उनका अधिकांश पात्रले जीवनको कालखण्डमा अमिट छाप छाडेका छन्। आफू जस्तै लागेका छन्। तर बीपीकै एक मात्र पात्र छनोट गर्नुपर्ने हो भने मलाई सर्वाधिक मन पर्ने एक पात्र नरेन्द्र दाइ हो।

नरेन्द्र दाइमा टिपिकल नेपाली पात्र हो। नरेन्द्रद्वारा नेपाली पुरुषहरु त्यहाँ प्रस्तुत भएका छन्। नरेन्द्र दाइ स्वयं बीपी कोइराला हुन् जस्तो लाग्छ। कता कता म हूँ कि जस्तो पनि लाग्थ्यो। कता कता मैले देखेकै साथीहरु हुन् कि जस्तो पनि लाग्छ।

यसैगरी मधेशतिरकी विधुवा र गोरे पात्र पनि मलाई मन पर्छन्। गोरे र विधुवा नामका जुन सामान्य पात्र छन्, जो आफ्ना आफ्ना समस्या बोकेर बाँचिरहेछन्, समस्यासँग हिँडिरहेछन्। समस्या बोकेर समस्यैसमस्याको पहाड मधेशतिर झरिरहेछन्, तिनले देखाउने जीवनको आर्थिक चित्र चलचित्र जस्तो पनि लाग्छ र यथार्थ जस्तो पनि। त्यसैले सँधैं मैलै सम्झिरहने कथा हो त्यो। अनि त्यो महिलाभित्र जुन आर्थिक एवं जैविक द्धन्द्ध जुन छ, त्यसले मलाई असाध्यै छुन्छ।

बीपीका कथाका पात्र हावा कुरा गर्दैनन्। आदर्शका कुरा गर्दैनन्। जिउँदा मान्छे जस्ता प्रस्तुत हुन्छन्। जुन बाँच्न सकिन्छ तिनै पात्र उनका कथामा छन्। जुन पात्रले आफ्नो तरिकाले हाम्रो जीवन प्रस्तुत गर्छन् ती पात्र सफल हुन्छन्। अभिनेता, अभिनेत्री पनि त्यही हो। लेखाइमा पनि त्यही हो। देवकोटाको मुनामदनले धेरैलाई किन प्रभावित पार्यो भन्दा त्यहाँ आम मानिसले आफूलाई पाए।

बीपीले समाजलाई जसरी प्रस्तुत गरे त्यो एकदमै मन पर्छ मलाई। उनका कथामा फ्रायडको प्रभाव छ। प्रभाव पर्नु नराम्रो भन्ने होइन। मैले भन्न खोजेको उनका कथामा यौन आउँछ। तन्नेरीहरुले एकअर्कालाई मन पराउनु, आकर्षित हुनु अपराध हो ? मन परेर त बिहे हुन्छ। मन परेर त केटाकेटी हुन्छन्। हाम्रो जस्तो समाजमा जुन किसिमले यो अहम् सवाल बीपीका कथाले उठाएका छन् त्यो एकदमै महत्वपूर्ण लाग्छ मलाई। मान्छेलाई ऐना देखाइदिएका छन्। बीपीका पात्र सोलोडोलो एक मान्छे हो। उनका कथामा ढोंग भन्दा पनि यथार्थ देखिन्छ। त्यसैले मलाई मन पर्छन्।

मलाई बीपी एकदमै मन पर्ने पात्र। उनका पात्रले एकदमै छोएका थिए। तर उनले जस्तो लेख्न पाए हुन्थ्यो भन्ने कहिल्यै लागेन। मैले म जस्तो छु त्यस्तै लेख्न रुचाएँ।

(काशीराम बजगाईसँगको संवादमा आधारित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved