राप्रपाको महाधिवेशनबाट बन्दैछ यस्तो नयाँ संरचना

राप्रपाको नयाँ विधानले १ सय ९९ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था गरेको छ। दुुई कार्यकालभन्दा बढी एकै पदमा बस्न नपाउने प्रावधान छ।

राप्रपाको महाधिवेशनबाट बन्दैछ यस्तो नयाँ संरचना

काठमाडौं। विगतमा अध्यक्ष पदका लागि मात्रै निर्वाचन गर्ने गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इतिहासमै पहिलोपटक पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन गर्दैछ। अध्यक्षले पदाधिकारी मनोनित गर्ने प्रथा तोड्दै चार हजारभन्दा धेरै महाधिवेशन प्रतिनिधिहरूले मतदानमार्फत ७५ प्रतिशत केन्द्रीय सदस्य चयन गर्नेछन्।

त्यसैले, आजबाट काठमाडौंमा शुरु भएको ‘एकता’ महाधिवेशनको रौनक विशेष छ। शुक्रबारसम्म महाधिवेशन जारी रहनेछ।

कस्तो हुनेछ नयाँ संरचना ?
राप्रपाले केही समयअघि नेता निरन्जन थापाको नेतृत्वमा पार्टीको नयाँ विधायन समिति गठन गरेको थियो। उक्त समितिले बनाएको विधानलाई महाधिवेशनले अनुमोदन गर्दैछ। त्यसपछि राप्रपा नयाँ संरचनामा जानेछ।

बिहीबारको बन्दशत्रमा विधानसहित राप्रपाका प्रमुख दस्तावेजहरू प्रस्तुत हुनेछन्। नयाँ विधानअनुसार बन्ने १ सय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमा ७५ प्रतिशत निर्वाचित सदस्य र २५ प्रतिशत मनोनित सदस्य रहनेछन्।

८ उपाध्यक्ष, चार मनोनित

पदाधिकारीमध्ये ८ जना उपाध्यक्षको भूमिकामा हुनेछन्। जसमध्ये चारजना निर्वाचित उपाध्यक्ष हुनेछन्, त्यसमध्ये महिलालाई कम्तिमा एक सिट सुरक्षित छ। त्यस्तै, चारजना उपाध्यक्ष अध्यक्षद्धारा मनोनित हुनेछन्।

६ महामन्त्री, ३ मनोनित
नयाँ विधानले ६ जना महामन्त्री रहने व्यवस्था गरेको छ। जसमध्ये ३ जना निर्वाचित महामन्त्री हुनेछन्। यसमध्ये महिलालाई कम्तिमा एक सिट सुरक्षित छ। बाँकी ३ जना महामन्त्रीको मनोनयन अध्यक्षद्धारा हुनेछ।

केन्द्रीय समितिका ७५ प्रतिशत निर्वाचित
अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीलगायतका पदाधिकारीसहितको कुल १ सय ९९ सदस्यीय केन्द्रीय समितिमा ७५ प्रतिशतको चयन निर्वाचनमार्फत हुनेछ। कार्यसमितिमा ६६ जना महिला अनिवार्य रहने व्यवस्था छ।

राप्रपाले १५ सदस्यीय निर्देशन समिति र ३३ सदस्यीय कार्यसम्पादन समितिको व्यवस्था गरेको छ। निर्देशन समितिमा पूर्वअध्यक्ष, पूर्वप्रधानमन्त्रीसहित पार्टीका वरिष्ठ नेताहरूलाई राख्ने तयारी छ।

त्यसैगरी, पार्टीको दैनिक कार्यसम्पादनसहित महत्वपुर्ण निर्णयहरू गर्नका लागि ३३ सदस्यीय कार्य सम्पादन समिति बनाउने तयारी छ।

दुई कार्यकालको मापदण्ड
नयाँ विधानअनुसार कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै पदमा बस्न पाउने छैनन्। पार्टी अध्यक्षका लागि पदाधिकारीको रुपमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने र पदाधिकारी बन्नका लागि केन्द्रिय सदस्यको रुपमा एक कार्यकाल पुरा गर्नुपर्ने विधानमा उल्लेख छ।

“यस विधानले पार्टीको दायरालाई धेरै फराकिलो बनाउने विश्वास हामीले लिएका छौ,” विधान मस्यौदा समितिका संयोजक निरन्जन थापाले नेपालभ्युजसँग भने। उनले राप्रपाको विधान लोकतान्त्रिक र समावेशी रहेको दाबी गरे।

चर्चा भावी अध्यक्षकै
विधान परिवर्तन र पार्टी रुपान्तरणको विषय एकातर्फ छ, अर्कोतर्फ भावी अध्यक्ष को हुनेछन् भन्ने कौतुहलता छ। विद्यमान तीन अध्यक्षमध्येका एक कमल थापाले महाधिवेशनपूर्व नै आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन्।

युवा नेता राजेन्द्र लिङदेनले उनलाई यसपटक चुनौती दिदैंछन्। अन्य दुई अध्यक्ष पशुपति शम्शेर राणा र प्रकाश चन्द्र लोहनीले नेतृत्वमा आकांक्षा प्रकट गरेका छैनन्। लोहनीले लिङ्देनलाई समर्थन जनाइसकेका छन् भने राणा अहिलेसम्म तटस्थ नै छन्।

उनले सर्वसम्मत नेतृत्वका लागि आफ्नो प्रयास रहने बताइरहेका छन्। त्यस्तै, अर्का प्रभावशाली नेता धवल शम्शेर राणा पनि लिङ्देनकै पक्षमा छन्। प्रतिनिधिसभामा राप्रपाबाट निर्वाचित एकमात्रै सांसद् लिङदेन युवाहरूमाझ चर्चित छन्।

यता, लामो समयदेखि नेतृत्वमा रहेका थापाको पकड पुराना नेताहरूमाझ बलियो देखिन्छ। बदलिदों समयअनुसार पार्टी पुनर्गठन हुनुपर्ने लिङदेनको माग छ। एकपटक फेरि, पार्टीको नेतृत्व गर्ने अवसर दिन थापाले प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved