अध्यादेश जारी गरेर रेल चलाउने तयारी भइरहेको छ –यातायात मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल सञ्चालन तयारी भइरहेको बताएकी छन्।यसै वर्षभित्र रेल सञ्चालनमा आउने समेत उनले दाबी  गरिन्।

अध्यादेश जारी गरेर रेल चलाउने तयारी भइरहेको छ –यातायात मन्त्री यादव

जनकपुरधाम। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल सञ्चालन तयारी भइरहेको बताएकी छन्।यसै वर्षभित्र रेल सञ्चालनमा आउने समेत उनले दाबी  गरिन्। मंगलबार जयनगर–जनकपुरधाम रेल्वेको ट्र्याक निरीक्षण गर्दै मन्त्री यादवले नेपाली जनताको चाहनाअनुरूप चाँडै रेल सञ्चालनमा ल्याउने आफूहरूको योजना रहेको बताइन्।

नेपाल सरकारले खरिद गरेको दुई सेट रेल कर्मचारी र कानून अभाव लगायतका कारणले २०७७ असोज २ गते भारतबाट जनकपुरधाम ल्याइएपछि थन्काइएर राखिएको थियो। मन्त्री यादवले यसै वर्षभित्र रेल सञ्चालनमा आउने दाबी गरेकी हुन्। उनले कानुन अभावका कारण रेल सञ्चालनमा आउन नसके पनि सबै प्रक्रिया पूरा गरेर यसै वर्षभित्र रेल सञ्चालनमा आउने बताएकी छन्। उनले रेल्वे सञ्चालनका लागि अध्यादेश निर्माण भइसकेको र चाँडै नै सदनमा पेस गरिने बताइन्।

उनले अध्यादेश एक साताभित्र मन्त्री परिषद्बाट पारित हुने र अन्य व्यवस्थापन मिलाएर जति सक्दो चाँडो रेल चढ्ने जनताको चाहना पुरा गर्नका लागि सरकार लागि परेको बताइन्।

उनले जनकपुर जयनगर रेल सञ्चालनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा अर्थमन्त्री जनार्दन शर्मा सबै प्रकारको सहयोग गर्नका लागि तयार रहेको बताइन्। रेलको उद्घाटन नेपाल भारतका प्रधानमन्त्रीले कोभिडका कारणले प्रत्यक्ष नभए पनि भर्चुअल माध्यमले भए पनि गर्ने उनले बताइन्।

उनले ३५ किलोमिटर रेल सञ्चालनमा ल्याउने तयारी गरिरहेको र यसको लागि कर्मचारीको व्यवस्था गर्न लागेको समेत जनाइन्। उनले भनिन्, ‘‘ठ्याक्कै यही मितिदेखि रेल सञ्चालन हुने भन्न नसकिए पनि यस वर्षभित्रै कुर्थासम्म रेल सञ्चालनमा ल्याउने गरी काम अगाडि बढेको छ।’’ उनले भारतीय सीमा जयनगरदेखि जनकपुरधामको कुर्थासम्म चल्ने रेल सञ्चालनका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जानकारी दिइन्।

साथै उनले रेल लिक महोत्तरीको बर्दिबाससम्म जोड्ने र पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि त्यहाँ रेल्वे सवस्टेशनको मुख्य जक्सन निर्माण गर्ने सरकारको लक्ष्य रहेको बताइन्। उनले केही कागजी प्रक्रियाहरू बाँकी रहेकोले त्यसको तयारीपश्चात् चाँडै दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट रेलको उद्घाटन गराइने दाबी गरिन्।

रेल्वेका महाप्रबन्धक निरञ्जन झाले १ हजार २५४ करोड रुपैयाँको लागतमा निर्माण गरिने भनिएको जयनगर–बर्दिबास रेल्वे सडक खण्डमध्ये ६२३ करोड लागतमा निर्माण गरिएको जयनगर–कुर्था रेलमार्ग भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिए।

उनले रेल सञ्चालन सम्बन्धी कार्यविधि तयार भइसके पनि कर्मचारी व्यवस्थापन, कानून र भाडादर निर्धारण गर्ने काम बाँकी रहेकोले ती सबै प्रक्रियाहरू चाँडै पूरा गरिने दावी गरे। महाप्रबन्धक झाले भने, ‘‘हामीले भारतीय कम्पनी केआरसिएललाई इनर्वामा विगत १४ महिनादेखि थन्काएर राखिएको रेलसेटको प्राविधिक जाँचका लागि पत्राचार गरिसकेका छौँ।’’

जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरिसकेको थियो। गत असोज २ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल जनकपुरधाम भित्र्याइए पनि सञ्चालन नभएपछि हाल धनुषाको जनकनन्दिनी गाउँपालिका स्थित ईनर्वा स्टेसनमा सशस्त्र प्रहरीको निगरानीमा रेल राखिएको छ।

निरीक्षणमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठ सहितका व्यक्तिहरू उपस्थित रहेका थिए।

राणा शासनका बेला विसं १९८४ मै भारतको जयनगरदेखि बिजलपुरासम्म नेपालको पहिलो रेल सेवा सञ्चालन गरिएको थियो। सुरुआतमा तत्कालीन ब्रिटिस शासकले नेपालका जङ्गलको काठ ओसार्ने उद्देश्यले रेल सेवा शुरू गरेको मानिन्छ।

त्यति बेला जनकपुर रेल्वे महोत्तरीको बिजुलापुरबाट भारतको जयनगरसम्मको ५२ किमी दूरीमा सञ्चालन थियो। विसं २०५९ मा आएको बाढीबाट बिगही पुल बगाएपछि नेपालको पहिलो रेल सेवा जनकपुरदेखि जयनगरको जम्मा २९ किमिमा सीमित थियो।

अहिले चर्चामा रहेको जयनगरबाट जनकपुरसम्मकै खण्डमा भने विसं १९९४ मा मात्रै रेल आइपुगेको हो। त्यति बेला सञ्चालनमा आएको रेल पनि न्यारोगेज कै थियो भने अहिले ब्रोडगेजको रेल सञ्चालनमा आएको छ।

विसं २०५९ सम्म सञ्चालनमा आएको रेलको खण्ड र पुल बाढीले बगाएपछि भने त्यसयता नेपालमा रेल सेवा बन्द थियो। अहिले तय भएको रेल सञ्चालनको ६९ किमीमध्ये तीन किमी भारतीय भूमिमा पर्छ।

रेल्वेलाई व्यवस्थित गर्न विसं २०२१ सालमा नेपाल यातायात संस्थान अन्तर्गत राखियो थियो भने विसं २०२५ सालदेखि भने यसको नाम जनकपुर–जयनगर रेल्वे भएको थियो। विसं २०६१ मा यसलाई नेपाल रेल्वे बनाइएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved