कांग्रेस महाधिवेशन– पौडेलको गृह जिल्लामा देउवा पक्षका प्यानलै विजयी

उनले प्यानलले तनहुँमा जीत हासिल गरेपछि वरिष्ठ नेता पौडेल र उनको खेमा बारेमा टीकाटिप्पणी शूरु

कांग्रेस महाधिवेशन– पौडेलको गृह जिल्लामा देउवा पक्षका प्यानलै विजयी

काठमाडौं। १४ औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिका आंकाक्षि हुन्। तर, उनको गृहजिल्ला तनहुँमा आइतबार भएको जिल्ला अधिवेशनमा उनको प्यानल नै पराजित भएको छ। पौडेल पक्षका जिल्ला सभापतिका उम्मेदवार वैकुण्ठ न्यौपानेलाई जीतप्रकाश आलेले पराजित गरे।

आले केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवार थिए। आलेलाई तनहुँकै अर्का नेता शंकर भण्डारीको बलियो धाप थियो। उनले प्यानलले तनहुँमा जीत हासिल गरेपछि वरिष्ठ नेता पौडेल र उनको खेमा बारेमा टीकाटिप्पणी शूरु भएको छ।

कांग्रेसको राजनीतिमा तनहुँ जिल्लालाई सबैभन्दा बढी ध्रुवीकरण प्रभावित जिल्लाको रुपमा टिप्पणी गरिन्छ। कांग्रेसको राजनीतिमा वरिष्ठ नेता पौडेलदेखि पूर्वमन्त्री गोविन्दराज जोशी, शंकर भण्डारी, प्रदीप पौडेल तनहुँबाटै स्थापित अनुहार हुन्।

यस्तै गोविन्द भट्टराई, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, केन्द्रीय पार्टी कार्यालयमा लामो समयमा मुख्यसचिवको रुपमा काम गरेका रामचन्द्र पोखरेलसहितका नेताहरु पनि परिचित अनुहार हुन्।

मुलुकको केन्द्रीय राजनीतिमा एउटै जिल्लामा यत्तिका उचाइ बनाएका नेताहरु बिरलै स्थापित छन्। त्यही भएर त्यसको प्रभाव जिल्लामा बेलाबखत पर्ने गर्छ। तनहुँमा वरिष्ठ नेता पौडेल र पूर्वमन्त्री जोशीको जिल्ला राजनीतिमा दुस्मनी पुरानै हो। गत निर्वाचनपछि पौडेलकै जोडबलमा जोशीलाई अनुशासन कारबाही गरिएको थियो।

हुन त तनहुँबाटै कांग्रेसको केन्द्रमा स्थापित प्रदीप पौडेल, गोविन्द भट्टराई र शंकर भण्डारी मध्य एक जना पनि वरिष्ठ नेता पौडेलको साथमा छैनन्। प्रदीप पौडेल नेता कृष्णप्रसाद सिटौलासँग, भट्टराई र भण्डारी भने सभापति देउवासँग छन्। देउवा पक्षमै रहेका कारण कृष्णचन्द्र पोखरेल गण्डकी प्रदेशका मुख्यमन्त्री बन्न सफल भए।

तनहुँ जिल्लाको नक्सा

नेता रामचन्द्र पोखरेल लामो समय कांग्रेस केन्द्रीय कार्यालयको मुख्यसचिव थिए। उनले यो पटकको जिल्ला अधिवेशनको क्रममा वरिष्ठ नेता पौडेल र सभापति देउवा गरी दुवै उम्मेदवारलाई मिल्न दबाब दिए। उनी अधिवेशनको क्रममा जिल्लामा देखिएनन्।

केन्द्रमा वरिष्ठ नेता पौडेल वर्तमान सभापति देउवाको विकल्पको कुरा जोडतोडले उठाउने नेतामा पर्छन्। चुनावमा कांग्रेसले हार बेहोर्दा देउवाले राजीनामा दिनुपर्ने विषयसम्म पौडेललेनै चर्चामा ल्याए। तर, पौडेलकै जिल्लामा देउवा पक्ष बलियो देखिएको छ। पौडेल आफ्नै गृह जिल्लामा निरीह देखिए। केही समय अघि सभापति देउवाको गृह जिल्ला डडेलधुरामा भएको जिल्ला अधिवेशनको स्थानीय केही नेताहरु विरोध गरेपछि वरिष्ठ नेता पौडेलको त्यसलाई साथ दिएका थिए। क्रियाशील सदस्यतामा डडेलधुरामा विवाद भएर धर्ना चलिरहँदा नेता पौडेल दलबलसहित डडेलधुरा पुगेर सम्बोधन गरेका थिए।

तनहुँ घर भएका विश्लेषक शिवप्रसाद तिवारी भने वरिष्ठ नेता पौडेलले सबैलाई मिलाएर अघि बढ्न नखोज्दाको परिणाम स्वरूप जिल्लामा हार्नुपरेको टिप्पणी गर्छन्। उनी भन्छन्, “अहिलेको नतिजा त्यत्तिकै आएको छैन, वरिष्ठ नेता पौडेलले यसको समीक्षा गर्नुपर्ने खाँचो देखिएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved