ओलीले घोषणा गरे १९ पदाधिकारी : अध्यक्ष र उपाध्यक्षमा चुनावी प्रतिस्पर्धा हुँदै

९ औँ महाधिवेशनमा पराजित विष्णु पौडेल र शंकर पोखरेललाई एक तह बढुवा गरेका ओलीले भूसाललाई उपमहासचिवको सूचिमा समेत समेटेनन्।

नेपालभ्युज

ओलीले घोषणा गरे १९ पदाधिकारी : अध्यक्ष र उपाध्यक्षमा चुनावी प्रतिस्पर्धा हुँदै

चितवन। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशनको बन्द सत्रबाट १९ पदाधिकारी प्रस्ताव गरेका छन्। भीम रावल, घनश्याम भूसाललगायत इतर पक्षका नेताहरुको विरोधकैबीच अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरेका छन्।

उनले उपाध्यक्षका लागि सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यलाई अघि सारेका छन् भने उपमहासविको सूचीमा प्रदीप ज्ञवाली, विष्णु रिमाल र पृथ्वीसुब्बा गुरुङको नाम रहेको छ । यस्तै उनले सचिवमा रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र पद्मा अर्याललाई प्रस्ताव गरेका छन्।

९ औँ महाधिवेशनमा पराजित विष्णु रिमाल र शंकर पोखरेललाई एक तह बढुवा गरेका ओलीले भूसाललाई उपमहासचिवको सूचिमा समेत समेटेनन्। पोखरेल र पौडेल ओलीनिकट मानिन्छन्, यता भूसाल १० बूँदे सहमतिका पक्षधर हुन्। पदाधिकारी चयनमा ओलीको एकलौटी अधिकार दिइएकोमा आपत्ति जनाएका भीम रावलको पक्षमा भूसालले समर्थन जनाएका थिए।

अध्यक्ष ओलीले पदाधिकारीको नाम प्रस्ताव गरे पनि अध्यक्ष र उपाध्यक्षमा निर्वाचन हुने पक्का भएको छ। प्रस्ताव अस्वीकार गर्दै रावलले अध्यक्षमा उम्मेदवारी दिँदैछन् भने भूसालले पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

बन्दसत्रमा अध्यक्ष ओलीले प्रस्तुत गरेका केन्द्रीय कमिटीको नामवली अनुमोदन भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved