कांग्रेसको १४ औं महाधिवेशन

कोइराला परिवारबाट शेखर कि शशांक ?

सभापतिमा आफूलाई समर्थन प्राप्त भएको र ९ मंसीरमा सहमति सार्वजनिक गर्ने दाबी शेखरले गरिरहेको बेला संखुवासभा पुगेर महामन्त्री सशांकले आफू नै सभापतिमा उठ्ने उद्घोष दोहोर्‍याए।

कोइराला परिवारबाट शेखर कि शशांक ?

काठमाडौं। ३० कात्तिकको साँझ कांग्रेस महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाबीच लामो संवाद भयो। पार्टीको १४ औँ महाधिवेशन नजिकिँदै जाँदा दुईबीच मात्रै संवाद सीमित भएन, बीचमा टेलिफोनमार्फत सुजाता कोइराला पनि संवादमा जोडिइन्।

तीन नेताबीच शेखर कोइरालालाई पार्टीको सभापतिका लागि अघि सार्ने मौखिक सहमति भयो। त्यसको भोली (१ मंसीर)मा पत्रकार सम्मेलन गरेर उक्त सहमति सार्वजनिक गर्ने निर्णय पनि भयो। महाराजगञ्जस्थित कोइराला निवासमा पत्रकार सम्मेलन गर्ने समझदारीसँगै बैठक सकियो। तर १ मंसीरमै महामन्त्री कोइराला अचानक संखुवासभा लागे। सभापतिमा आफूलाई समर्थन प्राप्त भएको र ९ मंसीरमा सहमति सार्वजनिक गर्ने दाबी शेखरले गरिरहेको बेला संखुवासभा पुगेर महामन्त्री शशांकले आफू नै सभापतिमा उठ्ने उद्घोष दोहोर्‍याए।

३० मंसीरमा कोइराला परिवारका शीर्ष तीन नेताबीच भएको छलफल अनुसार आज (बिहीबार) कोइराला परिवारमा सहमतिको घोषणा गर्नेगरी उक्त स्थगित पत्रकार सम्मेलन हुन्छ त?

त्यसयता कोइराला परिवारका सदस्य पुन: सँगै बसेका छैनन्। बरु सर्लाहीमा महामन्त्री कोइरालाले नेता प्रकाशमान सिंहबारे गरेको टिप्पणीमाथि शेखर र शशांक दुवैले नेता सिंहलाई भेटेर छलफल गरेका छन्। कोइराला परिवारबीच सहमतिका लागि ३० मंसिरमा छलफल हुनुभन्दा अघिल्लो दिन सर्लाहीमा महामन्त्री शशांकले शेखरका लागि सभापति छाड्ने सार्वजनिक समारोहमै बोलेका थिए। तर संखुवासभा पुगेर आफू नै महामन्त्रीको दावेदार रहेको भन्दै अचानक उनले फेरि बोली फेरेका थिए।

नेतृ सुजाता कोइरालाकी स्वकीय सचिव लक्ष्मण थपलियाले ३० कात्तिकयता तीन कोइराला नेताबीच छलफल नभएको जानकारी नेपालभ्युजलाई दिए। उनले अधिवेशनका लागि नेताहरू काठमाडौंबाहिर रहेकाले थप छलफल र संवाद हुन नपाएको पनि बताए।

मंसीरको २४ देखि २६ सम्म काठमाडौंमा हुने महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रका आन्तरिक समिकरणमा व्यापक परिर्वतनको संकेत देखिदै गर्दा कोइराला परिवारले एउटा मात्रै उम्मेदवार अगाडि सारेर संस्थापनइतर पक्षलाई एक ठाउँमा ल्याउन खोजेको संकेत दिए पनि सहमतिको टुंगो भने लागेको छैन।

संस्थापनइतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला सभापतिको उम्मेदवारको दावी गर्दै आएका छन्। यद्यपि यी पाँचै नेताहरू वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई हराउनका लागि साझा उमेदवारी दिनुपर्नेमा जोड दिँदै आएका छन्।

२७ कात्तिकमा मात्रै संस्थापनइतर पक्षको केन्द्रिय सदस्यहरूको बैठकमा वरिष्ठ नेता पौडेल र महामन्त्री कोइराला आफूहरूले त्याग गरेर भए पनि साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिएपछि कांग्रेसको संस्थापनइतर समुहमा नयां सम्भावनाहरू देखिन थालेका छन्। वरिष्ठ नेता पौडेलले आफूलाइ एक वर्षका लागि मात्रै सभापति भए पुग्ने र त्यसपछि आफूले अरुलाई हस्तानान्तरण गर्ने प्रस्ताव गरेका छन्। यद्यपि कोइराला परिवारबाट एउटा मात्रै साझा उम्मेदवार आएको खण्डमा इतर पक्षका नेताहरू माथि दबाब सिर्जना हुने उनीहरूको विश्वास छ। कोइराला परिवारसम्वद्ध स्रोतका अनुसार यसमा नेतृ सुजात कोइराला पनि शेखर कोइरालाको पक्षमा देखिएकी छन्। केही दिन अगाडि उनले महामन्त्री संशाकको कडा आलोचना गरेकी थिईन।

यद्यपि कोइराला परिवार औपचारिक रूपमा पत्रकार सम्मेलन गर्न सकेको छैन। १ मंसीरमा गर्ने भनिएको पत्रकार सम्मेलन महामन्त्री शशांकले ९ गते मात्र गर्न आग्रह गरेका थिए। महामन्त्री कोइरालाले शेखर आफूहरूको सभापतिको उमेदवार हुने सन्देश दिएर त्यसका लागि इतर पक्षका अन्य नेताहरू पनि समेटिनु पर्नेमा जोड दिएका थिए। उनले प्रकाशमान सिंहदेखि सिटौलासम्मका नेताहरू समेटिनुपर्ने बताएका हुन्। महाधिवेशनको दिन नजिकिँदै गर्दा महामन्त्रीले यस्तो अभिव्यक्ति दिए पनि कोइराला परिवारले यसअघि नै सभापतिमा आफूहरूमध्ये एकले उम्मेदवारी दिनसक्ने बताउँदै आएका थिए।

कोइराला परिवारका तीन नेताहरूले पछिल्लो तीन वर्षयता निरन्तर सामुहिक छलफल गरेर पार्टीबारे धारणा बनाउँदै आएका छन्। १३ औँ महाधिवेशन अगाडिसम्म कोइराला परिवारकै नेतृत्व रहेको कांग्रेसमा त्यतिबेला यो पक्षबाट सभापति देउवासँग वरिष्ठ नेता रामचन्द्र पौडेल भिडेका थिए। २०४६ पछि लामो समय गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको कांग्रेस उनको अवसानपछि सुशील कोइरालाको नेतृत्वमा गयो। उनको निधनपछि वरिष्ठ नेता रामचन्द्र पौडेल उक्त समुहबाट सभापतिको उम्मेदवारका रूपमा अगाडि आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved