ओलीको टाङमुनि बस्नुभन्दा नयाँ पार्टी खोल्यौं : माधव नेपाल

नेपालभ्युज

ओलीको टाङमुनि बस्नुभन्दा नयाँ पार्टी खोल्यौं : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा ढोका बन्द गरेको आरोप लगाएका छन्। राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले भक्तपुरको मध्यपुरथिमीस्थित बोडेमा आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले एमालेमा बस्न ढोका बन्द गरेपछि नयाँ पार्टी खोलेको बताए।

राजनीतिबाट सन्यास लिने कि ओलीसामु आत्मसमर्पण गर्ने भन्ने अवस्था आएपछि बाध्य भएर नयाँ पार्टी खोलेको उनले बताए।

‘‘हामीलाई एमालेमा बस्न ढोका बन्द गरेपछि संन्यास लिने कि आत्मसमर्पण गरेर केपी ओलीको टाङमुनि छिरेर बस्ने भन्ने भयो। हामीले त्यसलाई अस्वीकार गर्यौं र बाध्य भएर नयाँ पार्टी गठन गर्यौं’’, उनले भने।

एमालेले विद्रोह गरेको पार्टी सकिन्छ भन्ने भ्रम फैलाउँदै हिँडे पनि अहिले आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको दाबी उनले गरे। आफ्नो पार्टीले जनताका पक्षमा काम गर्ने दाबी गर्दै उनले सरकारमा रहेका आफ्ना मन्त्रीले गलत काम गरे कारबाही गरेर फिर्ता बोलाइने बताए।

एमालेको आउँदो १० आँ महाधिवेशनको लोगोप्रति टिप्पणी गर्दै उनले एमालेमा कोही कार्यकर्ता नभएपछि झण्डा गैंडालाई बोकाउने अवस्था आएको बताएका थिए। उनले भने, ‘‘केपी ओलीले कम्युनिस्टको झण्डा गैंडालाई सुम्पिएछन् । हुन त पहिला पनि उनी हनुमानको खोजीमा थिए। अहिले कोही फेला नपरेपछि गैँडालाई जिम्मा लगाएछन्।’’

व्यक्तिवादी प्रवृत्ति हाबी भएर ओलीमा शक्तिको अहंकार पैदा भएको टिप्पणी गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved