पूर्व माओवादी लडाकु जो एमाले महाधिवेशन प्रतिनिधि बनेका छन्

एमाले बनेका पूर्व लडाकु भन्छन्, “बलिदानको कदर गरिएन त्यसैले एमाले भयौं।”

पूर्व माओवादी लडाकु जो एमाले महाधिवेशन प्रतिनिधि बनेका छन्

काठमाडौं। २३ वर्ष अघि रोल्पाको दक्षिण पश्चिम बुढागाउँका पूर्णबहादुर बुढामगरले कक्षा ९ को किताब र झोला थन्क्याए। तत्कालीन नेकपा (माओवादी)ले बाँडेको समाजवादहुँदै साम्यवादसम्म पुग्ने मीठो सपनाको झोला बोके उनले। त्यसपछि बने, कमरेड विमर्श।

त्यसअघि नै माओवादीको उद्गम थलो रोल्पामा सरकारले किलो सेरा टु र रोमियो अपरेसन गरिसकेको थियो।

विमर्श बिस्तारै रोल्पा माओवादीको विद्यार्थी संगठनको जिल्ला कार्यवाहक अध्यक्ष भए। माओवादीले उनलाई विद्यार्थी संगठनबाट सेनामा पठायो। उनी जनमुक्ति सेनाको प्लाटुन कमिसार भए। बढुवा भएर कम्पनी कमिसार भए। त्यसपछि माओवादीले ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ नारा ल्यायो। त्यही नारा बोकी उनी पनि गण्डक अभियानमा सामेल भए। गण्डक क्षेत्रका पाल्पालगायतका सानाठूला सबै लडाइमा भाग लिए। ‘फष्ट असल्ट(अग्रमोर्चा)’मै लडे।

लडाइकै बेला विमर्शको मन प्लाटुन कमाण्डर सरिता बस्नेतसँग बस्यो । जाजरकोट रग्दा ध्यारगाउँकी बस्नेतसित माओवादीले जनवादी बिहे गरिदियो। २०६३ मा माओवादीेले हतियार बिसायो। बटालियन कमाण्डर विमर्श दम्पतीले जनमुक्ति सेनाको चौथो डिभिजन मुख्यालय झ्याल्टुङडाँडामा हतियार थन्क्यायो। विमर्श सेना समायोजन विशेष समितिमा रहेर काम गरे।

जनमुक्ति सेनाको संरचनामा ९ देखि ११ जनाको एउटा सेक्सन थियो। तीन सेक्सनको एक प्लाटुन र तीन प्लाटुनको एक कम्पनी। तीन कम्पनीको एक बटालियन। त्यसैगरी, तीन बटालियनको एक ब्रिगेड र तीन बिग्रेडको एक डिभिजन। माओवादीका सात डिभिजन थिए। जनमुक्ति सेनाको सुप्रिम कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए। चार डेपुटी कमाण्डरमा वर्षमान पुन ‘अनन्त’, नन्दकिशोर पुन ‘पासाङ’, जनार्दन शर्मा ‘प्रभाकर’ र चक्रपाणि खनाल ‘बलदेव’ थिए।

बटालियन कमाण्डर विमर्श र प्लाटुन कमाण्डर सरिता दम्पतीले नै स्वेच्छिक अवकास रोजे।

२०७५ सालमा तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) मिलेर नेकपा(नेकपा) बन्यो। त्यो पार्टी फुटेर पुरानै एमाले, माओवादी केन्द्र बन्यो। एमालेबाट फुटेर एक हिस्सा बन्यो, नेकपा (एकीकृत समाजवादी)।

विमर्श रामबहादुर थापा ‘बादल’सँग एमालेमै रहे।

उनै विमर्श १० गतेबाट चितवनमा शुरु हुने एमाले महाधिवेशनमा रोल्पाबाट प्रतिनिधि छानिएका छन्।

रोल्पाबाट महाधिबेसनमा भाग लिने सात प्रतिनिधिमध्ये विमर्श र जूनमाया बुढामगर (रेखा) माओवादी पृष्ठभूमिका हुन् र दुवै पूर्व जनमुक्ति सेना पनि।

रेखा युद्धकालीन माओवादीको महिला संघ रोल्पाकी अध्यक्ष थिइन्। पार्टीको क्षेत्रीय ब्युरो सदस्य र जनमुक्ति सेना बटालियन कमाण्डर थिइन्। रेखाका पति हरिबहादुर बुढामगर ‘नेपेरु’ पनि जनमुक्ति सेना कमाण्डर थिए। रेखालाई बिहे गर्नुअघि हरिका दुई पत्नी लडाइमै मारिएका थिए। पहिलो सुनसरा बुढामगर थबाङमा मारिएकी थिइन् भने अर्की पत्नी अनिता बुढामगर (उषाकिरण) सुकीदहमा। माओवादीले पहिलोपटक रोल्पाको सुकीदहमा राष्ट्रिय स्तरको तालिम चलाएको थियो। देशैभरका माओवादी सेना जम्मा भएको बेला भएको पुलिस हमलामा अनितासहित एकदर्जनजति माओवादी मारिएका थिए।

“हामीले जनयुद्धमा बलिदान त दियौँ तर बलिदानको मान्यता भएन। संसदीय पार्टी बनेपछि एमाले नै ठीक लागेर यतै बसियो,” जूनमायाले भनिन्, “केन्द्रमा के कसो हुन्छ ? अहिले सोचेकी छैन।”

विमर्श र रेखामात्र होइन, रुकुम पूर्वबाट पनि पूर्व जनमुक्ति सेनाका निर्माण बुढामगर (रवि) एमाले महाधिवेशन प्रतिनिधि छानिएका छन्।

माओवादी संसदीय राजनीतिमा आएपछि माओवादी भन्दा एमाले नै उपयुक्त लागेर आफूहरू एमालेमा बसेको तर्क गर्दै विमर्शले भने,  “नेतृत्वसँग सामान्य छलफल त चलेको छ। सर्बसम्मत भए केन्द्रमा मेरो उम्मेदवारी हुन्छ।”

माओवादी थलो रोल्पा र रुकुममा अन्य ठाउँमा जस्तो आफूहरूलाई अपमान नगरेको उनीहरूको भनाइ थियो। रोल्पा र रुकुममा प्रतिनिधि सर्वसम्मत छानिएका थिए।

“रोल्पा, रुकुमजस्ता माओवादी उद्गम थलोमा प्रतिनिधि छान्न एमाले नेतृत्व संवेदनशील थियो। ती ठाउँमा मिलाएर लान हामीले कुरा पनि राखेका थियौँ,” पूर्व जनमुक्ति सेना छैठौं डिभिजन सहकमाण्डर दुर्गाबहादुर चौधरी ‘सन्तोष’ले भने, “अपेक्षाअनुसार संख्या त भएन तर हाम्रो प्रदेशमा धेरै कमी भएजस्तो लागेको छैन।”

चौधरीसँगै अर्का डिभिजन सहकमाण्डर नेपबहादुर कुँवरमगर ‘विवेक’ भने प्रतिनिधि चुनिएका छैनन्। रामबहादुर थापा बादल गृहमन्त्री हुँदा विवेक उनको सचिवालयमा थिए।

डिभिजन सहकमाण्डरमध्ये हरिबहादुर श्रेष्ठ ‘प्रमोद’ भने बाबुराम भट्टराई नेतृत्व जनता समाजवादी पार्टीमा छन्। अर्का डिभिजन सहकमाण्डर उदयबहादुर चलाउने दीपक विप्लव नेतृत्व नेकपामा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved