नेपालमा कस्तो छ ‘बुस्टर डोज’ लगाउने तयारी ?

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले केही समयअघि गरेको एक अध्ययनमा खोप लगाएको ६० दिनसम्म एन्टीबडी विकास हुँदै गएको र त्यसपछि भने घट्दै जाने देखाएको थियो।

नेपालमा कस्तो छ ‘बुस्टर डोज’ लगाउने तयारी ?

काठमाडौं। विश्वका विभिन्न देशमा कोभिड भ्याक्सिनको बुस्टर डोज दिने तयारी भइरहँदा नेपालमा भने यसबारे कुनै तयारी गरिएको छैन।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) पनि ६५ वर्ष माथिकाले पूर्ण मात्रा खोप लगाएको ६ महीनापछि बुस्टर खोप लगाउन अनुमति दिइसकेको छ। सीडीसीले सबैभन्दा पहिले खोप लगाएका र कोभिडको उच्च जोखिममा रहेकाले बुस्टर डोज लगाउन सकिने उल्लेख गरेको छ।

नेपालमा पहिलो प्रथामिकतामा परेकाहरूले खोप लगाएको पनि झण्डै ११ महीना पुग्न लागिसकेको छ। सीडीसीको निर्णयको आधारमा त कोभिड खोप लगाएका धेरैको बुस्टर डोज लगाउने समायवधि  नाघिसकेको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले केही समयअघि गरेको एक अध्ययनमा खोप लगाएको ६० दिनसम्म एन्टीबडी विकास हुँदै गएको र त्यसपछि भने घट्दै जाने देखाएको थियो।

परिषद्ले  १७ जेठ देखि २५  असार २०७८ सम्म काठमाडौं उपत्यकाबाट रगतको नमूना संकलन गरी खोपले विकास गरेको एन्टीबडी स्तरको अध्ययन गरेको थियो। उक्त अध्ययनको नतिजमा पहिलो र दोस्रो दुवै डोज खोप लगाएका ८२ प्रतिशत र पहिलो डोज लगाएकामा ५५.८ प्रतिशत एन्टीबडी विकसित भएको पाइएको थियो।

तर ६० दिनपछि भने उक्त एन्टीबडी विस्तार घट्दै गएको देखिएको अध्ययनमा उल्लेख गरिएको थियो। अध्ययनअनुसार खोप लगाएको एक सय ५० दिनसम्ममा सामान्य एन्टीबडी देखिए पनि त्यसपछि भने पाइएको छैन।

६० दिनपछि एन्टीबडी बिस्तारै घट्दै गएको परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा.मेघनाथ धिमालले बताए। “तर एक सय ५० दिनसम्म पनि एन्टीबडी केही मात्रामा देखिएको छ”, उनले भने।

अध्ययनअनुसार दुई महीनापछि खोपको प्रभावकारिता घट्दै जान्छ। एन्टीबडी भने पाँच महीनासम्म मात्र कायम रहन्छ।त्यसकारण पाँच महीनापछि बुस्टर डोज आवश्यक पर्ने देखिन्छ।

बुस्टर डोज दिन आवश्यक देखिएकाले परिषद्ले डब्लूएचओलाई बुस्टर डोजको विषयमा पत्राचार समेत गरेको तर प्रतिउत्तर नआएको उनले बताए। भन्छन्, “नेपालमा बुस्टर डोजको आवश्यकता परे पनि बल्ल कुल जनसंख्याको २५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको समयमा बुस्टर डोजको तयारी गर्न हुँदैन, छिट्टै सबैले पूर्ण मात्रामा खोप लगाउन सकेपछि भने बुस्टर जोड लगाउने प्रक्रिया बढाउनुपर्ने हुन्छ।”

स्वाथ्य मन्त्रालयका प्रवक्ता डा. कुष्णप्रसाद पौडेलले भने अझै थप जनसंख्यालाई खोपको दायरामा पुर्‍याइसकेपछि बुस्टर डोजबारे सोच बनाइने बताए। उनका अनुसार नेपालमा संक्रमण अवस्था कस्तो रहन्छ भन्ने कुराले पनि बुस्टर डोजबारे निर्धारण गर्छ।

उनले भने, “बुस्टर डोजबारे विश्वव्यापी रूपमै छलफलकै क्रममा छ यसको फाइदा त अवश्य पनि छ तर कसरी दिने कसलाई दिने भन्नेबारे अनुसन्धान भइरहेको छ। त्यसैगरी कुन खोपको प्रभावकारिता के कति छ भनेर धेरै अनुसन्धान नभइसकेकाले बुस्टरका लागि कसरी बढ्ने भन्ने कुरा अन्योलमै छ।”

“अहिले पहिलो प्राथमिकता भने सकेसम्म छिट्टो सरकारले सबैलाई पूर्णमात्र खोप लगाउने भन्ने विषयमा नै केन्द्रित भएर काम गरिहेको छ, उनले भने,” नेपालमा हालसम्म एक करोड ६७ लाख नौ हजार ६ सय ६२ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् जसमध्ये पहिलो मात्रा २९ दशमलव ६ प्रतिशत र पूर्ण मात्रा २५ दशमलव ४ प्रतिशतले लगाएको मन्त्रालयले जनाएको छ।

सरकारले असोजसम्ममा लक्षित जनसंख्याको एक तिहाइलाई खोप लगाउने योजना बनाएको थियो। जुन पूरा भएको खोप महाशाखा प्रमुख सागर दाहालले बताए।

सरकारले पुससम्ममा लक्षित जनसंख्याको दुई तिहाइलाई खोप लगाउने योजना रहेका बनाएको छ। चैत मसान्तसम्म सबैलाई पूर्ण मात्रा खोप दिने भनिएको छ।

सरकारले देशभरका करिब चार हजार खोप केन्द्रबाट कोभिडविरुद्ध खोप लगाइरहेको छ। त्यस्तै नेपालमा हालसम्म खरिद र अनुदानमार्फत दुई करोड ३६ लाख खोप ल्याइसकिएको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए।

कुन कुन देशमा दिइँदै छ बुस्टर डोज ?

विश्व स्वास्थ्य संगठनले भने हरेक देशका १० प्रतिशतभन्दा बढी जनसंख्याले कोरोनाविरुद्ध खोप लगाइसकेपछि मात्र बुस्टर डोज दिने योजना बनाएको छ।

त्यसकारण डब्लूएचओले सबै देशलाई सेप्टेम्बर अन्तिमसम्म बुस्टर डोज नलगाउन अनुरोध गरिरहँदा पनि धेरै देशले बुस्टर डोज लगाइरहेका छन्।

प्रभावकारी रूपमा बुस्टर डोज दिने देश इजरायल हो। उसले कोभिड खोपको दोस्रो मात्रा लगाएको पाँच महीना पुगेका ४० वर्षमाथिका सबैलाई बुस्टर डोज दिएको हो। त्यस्तै संयुक्त राज्य अमेरिकाले  पनि मोर्डना वा फाइजरको दोस्रो खोप लगाएको आठ महीना पुगेका जुनसुकै उमेर र स्वास्थ्यस्थितिका मानिसलाई बुस्टर डोज लगाउन आह्वान गरेको छ।

दुबईमा पनि उच्च जोखिममा रहेका समूहहरूलाई खोपको दोस्रो मात्रा लगाएको तीन महीना र अरूले भने ६ महीनापछि बुस्टर डोज लगाउन पाउँछन्।

फ्रान्स र जर्मनीले आगामी सेप्टेम्बरबाट बुस्टर डोज दिने तयारी अघि बढाएका छन् भने बेलायतले यसबारे अहिलेसम्म कुनै निर्णय लिएका छैनन्।

थाइल्यान्ड र इन्डोनेशियाले यसअघि सिनोभ्याक्सको पूर्ण मात्रा लगाइसकेका स्वास्थ्यकर्मीलाई तेस्रो मात्रामा फरक कम्पनीको खोप लगाउन भनिएको छ। विश्वका ३६ भन्दा बढी देशहरूले बुस्टर डोज लगाउन शुरुसमेत गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved