कांग्रेस महाधिवेशन

सभापतिका दाबेदारलाई ‘प्यानल’ बनाउनै सकस

सभापतिलगायत पदाधिकारीका उम्मेदवार आकांक्षीले मिडिया खपतका लागि मात्रै घोषणा गरेका छन्। गुटहरूभित्रको आपसी खिचातानीले पदाधिकारीसहितको प्यानल घोषणा हुन सकेको छैन।

सभापतिका दाबेदारलाई ‘प्यानल’ बनाउनै सकस

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुरु हुन अब २२ दिन मात्रै बाँकी छ। तर, भावी सभापतिका आकांक्षीहरुले अझै आफ्नो ‘प्यानल’ बनाउन सकेका छैनन्। सभापतिलगायत पदाधिकारीमा उम्मेदवार हुने आकांक्षीले मिडिया खपतका लागि मात्रै घोषणा गरेका छन्। गुटहरूभित्र आपसी खिचातानी चलिरहेको छ। जसले गर्दा पदाधिकारीसहितको प्यानल घोषणा हुन सकेको छैन।

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा पुन सभापतिका बलिया दाबेदार हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशाङ्क कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला, शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा दाबेदारी प्रस्तुत गरेका छन्। तर, यी बेग्लाबेग्लै समूह बनाएर प्रतिस्पर्धा गर्छन् कि अन्तिम अवस्थामा मिल्छन्, टुङ्गो छैन।

विश्लेषक चन्द्रदेव भट्टका अनुसार, नीतिभन्दा नेता प्रधान हुने प्रवृत्ति हावी भएपछि हुने यस्तै हो।

यी नेता उम्मेदवार हुँदा सभापतिका मात्रै प्रत्याशी हुन कि पदाधिकारीको प्यानलसहित आउँछन्? त्यो पनि निक्र्यौल भइसेकेको छैन। वरिष्ठ नेता पौडेलसहित इतरपक्षले साझा उम्मेदवार तय गर्ने प्रयत्न गरिरहे पनि प्यानल बन्न सकेको छैन। उपसभापति निधि र प्रकाशमान सिंहको अवस्था त्यहीँ हो। पूर्वमहामन्त्री सिटौलाको पुरानो समूहमा पनि विवाद भएकाले त्यसले निरन्तरता पाइरहेको छैन।
विश्लेषक चन्द्रदेव भट्टका अनुसार, नीतिभन्दा नेता प्रधान हुने प्रवृत्ति हावी भएपछि हुने यस्तै हो।

“नीति प्रधान भएको भए पो नेताहरु आफ्नो प्रस्ट अडानसहित हार जितको हिसाब गरी अगाडी आउन सक्थे” उनी भन्छन्, “तर अहिले नीति, विचार र अडानभन्दा जसरी भए पनि आफू पार्टी नेतृत्वमा आउनुपर्छ भन्ने अभ्यास हावी छ। यसले पार्टीभन्दा व्यक्तिलाई बलियो बनाउँछ।”

कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

देउवालाई पदाधिकारीमा अप्ठ्यारो

दोस्रो पटक पार्टीको नेतृत्वमा जान चाहेका देउवालाई पदाधिकारी टिम बनाउन हम्मे परेको छ। उपसभापति निधि आफ्नो समूहबाट बाहिरिएपछि देउवालाई सभापतिमा चुनौती दिने अर्को नेता छैन। गोपालमान श्रेष्ठले सभापतिको दाबी गरे पनि उनी देउवालाई चुनौती दिन सक्ने नेता होइनन्। त्यसैले उनले सोमबार आफ्नो समूह बैठकमा टिम बनाउने विषयलाई प्रधानता दिए। स्रोतका अनुसार, देउवाले उपसभापतिमा श्रेष्ठ र महामन्त्रीमा पूर्णबहादुर खड्कालाई ल्याउन चाहेका छन्।

देउवा गुटमा महामन्त्रीका दाबेदार धेरै भए पनि सबैको चित्त बुझाउन गाह्रो परेको छ। देउवा समूहबाट महामन्त्रीमा प्रकाशशरण महत, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखकदेखि एनपी साउदसम्मले दाबी गरिरहेका छन्। ‘दुई महामन्त्री पदका लागि झन्डै आधा दर्जन आकांक्षी भएपछि देउवाले कसरी मिलाउलान्’ समूह भित्रै र बाहिर पनि चासो छ।

देउवा समूहबाट महामन्त्रीमा प्रकाशशरण महत, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखकदेखि एनपी साउदसम्मले दाबी गरिरहेका छन्। 

स्रोतको दाबी छ, ‘सिटौला समूहदेखि प्रकाशमान सिंह समूहलाई पनि देउवा समूहमा ल्याउने रणनीतिक छलफलहरू शुरु’ भएको छ। यस्तो अवस्थामा ती समूहलाई समेत पदाधिकारी बाँडफाँड गर्नुपर्ने अवस्था आउँछ। अर्थात् गुटलाई व्यवस्थापन गर्दै पदाधिकारीसहितको प्यानल बनाउन देउवाका चुनौतीको विषय बनेको छ।

संस्थापन इतरको उही हविगत

संस्थापन इतरको पक्षले त झन् सभापतिको साझा उम्मेदवार बनाउन नै सकेको छैन। यो पक्षमा सभापतिकै दाबेदार चार जना देखिएपछि ती मध्ये एक जनालाई कसरी साझा बनाउने भन्ने कसरत चलेको छ।

वरिष्ठ नेता पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेता शेखर कोइराला र प्रकाशमान सिंह यो पक्षमा सभापतिका दाबेदार हुन। देउवालाई हराउन सिटौलालाई पनि तान्नुपर्ने बहस यो गुटका आन्तरिक बैठकमा हुन थालेको छ।

गत शनिवार यो पक्षले गरेको अनौपचारिक बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला स्वयम्ले आफूहरूले समेत त्याग गरेर भए पनि देउवालाई पराजित गर्नुपर्नेमा जोड दिएका थिए।

देउवालाई हराउन सिटौलालाई पनि तान्नुपर्ने बहस संस्थापन इतरको गुटका आन्तरिक बैठकमा हुन थालेको छ।

मंगलबार शशाङ्कले शेखर कोइरालासँग भेटेर साझा उम्मेदवारबारे छलफल गरेका थिए। विश्लेषक प्रताप पौडेल भन्छन्, “महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली नआएसम्म कुनै शीर्ष नेताले प्यानल बनाउन सक्दै सक्दैनन्।” उनी थप्छन्, “सबैले आफ्नो शक्ति महाधिवेशन प्रतिनिधिबाट तौल गर्छन्। त्यसपछि मात्रै सार्थक समीकरणको प्रयास हुन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved