मदिराजन्य पदार्थ विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारबाही गरिने

नेपालभ्युज

मदिराजन्य पदार्थ विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारबाही गरिने

काठमाडौं। विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमहरूलाई कारबाही गरिने बताएका छन्।

गत २९ कात्तिकमा नेपालका केही राष्ट्रियस्तरका दैनिक पत्रिकालगायत सञ्चारमाध्यमले ले पहिलो पृष्ठमै मदिराको फोटो राखेर विज्ञापन गरेका थिए।

सूचना प्रकाशित गरिसकेपछि पनि ती सञ्चारमाध्यमहरूमा मदिराजन्य पदार्थहरूको विज्ञापन प्रकाशन भइरहेको भन्दै विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई कानूनबमोजिम कारबाही गरिने हुमागाईंले बताएका हुन्।

न्यूजएजेन्सी नेपालसँगको कुराकानीमा उनले त्यसरी विज्ञापन दिने बोर्ड, विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापनदाताहरूलाई पत्राचार गर्ने तयारी गरिएको पनि बताए। अध्यक्ष हुमागाईंले ऐनले मदिरा तथा सूर्तीजन्य पदार्थको विज्ञापनमा मात्रै रोक लगाएको बताएको तर बिक्री वितरण र उत्पादनमा रोक नलगाएको स्पष्ट पारे।

यता राष्ट्रिय टेलिभिजन प्रसारक संघले पनि सार्वजनिक सञ्चारमाध्यम र पत्रपत्रिकामा मदिराजन्य वस्तुको विज्ञापन प्रकाशन गरेकोमा विरोध गरेको छ। राष्ट्रिय टेलिभिजन प्रशारक संघका अध्यक्ष शंकर अधिकारीले सार्वजनिक सञ्चारमाध्यम र पत्रपत्रिकामा वर्जित विज्ञापन प्रकाशन रोक्ने काममा विज्ञापन बोर्ड विमुख हुन नमिल्ने बताए।

निजी क्षेत्रले सरकारले निकालेको सूचनालाई थ्रेट दिएर, अटेर गरेर मदिराको विज्ञापन निकाल्दा प्रशासन, राज्य र विज्ञापन बोर्डले केही गर्न नसकेको पनि उनको आरोप छ। अध्यक्ष अधिकारीले कानूनले वर्जित गरेका काम गर्नेहरूलाई कानून बमोजिम कारबाही गर्न माग गरे।

अध्यक्ष अधिकारीले विज्ञापन बोर्डले निकालेको विज्ञप्तिअनुसार निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको बताए। उनले कानूनमा भएको कुरालाई हुबहु लागू गराउनु पर्ने दायित्व र जिम्मेवारीमा बसेकाहरूले बढी चासो दिनुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved