हिमाल पारिको ‘नयाँ मुलुक’ जहाँ काठमाडौंको नजर नै पुग्दैन

गौरीशंकर हिमालपारी रहेको लप्ची गाउँ सन् १९६१ पछि मात्रै नेपाली सरहदमा परेको हो। यो ‘नयाँ मुलुक’ काठमाडौंको सत्ताको नजरमा भने कहिल्यै पर्दैन।

हिमाल पारिको ‘नयाँ मुलुक’ जहाँ काठमाडौंको नजर नै पुग्दैन
लिला न्याइच्याइ

दशैंमा पाइने लामो बिदा अचेल घुमघाममा बिताउने चलन बढेको छ। देशभित्रकै विभिन्न ठाउँको भ्रमणले पनि नयाँ अनुभव दिन्छ। देशका विभिन्न ठाउँ र अवस्थाबारे जान्न सकिन्छ। यसै पनि नेपाललाई सानो देश भन्ने चिन्तन हामी नेपालीमै छ। यो सानो मानिने देशको सिमाना छुने रहर पूरा गर्ने अवसरलाई आत्मसात गर्दै हिँडे दोलखातिर। गन्तव्य थियो दोलखा बिगु नगरपालिकामा पर्ने लप्ची गाउँ। त्यहीँ गाउँ जुन नेपाल र चीनको तिब्बत बीचको उत्तर पूर्वी सीमान्तका गाउँमध्ये एक हो। यसलाई तीनतिर बाटै चिनियाँ भूभागले घेरेको छ।

दोलखा प्राचीन समयमा भक्तपुर राज्यको सिमाना थियो, जहाँको भिमसेन मन्दिर चिरपरिचित आराध्य मन्दिर पनि मानिन्छ। त्यतिबेला सिमानामा कर उठाइनुलाई जगत उठाउने भनिने हुँदा त्यहाँ जगत भन्ने स्थान अहिले पनि छ। तत्कालीन समयमा देशको सिमानासम्म देशवासीले भ्रमण गरोस् भन्ने उद्धेश्यले त्यस्तो चलन चलाएको हुनुपर्छ। राज्यका विविध प्रयोजनका लागि धर्मको सहारा लिने तरिका पुरानै हो। मन्दिरमा जानु पहिलेको समाजमा पुण्यको काम मानिन्थ्यो, जीवनको एक अनिवार्य कर्म जस्तै लिइन्थ्यो। यस्ता चलनले गर्दा विविध स्थानको जस्तै सिमानाको भूगोलमा बस्ने समाजसँग चिरपरिचित हुने एउटा अवसर पनि प्रदान गथ्र्यो।

वर्तमान नेपालको एक सिमाना पनि यहि दोलखा जिल्लामा नै पर्दछ। यसको पनि अन्तिम गाउँ लप्ची हो। चौरी पालन यहाँको मुख्य परम्परागत पेशा हो। चौरी पालनका लागि त्यहाँका बासिन्दा लप्ची र त्यसभन्दा तलको लुमनान गाउँसम्म चौरी राखिने खर्कहरूमा बसोबास गर्ने गर्दछन्।

एघार सय वर्ष पुरानो गाउँ

एघार सय वर्ष अघिदेखि तिब्बती समुदाय बसोबास गर्दै आएको सुन्दर गाउँ हो, लप्ची। नेपालमा त्यो समूदाय शेर्पा भनेर परिचित छन्। बौद्ध धर्मको तिब्बती हाँगो महायानका प्रसिद्ध गुरु मिलारेपाको कथासँगै यहाँ बस्ती बस्न थालेको मानिन्छ।

कथा अनुसार मिलारेपा तिब्बतका गुरु हुन्। आफ्नो बुबाको मृत्युपछि आमालाई बचन दिएकै कारणले बदला लिन उनले आफ्नो परिवारकै नास गरे। त्यसपश्चात मानसिक शान्ति पाउन उनी लप्ची उपत्यकाका गुफाहरूमा वर्षौंसम्म ध्यानमा बसे। उनी ध्यानमा बसेका गुफाहरू अहिले पनि सुरक्षित छन्। त्यही ध्यान बसेको स्थानलाई नै पवित्र क्षेत्र मानी यहाँको बस्ती बसेको मानिन्छ।

अहिले पनि लप्चीको जनजीवनमा गुरु मिलारेपामा समर्पित गुम्बा र ध्यान तथा सिकाइ केन्द्रहरू अत्यन्त महत्त्वपूर्ण छन्। विश्वको बौद्ध धर्मकै तीन अति महत्वपूर्ण तिर्थस्थानहरू मानसरोवर, सारी र लप्ची गुम्बालाई मानिन्छ।

लप्ची पुग्दा नेपालका विभिन्न स्थान र अन्य देशबाट पनि थुप्रै बौद्ध धर्मावलम्बीहरू ध्यान र ज्ञानका लागि धेरै वर्षदेखि त्यहाँ रहेको पायौं।

तिब्बतबाटै विस्तार भएको गुम्बा भए तापनि र अति पवित्र ठाउँ भनेर महायानी बौद्धमार्गीमा प्रचलित भए पनि अहिलेको अवस्थामा तिब्बतकै गुम्बाहरूसँग भने यसको सम्पर्क नभएको त्यहाँका एक लामाले बताए। उनका अनुसार अहिले लप्ची गुम्बाको सम्बन्ध देहरादुनको धर्मशाला र काठमाडौंको बौद्ध गुम्बासँग निकट छ।

उत्तरमा नेपालको नयाँ मुलुक

नयाँ मुलुक भन्नासाथ पश्चिम तराईका चार जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई बुझ्ने गरिन्छ। सन् १८५७ मा भारतमा भएको सैनिक विद्रोह दबाउन तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले सहयोग गरेबापत अंग्रेजले ती भूमि फिर्ता गरेका कारण त्यो भूभागलाई नयाँ मुलुक भन्न थालिएको थियो। तर नेपाली सरहदभित्र नयाँ भूभाग समेटिएको त्यो अन्तिम घटना थिएन। बरु त्यसको एक सय वर्षपछि नेपाली सिमानाभित्र लप्ची गाउँ परेको थियो।

नेपाल र चीनबीच भएको सीमा सन्धिमार्फत यो गाउँ नेपाली सिमानाभित्र समेटिएको थियो।

२०१८ साल असोज १८ गते (सन् १९६१ अक्टोबर ५)मा नेपालका राजा महेन्द्र र चिनियाँ राष्ट्रपति ल्यू शाओ चीले हस्ताक्षर गरेको सिमानाको सन्धिपत्रको दशौँ धारामा त्यसबारे यसरी उल्लेख गरिएको छ–

‘चोमो पामरी ६०२८.८ मिटर उचाइबाट सीमारेखा साधारणतः उत्तरतर्फ पहाडी शृंखलाबाट गुज्री ५९१४.८ मिटर उचाइसम्म जान्छ, त्यसपछि साधारणतः उत्तर पूर्वतर्फ सुदेमो हिमाल…त्यसपछि यो ग्यान बयान पहाडी शृंखला हुँदै तलतिर झरी पिनभू साङ्पो (लाप्चे नदीको पश्चिमी सहायक नदी) पार गर्छ… त्यसपछि सेवोवरी कोर्लाङ पारीको टिप्पामा ५३७०.५ मीटर उचाइसम्म पहाडी शृंखला हुँदै जान्छ…।’.

यही ग्यान बयान हिमाल, लप्ची कान नदी र पिनभू साङ्पो नदीको बीचमै लप्ची (लाप्चे) गाउँको जिन्दगी चलिरहेको छ।

नेपाल–चीन सिमाना सन्धिमा सम्मिलित नक्सामध्ये लप्ची गाउँ रहेको नक्सा। गोलो घेराभित्र लप्ची गाउँ रहेको भूभाग। (माथि)
नक्सामा लप्ची गाउँ (तल)

त्यसअघि लप्ची गाउँ तिब्बत अन्तर्गत नै थियो। तर उनीहरूले जाडो मौसममा चौरी झार्ने ठाउँ लुमनान भने नेपालको सिमानाभित्र पथ्र्यो। स्थानीय गाउँलेको भनाइ अनुसार लुमनान नेपालभित्र पर्ने भएकाले उनीहरूले नेपालमै बस्ने निधो गरेका थिए। आफ्नो जीविका उपार्जनलाई देश छान्ने मियोको रूपमा उनीहरूले लिए।

उनीहरूले लप्चीस्थित हालको गुम्बालाई पनि सन् १९६० को दशकमा १० वर्षसम्म लप्चीबाट लुमनानमा सारिएको समेत बताए। नेपालमै गुम्बा रहनुमा सुरक्षित हुने ठानेर त्यसो गरेको उनीहरूले बताए।

त्यसैले नेपालको नयाँ मुलुक केवल पश्चिम तराईका चार जिल्ला होइनन्। बरु हिमाली सिमानामा रहेको लप्ची पनि नेपालको नयाँ मुलुक नै हो।

गुम्बाले जोडेको गाउँ

लप्चीमा एउटा गुम्बा छ। जहाँ बाहिरबाट जाने यात्रीले बास पाउँछन्। त्यो गुम्बा यहाँको सामाजिक संस्था र धार्मिक आस्थाको केन्द्र हो। लप्चीका गाउँलेले गुम्बालाई आफ्नो जीवन जत्तिकै महत्त्व दिएको पाइन्छ। बेलाबखत त्यहाँ तिब्बती अधिकारीहरू त्यहाँको अवलोकन गर्न आउने लप्ची गुम्बाका अधिकारीहरूले बताए। भुकम्प तथा कोभिड महामारीमा तिब्बतका अधिकारीहरूबाट राहत सामग्री आएको र नेपाल सरकारबाट पनि त्यस्तै अपेक्षा राख्छन् त्यहाँका बासिन्दा।

गाउँमा स्कुल, स्वास्थ्य चौकी, हुलाक, फोन, प्रहरी चौकी, पसल, होटल केही पनि छैन।

लप्ची गुम्बा विकास समितिका अध्यक्ष कर्मा शेर्पाका अनुसार त्यहाँको नयाँ पुस्ता पढ्नको लागि भारत वा काठमाडौ जाने गर्छन्। उनका अनुसार काठमाडौंको एक निजी विद्यालयमा लप्चीका बालबालिकालाई पढाउने व्यवस्था गरिएको छ। धेरै युवा भारतमा पढेपछि नेपाल फर्कन असहज मान्ने गरेकाले नयाँ पुस्तालाई नेपालमै पढाएको उनले बताए।

लप्चीका बासिन्दाको मुख्य भाषा तिब्बती भाषाको स्थानीय भाषिका हो। बुढापाका र महिलालाई नेपाली भाषा बोल्न आउँदैन। जवान पुरुषहरूलाई मात्र नेपाली राम्रोसँग बोल्न आउँछ।

त्यहाँका बासिन्दाको आयको मुख्य स्रोत चौरीपालन हो। सम्पन्न परिवारको ४० देखि ५० वटा चौरी र कम सम्पन्न परिवारको १५ देखि २० वटा चौरी हुन्छन्। स्थानीय युवाहरू तिब्बतमा लगेर चौरी बेच्ने र त्यहाँबाट दैनिक उपभोगका सामग्री गाउँमा ल्याएर बेच्ने गर्छन्। चौरीको स्याहार गर्दागर्दै त्यहाँका आम मान्छेको जीवन पूरा हुन्छ। गुम्बा नजिकका साना छाप्रोहरूमा भेटिएका वृद्ध महिलाका औंलाहरू बांगाटिंगा थिए। जवानीमा हिमालको काखमा चिसोमा चौरी स्याहार्दा औला बाँगिएको सुनाए उनीहरूले।

एउटी आमाले तिब्बती चिया ‘सुचिया’ खुवाइन्। उच्च भूभाग र चिसो ठाउँमा बस्दा शरीरमा पानीको मात्रा पूर्ति गर्न त्यसरी चिया खाइराख्ने चलन चलेको हुनुपर्छ। काठले बनाइएका र जस्ताले छाएका घर सफा र व्यवस्थित थियो। भान्सामा सामानहरू मिलाएर राखिएका थिए। तिब्बतबाट किनेर ल्याइएको धुँवारहित चुल्हो थियो। ती आमाले हामीलाई आफ्नै खर्कमा उब्जाएको आलु पनि खुवाइन्। उनको खर्क भने सीमापारी तिब्बतमा पर्दोरहेछ। त्यो आलु पनि उतै उब्जाइएको रहेछ।

नेपालमा पालेको चौरी तिब्बतमा बेच्ने, तिब्बततिर रहेको परम्परागत खर्कमा फलाएको आलु खानेजस्ता अभ्यासले त्यहाँको जनजीवनको छिमेकी देशसँगको सामीप्यता जनाउँथ्यो।

सामाजिक सम्बन्ध विस्तारका समस्या

लप्चीको समाजको तिब्बतसँग निर्भरताको इतिहास पुरानै हो। ३० घरधुरीको गाउँमा सबै कुटुम्ब पर्छन्। उनीहरूबीच बिहेबारी हुँदैन। त्यसैले उनीहरूको बिहेबारी तिब्बतको नायलम, कुती, फलाक आदि ठाउँका बासिन्दासँग हुनेगथ्र्यो। २०७२ पछि भने बिहेबारीको सम्बन्धमा केही बाधा सिर्जना भएका छन्। २०७२ को भुकम्पपछि तिब्बती प्रशासनले अन्तरदेशीय विवाहमा रोक लगायो। जसकारण गाउँमा बिहे गर्ने उमेरका १३ जनाले वर नपाएको गुम्बाका एक लामाले बताए।

कोभिड महामारीपछि त दैनिक जीवनमै असर पर्न गएको छ। २०७६ सालमा कोभिड महामारी भएदेखि चीनले कुनै पनि कामका लागि सिमाना खुला गरेको छैन। जसले गर्दा दैनिक उपभोग्य सामग्री पनि आपूर्ति गर्न गाह्रो भएको छ।

यस परिस्थितिमा उक्त शेर्पा समाजको सामाजिक सम्बन्ध नेपालका अन्य जातजातिसँग बढाउन पर्ने आवश्यकता देखिन्छ तर यस किसिमको विकल्प प्रयोग गर्दा गाउँ भित्रै बाँच्न कठिन हुने जिकिर स्थानियको छ। त्यहाँ परम्परागत चौरी पालन र त्यससँगै जोडिने जीवनशैलीमा अभ्यस्त हुन अरूलाई गाह्रो पर्ने उनीहरूको ठम्याई छ।

यसै पनि सिमान्तमा रहनु सहज हुँदैन। केन्द्रबाट सधैँ टाढा र ओझेलमा पर्नु त्यहाँका बासिन्दाको नियती बनिदिन्छ।

गौरीशंकर हिमालपारिको नेपाली गाउँमा बग्ने लप्ची खोला र माबुसाङ खोलाको सङ्लो पानी, सुन्दर गुफाहरू, शान्तिका अनुयायी बौद्ध लामाहरू, व्यवस्थित शेर्पा घर,  बख्खु र शेर्पीनी दिदीका लुगा, सुनपाटीको सुगन्ध आदि आदि हरेक थोक प्रशंसनीय छन्। तर त्यहाँसम्म काठमाडौंको नजर पुगेको छैन।

One thought on “हिमाल पारिको ‘नयाँ मुलुक’ जहाँ काठमाडौंको नजर नै पुग्दैन

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

न्यूज अपडेट

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved