नेतृत्व चयनमा मात्रै केन्द्रित बन्दै कांग्रेस महाधिवेशन

वैधानिकतामाथि आशंका

महाधिवेशनमा नीति, सिद्धान्त तथा विचारको विषयमा छलफल गर्दा बन्दसत्र घाँडो बन्ने त होइन भन्ने आशंका नेतृत्वलाई परेको जानकारहरूको दाबी छ। जसकारण यी विषयमा छलफलै नगरी सिधै नेतृत्व चयनमा प्रवेश गर्ने कार्यसूची बनाएको हुनसक्ने चर्चा छ।

नेतृत्व चयनमा मात्रै केन्द्रित बन्दै कांग्रेस महाधिवेशन

काठमाडौं। आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले १४ औँ महाधिवेशनमा नेतृत्व चयनबाहेक अन्य कार्यतालिका नराख्ने निर्णय गरेको छ। विधानसँग सम्बन्धित सबै काम केन्द्रीय समितिबाटै वा छुट्टै विधान महाधिवेशन गरेर निर्णय गर्ने कांग्रेसले जनाएको छ।
कांग्रेसमा महाधिवेशन पार्टीको सबैभन्दा सर्वोच्च निकाय हो। जहाँबाट नेतृत्व चयनदेखि पार्टीको विद्धानसम्म परिवर्तन गर्न सक्ने प्रावधान छ। हरेक ४ वर्षमा गर्नुपर्ने महाधिवेशन ६ बर्ष पुग्नै लाग्दा पनि पार्टी नेतृत्वलाई गराउन हम्मे परेको छ।

यसअघि १३ औँ महाधिवेशनसम्म कांग्रेसले उद्घाटन सत्र, बन्द सत्र र नेतृत्व चयन गर्ने गरी तीन ओटा प्रक्रियाहरू अपनाउँदै आएको थियो। बन्द सत्रमा पार्टीको विधानदेखि अन्य दस्ताबेजहरू प्रस्तुत गरेर छलफलमार्फत त्यसलाई पारित गर्ने चलन थियो। जुन प्रक्रिया आउँदो महाधिवेशनमा नगर्ने आइतबारको निर्णयमा भयो। कांग्रेस यसैमा पनि क्रियाशील सदस्यतादेखि अन्य कुरामा शीर्ष तहमा विभिन्न गुट उपगुटले विभाजित छ।

जसकारण महाधिवेशनमा नीति, सिद्धान्त तथा विचारको विषयमा छलफल गर्दा बन्दसत्र घाँडो बन्ने त होइन भन्ने आशंका नेतृत्वलाई परेको जानकारहरूको दाबी छ। जसकारण यी विषयमा छलफलै नगरी सिधै नेतृत्व चयनमा प्रवेश गर्ने कार्यसूची बनाएको हुनसक्ने चर्चा छ।

तीन वर्षअघि कांग्रेसले महासमिति भेला गरेको थियो। सो भेलाको बन्द सत्रबाट पार्टीको विधानदेखि अन्य दस्ताबेजहरू पारित गर्न नेतृत्वलाई हम्मे परेको थियो। चार दिनको लागि तय गरिएको भेला एक हप्ताभन्दा लामो समय चल्यो। सभापति शेरबहादुर देउवा त्यही त्रासका कारण होला महाधिवेशनलाई विधानदेखि पार्टीको अन्य दस्ताबेजमा महाधिवेशनमा छलफलमा छिराउन चाहेका छैन।

महाधिवेशनमा नीति, सिद्धान्त तथा विचारको विषयमा छलफल गर्दा बन्दसत्र घाँडो बन्ने त होइन भन्ने आशंका नेतृत्वलाई परेको जानकारहरूको दाबी छ।

कांग्रेस नेतृत्वले भने पार्टीको विधानदेखि अन्य नीति तथा कार्यक्रम सम्बन्धी दस्ताबेजहरू प्रभावकारी ढङ्गले छलफल गर्न छुट्टै महाधिवेशन आवश्यक पर्ने भन्दै आफ्नो निर्णयको बचाउ गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्मा पार्टीको विधानदेखि अन्य नीति तथा कार्यक्रम सम्बन्धी दस्ताबेजहरू प्रस्तुत भए पनि समय अभाव हुने भएकाले कर्मकाण्डी मात्र हुने बताउँछन्। प्रवक्ता शर्माले भने, “महाधिवेशन भनेको मूल रुपमा नेतृत्व चयनकै बहसमा रुमल्लिएको देखिन्छ। विधान, नीति कार्यक्रमबारे छलफल भए पनि त्यसले कम प्राथमिकता पाउँदै आएको छ। यस कारण अहिले नेतृत्व चयन गर्ने मात्रै कार्यतालिका बनाउने निर्णय लिएका हौँ।’’

प्रवक्ता शर्माले प्रभावकारी र प्राविधिक दुवै रुपमा महाधिवेशन गर्न सजिलो होस् भनेर नेतृत्व चयनमा मात्रै केन्द्रित गर्ने निर्णय लिएको पनि सुनाए। उम्मेदवारहरूको अन्तिम टुङ्गो उद्घाटन अघि लगाउने निर्णय गरेको पनि उनले दाबी गरे। ‘‘तीन दिनको महाधिवेशन हुन्छ” शर्माले भने, “निर्वाचन समितिलाई पनि सजिलो हुनेगरी हामीले निर्णय गरेका छौँ।” उनले उम्मेदवारहरूको पहिला नै टुंगो लागीसक्दा निर्वाचन समितिलाई मतदान केन्द्रदेखि मतदान पत्रसम्म बनाउन सजिलो हुने भएकाले मनोनयन पहिला गराउन लागिएको बताए।

वैधानिकतामाथि आशंका

सोमबार काठमाडौंमा पार्टीको एक कार्यक्रम बोल्दै कांग्रेस नेता गगन थापाले पार्टीको १४ औँ महाधिवेशन तोकिएकै समयमा हुनेमा आफू ढुक्क भएको बताए।  निर्वाचन आयोगको पटक पटकको तोकेतापछि मात्रै पार्टी नेतृत्वले महाधिवेशन मंसीरभित्रै जसरी पनि गर्न लागेको समेत उनले उल्लेख गरे।

निर्वाचन आयोगले पुस पहिलो साता नयाँ नेतृत्वको विवरण बुझाउन तोकेता गरेको छ। जसको लागि मङ्सिरभित्र महाधिवेशन सम्पन्न भइसक्नुपर्ने हुन्छ। यसकारण २४ देखि २६ मङ्सिरसम्ममा तोकिएको महाधिवेशन समयमै गर्न कांग्रेसलाई दबाब छ। यसैले अब भने महाधिवेशन सर्न नसक्ने नेता थापाले दाबी गरे।

नेता थापाले यस्तो दाबी गरिरहँदा अर्का नेता कल्याण गुरुङले भने आइतबारको निर्णयपछि महाधिवेशनको वैधानिकतामा थप प्रश्नहरू उब्जन सक्ने  दाबी गर्छन्। “१३ औँ महाधिवेशनपछि भएका सबै निर्णयहरू केन्द्रीय  महाधिवेशनले पारित नगरेसम्म ती निर्णयले वैधानिकता पाउने अवस्था नै छैन” गुरुङले भने, “यो बीचमा हामीले नयाँ विधानदेखि अन्य धेरै कागजी कामहरू गरेका छौँ, ती सबै पारित गर्न बन्द सत्र हुनुपर्छ। सिधै नेतृत्व मात्रै चयन गर्दा ती निर्णयहरू कसरी कार्यान्वयनमा आउँछ ?”

“यो बीचमा हामीले नयाँ विधानदेखि अन्य धेरै कागजी कामहरू गरेका छौँ, ती सबै पारित गर्न बन्द सत्र हुनुपर्छ। सिधै नेतृत्व मात्रै चयन गर्दा ती निर्णयहरू कसरी कार्यान्वयनमा आउँछ ?”

नेता गुरुङले १४ औँ महाधिवेशनले पार्टीको विधान पारित नगरेमा १३ औँ महाधिवेशनकै व्यवस्था अनुसारको सङ्गठनात्मक अवधारणा पार्टीमा कायम रहने खतरा रहेको औँल्याए। “पार्टीको केन्द्रीय संरचनामै पनि व्यापक परिवर्तन गर्ने नयाँ विधानले व्यवस्था गरेको छ” उनले भने, “१४ औँ महाधिवेशनले नयाँ विधान अनुसार नेतृत्व चयन गर्छ कि, १३ औँ महाधिवेशनको प्रावधान अनुसार ?”

०७४ मा भएको तीन तहको निर्वाचन पश्चात् मात्रै कांग्रेसले संविधान अनुसारको संरचनाहरूसहितको विधान बनाएको थियो।  जसलाई अहिलेसम्म केन्द्रीय समितिले मात्रै अनुमोदन गरेको छ। अहिलेको प्रावधान अनुसार यो पार्टीको नयाँ विधानलाई महाधिवेशनले पारित गर्नैपर्छ। आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले मङ्सिरको २४ देखि २६ सम्म हुने १४ औँ महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने निर्णय गरे पनि विधान र नीति तथा कार्यक्रम बारेमा के गर्ने भन्ने ठोस अवधारणा अघि ल्याएको छैन।

प्रवक्ता विश्वप्रकाश शर्माले यसबारेमा पार्टीले आफ्नो अवधारणा बनाउने र यसकै कारण धेरै समस्या नहुने दाबी गरे। “हामीले विगतका सबै महाधिवेशनहरूको समीक्षा गरेरै यस्तो निर्णय गरेका छौ” शर्माले भने, “मेरो विचारमा यी विषय विगतभन्दा थप प्रभावकारी रुपमा हामी छलफल र परामर्श गर्न सक्छौ।”

यस अघिको चारओटा कार्यतालिकामा महाधिवेशन गर्न नसकेको कांग्रेसले पाँचौ कार्यतालिका अनुसार मङ्सिरको २४, २५ र २६ गते महाधिवेशन गर्दैछ। गत शनिवारबाट वडातहको अधिवेशनहरू पुन सुचारु गरेको कांग्रेसले मङ्सिरको १६ र १७ गते प्रदेश अधिवेशनहरू गर्दैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved