अमलाको रुख पूजाबारे यस्तो छ अक्षय नवमीको कथा

मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने अक्षय नवमी सामूहिक भोजन गरिने रमाइलो चाड हो। पर्वमा कात्तिक शुक्ल नवमीका दिन अमला (धातृ)को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ।

अमलाको रुख पूजाबारे यस्तो छ अक्षय नवमीको कथा

जनकपुरधाम। जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आज अमलाको रुखको पूजा गरी अक्षय नवमी पर्व मनाइँदैछ। कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्परा अनुसार आज अक्षय नवमी मनाइँदै गरिएको हो।

मिथिलामा धातृ नवमी र इच्छा नवमी समेत भनिने अक्षय नवमी सामूहिक भोजन गरिने रमाइलो चाड हो। पर्वमा कात्तिक शुक्ल नवमीका दिन अमला (धातृ)को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ।

अक्षय नवमीको अवसरमा आज प्रदेश २ को राजधानी जनकपुरधाम सहित सबैजसो जिल्लाका गाउँ शहर बस्तीमा बिहानैदेखि युवापंक्ति सामूहिक भोजनको तयारीमा जुटेका छन्। यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रुखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ।

अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाकाहारी खानेकुरा मात्र भोजमा पकाउने, खाने परम्परा छ।

अक्षय नवमी विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृति परम्पराका जानकार तथा पूर्व सिडिओ समेत रहेका जनकपुरधामस्थित किशोरी नगरका राजेन्द्र झाले बताए।

सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिता बढ्नु सकारात्मक भएको पाका मैथिल बताउँछन्। सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिताले संस्कृतिको जगेर्ना, विकास र निरन्तरता पाउनमा सहयोग हुने नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा जनकपुरधामका पत्रकार शैलेन्द्र झाको भनाइ छ।

खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि सहयोगी भएको स्त्री रोग विशेषज्ञ डा. मुरारी ठाकुरले बताए।

मिथिलामा आजको दिनलाई कुष्माण्डा नवमी समेत भनिने गरिएको छ। यसै तिथिमा द्वापर युगमा श्रीकृष्णले कुष्माण्डा दैत्यलाई सम्हार गरेर कंशको वध गर्न पूर्व मथुरा, बृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेका जनश्रुति रहेको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता साहित्यकार तथा वरिष्ठ पत्रकार रामभरोस कापडीले बताए।

पण्डित इन्द्रकान्त झाका अनुसार कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने जनविश्वास छ। अक्षय नवमीका दिन भगवान् विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुख प्राप्त हुने मान्यता छ।

इच्छित कामना पूरा हुने भएकाले यस पर्वलाई इच्छा नवमी र अमला (धातृ)को प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमीसमेत भन्ने गरिएको संस्कृतिविद् रमापति चौधरी बताउँछन्।

यस्तो छ अक्षय नवमीको कथा
कासी नगरमा एक निःसन्तान धर्मात्मा वैश्य बस्दथे। एक दिन वैश्यको पत्नीलाई एक छिमेकीले भनिन् कि यदि कुनै अर्को महिलाको छोराको बली भैरवजीलाई चढायौ भने तिमिलाई पनि पुत्र प्राप्ती हुनेछ।

यसबारेमा वैश्यलाई थाहा भएपछि यस्तो गर्नु हुँदैन भनेर अस्वीकार गरिदियो। तर उनकी पत्नीले मानिनन्। एक दिन उनले एक बालिकालाई कुवामा धकेलेर भैरवजीलाई बलि दिइन्, तर यस हत्याको परिरणाम विपरीत निस्कियो।

वैश्यकी पत्नीको सारा शरीरमा कुष्ठ रोग भयो र बालिकाकी आत्माले उसलाई परेशान गर्न थाल्यो। वैश्यले सोध्दा उनले पतिलाई सबै कुरा बारे जानकारी दिइन्। वैश्यले पत्नीलाई भन्यो, ‘ब्राह्मण वध, बाल वध र गौ हत्या पाप हो। यस्तो गर्नेलाई यस धर्तीमा कुनै ठाउँ पाइँदैन।’

वैश्यकी पत्नी आफूले गरेको कार्यप्रति निकै पछुतो मान्दै लज्ज्ति भइन्। अनि वैश्यले उनलाई भने कि तिमी गंगाजीको शरणमा गएर भगवानको भजन किर्तन गर्नु र गंगा स्नान गर्नु अनि तिम्लाई यस रोगबाट मुक्ति मिल्ने छ।

त्यसपछि वैश्यकी पत्नी गंगाजीको शरणमा गएर भगवानको भजन किर्तन गर्न थालिन्। गंगाजीले उनलाई कात्तिक शुक्ल पक्षको नवमी तिथिमा अमलाको रुखको पूजा गर्ने सल्लाह दिएकी थिइन्। गंगाजीको सल्लाहअनुसार महिलाले यस तिथिमा अमलाको रुखको पूजा गरेर अमला पनि खाएकी थिइन् र जसले गर्दा उनी रोगमुक्त भएकी थिइन्।

अमलाको रुखको पूजा एवं वर्तको कारण उनलाई केही समयपश्चात् सन्तान पनि प्राप्त भयो। त्यसबेलादेखि हिन्दु धर्ममा यस व्रतको प्रचलन बढ्न थाल्यो र अहिले यो परम्पराका रुपमा जारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved