कांग्रेस महाधिवेशन : छैन विचारको मन्थन

“यो त भयंकर खराब संकेत हो”, गुरुङले भने। उनले दल र दलका नेता स्वार्थकेन्द्रित भएपछि जनताले सुख नपाउने तर्क गरे। उनको थप भनाइ थियो, “व्यवस्थासँगै जनताको अवस्था पनि फेर्ने बेला यस्तो विचार र बहस नहुनुले डरलाग्दो स्थिति देखाउँछ।”

कांग्रेस महाधिवेशन : छैन विचारको मन्थन

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका नेता/कार्यकर्ता महाधिवेशनबाट नेता छान्ने रन्कोमा जति लीन देखिन्छन्, त्यत्तिकै उनीहरू पार्टीलाई दिशानिर्देश गर्ने वैचारिक मन्थनमा बेखबर।

मंसीर २४–२६ सम्म काठमाडौंमा गरिने कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदासमेत कांग्रेस खलकमा वैचारिक बहसको कुनै रौनक छाएको देखिन्न।

राजनीतिक विश्लेषक कृष्ण पोखरेलका अनुसार महाधिवेशन विचार मन्थन र नेतृत्व निर्माणको थलो हो। तर, कांग्रेस महाधिवेशनमा किन नेतृत्व होडमात्र देखिएको होला ?

यसका कारण छन्ः

एक, विचारभन्दा पनि नेता प्रधान हुनु

राजनीतिक दलका नेता विचारभन्दा पनि आफ्ना स्वार्थमा लिप्त भए। त्यसैअनुसार पार्टीलाई लान खोजे। फलस्वरूप राजनीतिक दल विधि र नीतिभन्दा पनि नेता र उसको स्वार्थको शिकार बने।

कांग्रेसमा शेरबहादुर देउवा वा रामचन्द्र पौडेल वा कृष्ण सिटौला समूहमा र त्यसभित्र पनि कसलाई नेतृत्वमा लाने भन्नेमा मात्र केन्द्रित देखिन्छ। कसको कस्तो विचार ? कसले कांग्रेसलाई कता लाने विचार लिएर आएको छ भनेर छलफल नै छैन।

“विचारभन्दा पनि नेता प्रधान, स्वार्थ प्रधान र व्यक्ति प्रधान हुँदा वैचारिक स्खलन आयो। फलस्वरूप नेपाली राजनीतिमै विचारको मन्थन हुन छाड्यो,” कांग्रेस युवा नेता धनराज गुरुङले भने।

कांग्रेसमा मात्र होइन, वामपन्थीलगायत दलमा पनि विचारमन्थन हुन छाडेको छ। नेता आफ्ना स्वार्थमा केन्द्रित रहेर हरेक चिजलाई वैचारिक रंग दिएर व्याख्या गरिरहेका छन्।

“फरकफरक विचार होइन, अब त स्वार्थमात्र बाँकी रहे। जुनसुकै पार्टीले जुनसुकै पार्टीसँग गठबन्धन गरी चुनाव लड्ने चलन चलेको छ,” उनको कथन थियो।

खासमा घोषणापत्र लिएर राजनीतिक दल जनतामा जाने हो। फरकफरक दलका फरकफरक एजेण्डा लिएर। जसको एजेण्डा मन पर्छ, त्यसैको आधारमा जनताले चुनावमा भोट हाल्ने हो।

“अहिले त पार्टी फरकफरक भए पनि विचार मरेका छन्। स्वार्थका लागि गठबन्धन गरी चुनावमा जाने चलन नै चलेको छ,” गुरुङले भने।

विचारलाई मियो बनाएर फरक दल भए पनि स्वार्थ मिल्दा आपसमा मिलेका छन्। कहिले माओवादी कांग्रेसको गठबन्धन बन्यो भने कहिले राप्रपा, एमाले र माओवादीको।

गएको स्थानीय चुनावमा माओवादी र कांग्रेसबीच भरतपुर र पोखरा महानगरमा गठबन्धन बनेको थियो। संघको चुनावमा झापामा राप्रपा, एमाले र माओवादीको। गुरुङले थपे, “वैचारिक रूपमा खडेरी परेको छ। महाधिवेशनको मुखमा किन वैचारिक मन्थन छैन भन्ने यसैले पनि पुष्टि गर्छ।”

दुई,महाधिवेशन चुनाव केन्द्रित हुनु

विचारमन्थन नहुनुको अर्को कारण हो, वैचारिक नेता उत्पादन गर्नेभन्दा पनि महाधिवेशनलाई चुनावमा मात्र केन्द्रित गर्नु। कांग्रेस युवा नेता गुरुराज घिमिरेले थपे, “निर्वाचनकेन्द्रित महाधिवेशन हुन्छ। त्यसो भएर पनि वैचारिक मन्थन भएन।”

घिमिरेको कथनमा अर्का युवा नेता मनोजमणि आचार्यले थपे, “कसले जित्ने भन्ने रणसंग्राम चलेको छ, यहाँ वैचारिक बहस कसरी प्रवेश हुन्छ ?”

नेताहरूको कुराले पनि कांग्रेस महाधिवेशन नेतृत्व परिवर्तनमा मात्र केन्द्रित देखिन्छ। वैचारिक बहसभन्दा पनि नेतृत्व प्रतिस्पर्धा मात्र।

“नेतृत्व तँछाडमछाड गर्नेमै छ। बहसमा केन्द्रित भन्दा पनि जित्न र जिताउन लागिपरेका छन्। अब त विचारमन्थन गर्ने र नेतृत्व परिवर्तनको लागि अलगअलग नै गर्नुपर्ने देखिन्छ”, आचार्यले भने। उनका अनुसार १३४ जना चुनिने महाधिवेशनमा सयौंको उम्मेदवारी हुन्छ।  उनका थप कथन थियो, “विचार मन्थन पो गर्ने कि जित्ने र जिताउनेतिर लाग्ने ? हालत यस्तो छ। यसलाई सुधार्नुपर्ने देखिन्छ।”

यसैले पनि वैचारिक बहसका लागि अलग्गै महाधिवेशन वा कुनै निकाय गराउनुपर्ने धारणा उनले राखे।

तीन,निरंकुशता हटेर खुला परिवेश हुनु

कांग्रेसdf कतिपय नेताले त निरंकुशता हटेपछि बिस्तारै वैचारिक बहस ओझेलिएको पनि तर्क गरे। आचार्यले भने, “निरंकुशता हटेर सब ठीकठाक भएपछि वैचारिक बहस नहुँदोरहेछ क्यार ! जनताको शासन शुरु भयो नि त।”

राजनीतिक विश्लेषक पोखरेल भने संविधानले नै सबै कुरा ठीक पारिदिएकाले नेपालका राजनीतिक दल महाधिवेशनमा वैचारिक बहसको जरुरी देख्दैनन्।

“संविधानले नै समाजवादउन्मुख भनेको छ। सामाजिक सुरक्षासम्बन्धी मौलिक हक पनि उल्लेख गरिएको छ। तिनलाई अघि सार्छौं भनेमात्र पनि हुन्छ”, विश्लेषक पोखरेलको कथन थियो, “विचार त संविधानले पहिले नै सेटल गरिदिएको छ। यो कोणबाट हेर्दा त संविधानकै इमानदार कार्यान्वयन गर्ने प्रतिबद्धता महाधिवेशनमा गरे मात्र पुग्छ।”

बीपीको प्रजातान्त्रिक समाजवाद

कांग्रेस बीपी कोइरालाकृत राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई निर्देशक सिद्धान्त मान्छ। २०१२ मा सम्पन्न केन्द्रीय महाधिवेशनबाट प्रजातान्त्रिक समाजवादलाई कांग्रेसले बोकेको हो।

पोखरलका अनुसार कांग्रेसमा २०१२ तिर वैचारिक बहस भएको देखिन्छ। कोइराला नेतृत्वको कांग्रेसले २०१५ सालको आमचुनाव जितेपछि भूमिसुधारका कुरा गर्दै जमिनदारी प्रथाको उन्मूलन गर्न खोजेको थियो।

“कांग्रेसले बीपीको समाजवाद भन्यो, सकियो। एमालेले मदन भण्डारीको जनताको बहुदलीय जनवाद भन्यो, सकियो”, पोखरेलको भनाइ थियो, “बिक्ने चिज के हो, त्यही समाएर बस्यो, पुग्यो।”

नेता आचार्यले बीपीको विचारलाई आजको सन्दर्भमा व्याख्यामात्र गरेर भएन, पार्टीले कार्यान्वयनको बाटो पनि खोज्नुपर्ने तर्क सारे।

“कांग्रेसको समाजवाद नै हो, तर कसरी जाने ? कांग्रेसमा छलफल छैन”, आचार्य कथन थियो। नेता गुरुङले भने वीपी विचार आज पनि तलमाथि गर्न नहुने बताए।

“वीपीको समाजवाद, राष्टियता र प्रजातन्त्र आज पनि उत्तिकै सान्दर्भिक छ। केहीले समयसापेक्ष भएन त भन्छन् तर त्यसो होइन”, गुरुङको कथन थियो। अर्का नेता गुरुराज घिमिरेले कांग्रेसमा वौद्धिक विमर्श गर्ने परम्परा हराएकोमा दुखमनाउ गरे।

“बहस त छ, लिबरल डेमोक्रेसी र सोसलिष्ट डेमोक्रेसी के हो भन्नेमा। समाजलाई लोकतान्त्रिकरण गर्ने कि लोकतन्त्रलाई सामाजिकीकरण भन्नेमा”, घिमिरेको भनाइ छ।

वैचारिक मन्थन नहुँदा के हुन्छ ?

गुरुङलगायत ११ युवा नेताले ५२ पेजको दस्तावेज केन्द्रीय समितिमा दर्ज गराएका थिए। तर, छलफलमै लगिएन।

“नेताले मन पराएनन्। त्यही वैचारिक स्खलनकै कुरा हो। त्यसमा पार्टीको हारको कारण, पार्टीको गन्तव्य कता ? चिरफार गरेको हो। त्यो दस्तावेजलाई नेतृत्वले अघि बढाउन चाहेन”, गुरुङले भने।

महाधिवेशनको मुखमा अहिले पनि कसरी लाने भनेर छलफलमै रहेको गुरुङको भनाइ थियो।

“त्यसबेला एजेण्डाको रूपमा लग्दा नेताले स्वीकारेनन्। अब कसरी बढ्ने हो ? अहिले पनि छलफल गर्दैछौँ। वैचारिक कुरा लाने अर्को बाटो के होला ? खोज्दैछौँ”, उनले भने।

अन्य राजनीतिक दलमा जसरी कांग्रेसमा पनि वैचारिक बहस संस्कृति सकिँदा के हुन्छ ? यसले के संकेत गर्छ ?

“यो त भयंकर खराब संकेत हो”, गुरुङले भने। उनले दल र दलका नेता स्वार्थकेन्द्रित भएपछि जनताले सुख नपाउने तर्क गरे। उनको थप भनाइ थियो, “व्यवस्थासँगै जनताको अवस्था पनि फेर्ने बेला यस्तो विचार र बहस नहुनुले डरलाग्दो स्थिति देखाउँछ।”

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved