आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट

पाकिस्तानको विजयी यात्रामा अष्ट्रेलिया बाधक बन्ला?

पाकिस्तान टिमको बलिङ, ब्याटिङ र मिडल अर्डर तीनवटै निकै मजबुत देखिएको छ। टिममा सन्तुलन र लगातार जितका कारण उसले पाँच खेलमा एउटै प्लेइङ ११ लाई मैदानमा उतारेको छ। हालसम्मको कुनै पनि खेलमा खेलाडी परिवर्तन गरेको छैन। जसले सेमिफाइनलमा पनि निरन्तरता पाउने सम्भावना छ।

पाकिस्तानको विजयी यात्रामा अष्ट्रेलिया बाधक बन्ला?

काठमाडौं। पाकिस्तान यूएईमा जारी यो टी-ट्वान्टी विश्वकपमा सेमिफाइनलसम्म आइपुग्दा सबैभन्दा प्रभावशाली टिम हो। समूहचरणमा खेलेको पाँचवटा खेलमा सबै जित्ने एक मात्र राष्ट्र बन्यो पाकिस्तान। अब बिहीबार राति अष्ट्रेलियासँग हुने सेमिफाइनल खेलमा पाकिस्तान लगातार छैटौँ जितको खोजीमा हुनेछ।

विश्वकप शुरु हुनुअघि पाकिस्तानलाई उपाधिको दाबेदारको रुपमा त हेरिएको थियो। तर यति उत्कृष्ट प्रदर्शन गर्ला भनेर कसैले सोचेको थिएन। कम आंकिएको पाकिस्तानले यो विश्वकपमा कमाल गर्ने संकेत पहिलो खेलदेखि नै देखायो।

जब उसले आफ्नो विश्वकप इतिहासमै पहिलो पटक चिरप्रतिद्वन्द्वी भारतलाई पराजित गर्‍यो, त्यो पनि १० विकेटले। पाकिस्तानसँगको लज्जास्पद हारपछि माथि उठ्नै नसकेको भारत, उपाधिको प्रबल दाबेदार मानिए पनि अन्तत समूहचरणबाटै बाहिरिन पुगेको थियो।

भारतसँगको यो जितपछि एकाएक उपाधिमा प्रबल दाबेदारी प्रस्तुत गरेको पाकिस्तानले समूहचरणका खेलमा प्रदर्शन पनि त्यस्तै गर्‍यो। भारतलाई १० विकेट, न्यूजिल्याण्डलाई ५ विकेट र नामिबियालाई ४५ रनले सजिलै पराजित गरेको पाकिस्तानलाई मात्र एक खेलमा अफगानिस्तानलाई हराउन भने अलि गाह्रो भएको थियो। अफगानिस्तानविरुद्ध १४८ रनको लक्ष्य पूरा गर्न पाकिस्तानले १९ औँ ओभारसम्म खेल्नु परेको थियो।

पाकिस्तान टिमको बलिङ, ब्याटिङ र मिडल अर्डर तीनवटै निकै मजबुत देखिएको छ। टिममा सन्तुलन र लगातार जितका कारण उसले पाँच खेलमा एउटै प्लेइङ ११ लाई मैदानमा उतारेको छ। हालसम्मको कुनै पनि खेलमा खेलाडी परिवर्तन गरेको छैन। जसले सेमिफाइनलमा पनि निरन्तरता पाउने सम्भावना छ।

ओपनिङ ब्याटिङ अर्डर चल्नु नै यो विश्वकपमा पाकिस्तानको राम्रो खेल देखाउन सक्नुको एउटा प्रमुख राज हो। पाकिस्तानका प्रमुख ओपनर बाबर आजम चालु विश्वकपमा सर्वाधिक रन जोड्ने खेलाडीको सूचीमा पहिलो स्थानमा छन्। पाँच खेलमा ६६ को औसतमा उनले २६४ रन प्रहार गरेका छन्। जसमध्ये चार खेलमा त उनले अर्धशतक नै हानेका थिए।

आजमले नामिबियासँग सर्वाधिक ७० र भारतसँग अविजित ६८ रन प्रहार गरेका थिए। पाकिस्तान टिमका कप्तानको जिम्मेवारीसमेत सम्हालिरहेका उनी आफै यति फर्ममा भएपछि अन्य खेलाडीहरुको मनोबल उच्च हुनु स्वभाविक हो। त्यसमाथि भारतलाई पहिलो खेलमा नै १० विकेटले हराएपछि उनीहरुलाई अन्य टिमलाई सजिलै हराउन सक्ने आत्मविश्वास बढेको हुनसक्छ।

बाबरलाई पाकिस्तानका अर्का ओपनर मोहमद रिजवानले पनि राम्रै साथ दिइरहेका छन्। उनले पनि पाँच खेलमा २१४ रन जोडिसकेका छन् । रिजवानले भारत र नामिबिया दुवै राष्ट्रविरुद्ध अविजित ७९ रन जोडेका थिए।

यी दुई ओपनरले भारतविरुद्ध पहिलो विकेटको लागि गरेको अविजित १५२ रनको साझेदारी यो विश्वकपकै सबैभन्दा ठूलो साझेदारी हो। आईसीसीको ब्याटिङ वरीयतामा टी-ट्वान्टी र एकदिवसीय दुवैतर्फ बाबर पहिलो नम्बरमा छन् भने रिजवान टी-ट्वान्टी ब्याटिङ वरीयतामा छैटौँ स्थानमा छन्।

मिडल अर्डरमा दुई अनुभवी खेलाडी सोयब मल्लिक र मोहमद हफिजले पाकिस्तानको इनिङलाई समालिरहेका छन्। त्यसैगरी फिनिसिङका लागि आसिफ अलीको बिष्फोटक ब्याटिङको साथ पाकिस्तानलाई छ।

बलिङतर्फ हालका चर्चित युवा फास्ट बलर साहिन साह अफ्रिदीसँगै हारिस रौफले शानदार खेल देखाइरहेका छन्। यो विश्वकपमा हालसम्म पाकिस्तानको अलिकति कमजोर पक्ष देखिएको भनेको स्पिन बलिङमा मात्रै हो। यदि अष्ट्रेलियासँगको सेमिफाइनलमा ओपनिङ जोडिसँगै स्पिनिर पनि चलेमा पाकिस्तानको फाइनल प्रवेश निकै सहज हुनेछ।

पछिल्ला दुई टी-ट्वान्टी खेलको नतिजा हेर्ने हो भने पाकिस्तान सन् २०१९ मा भएको दुवै भिडन्तमा अष्ट्रेलियासँग पराजित भएको थियो। तर त्यो बेलाको यी दुवै देशका क्रिकेट टिम, टिमका खेलाडी र खेलाडीको फर्ममा हाल धेरै फरक आइसकेको छ।

धेरै युवा खेलाडीलाई मौका दिएको पाकिस्तान हाल राम्रो लयमा छ भने कागजमा हेर्दा स्टार र पाका खेलाडीको बाहुल्यता रहेको अष्ट्रेलियाको टिमबाट अनुभवी खेलाडीहरुले भने खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन्।

हुन त अष्ट्रेलियाले पनि जारी विश्वकपको समूह चरणमा खेलेको पाँच खेलमा एक खेल मात्र हारेको छ। ब्याटिङ नचल्दा इंग्ल्याण्डसँगको उक्त खेलमा अष्ट्रेलिया मात्र १२५ रनमा समेटिएको थियो। अन्य चार खेलमा भने अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेट, दक्षिण अफ्रिकालाई २ विकेट तथा बंगलादेश र वेष्ट इण्डिजलाई समान ८ विकेटले पराजित गरेको थियो।

यो विश्वकप दौरान ओपनर डेभिड वार्नरको ब्याटिङ फर्ममा आउनु अष्ट्रेलियाको लागि एक सुखद् संकेत हो। उनले वेष्ट इण्डिजसँग अविजित ८९ र श्रीलंकासँग ६५ रन जोडेका थिए। तर अर्का ओपनर तथा कप्तान आरोन फिन्चसँगै बिष्फोटक फिनिसर ग्लेन म्याक्सवेलको ब्याट एक खेलमा पनि नचल्नु भने अष्ट्रेलियाको लागि चिन्ताको विषय बनेको छ।

बलिङतर्फ भने अष्ट्रेलियाको प्रदर्शन आशा गरेअनुसार नै छ। जारी विश्वकपमा यूएईको स्पिनमैत्री पिचमा अष्ट्रेलियाका स्टार स्पिनर एडम जम्पा सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा छन्। पाँच खेलमा उनको नाउँमा ११ विकेट छ। जहाँ बंगलादेशसँग १९ रन खर्चेर लिएको ५ विकेट यो विश्वकपकै उत्कृष्ट बलिङ फिगर हो।

अष्ट्रेलियाको सबैभन्दा बलियो पक्ष मानिएको फाष्ट बलिङमा पनि अनुभवी मिचेल स्टार्क र प्याट कमिन्स्सँगै युवा खेलाडी जस हेजलहुडको प्रदर्शन सन्तोषजनक छ। टी-ट्वान्टी विश्वकपको पहिलो उपाधिको खोजिमा रहेको अष्ट्रेलियालाई फाइनल प्रवेशका लागि अब पाकिस्तानविरुद्ध जित हात पार्नु छ भने मिडल अर्डरमा म्याक्सवेलको ब्याटिङ चल्नु अति नै आवश्यक छ।

सातौँ संस्करणसम्म आइपुग्दा अष्ट्रेलियाले हालसम्म टी-ट्वान्टी विश्वकपको ट्रफी जित्न सकेको छैन। सन् २०१० मा एकपटक मात्र फाइनलमा पुगेको अष्ट्रेलिया इंग्ल्याण्डसँग ७ विकेटले पराजित हुँदा उपाधिविहीन बनेको थियो।

सन् २००९ को विश्वकप विजेता पाकिस्तान भने यो पटक पनि उपाधि जित्दै दुई पटक टी-ट्वान्टी विश्वकपको ट्रफी उचाल्ने एक मात्र राष्ट्र वेष्ट इण्डिजको रेकर्ड बराबर गर्न चाहन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved