भविष्यका लागि इतिहास पुनर्लेखन गर्दैछन् सी जिनफिङ

आजबाट शुरू हुने चिनियाँ कम्युनिस्ट पार्टीको छैटौं पूर्ण बैठकबाट पार्टी इतिहाससम्बन्धी प्रस्ताव पारित हुनेछ। त्यो प्रस्ताव भविष्यलाई आफू अनुकूल बनाउने सी जिनफिङको प्रयत्न हो।

भविष्यका लागि इतिहास पुनर्लेखन गर्दैछन् सी जिनफिङ

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा तेस्रो कार्यकालको तयारीमा सी जिनफिङले राजनीति, व्यवसाय र समाजबारेका नियमहरू परिवर्तन गर्दैछन्। साथसाथै उनले शक्तिमा आफ्नो पकड कायम राख्न आवश्यक ठानेको अर्को परियोजना पनि लागू गर्दैछन्। त्यो हो, चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासको पुनर्लेखन। आफ्नो देशलाई आफू अपरिहार्य रहेको देखाउन चाहन्छन् उनी। आफूलाई माओ त्सेतुङ र तङ स्याओ पिङ हाराहारीको र उनीहरूको विरासतको जगमा चीनलाई विश्व शक्तिको रुपमा स्थापित गरिरहेको देखाउन चाहन्छन् उनी।

८ नोभेम्बरमा करीब ३७० भन्दा बढी पार्टीका राजनीतिक र सैनिक सम्भ्रान्तहरू वर्षेनी हुने केन्द्रिय समितिको चार दिने पूर्ण बैठक (प्लेनम)का लागि बेइजिङमा जम्मा हुनेछन्। केन्द्रीय समितिको बैठकको एउटै मात्र एजेण्डा प्रचार गरिएको छ। त्यो हो, पार्टीको इतिहाससम्बन्धी प्रस्ताव। चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा यो इतिहाससम्बन्धी तेस्रो प्रस्ताव हुनेछ। पहिलो सन् १९४५ मा र दोस्रो सन् १९८१ मा पारित गरिएको थियो। ती प्रस्ताव क्रमशः माओ र तङका विजय थिए जसले जटिल मोडहरूमा उनीहरूलाई शक्तिमा पकड राख्न सघायो। आफ्ना पक्षका हरेकलाई रक्षा गर्नसक्ने सीको क्षमताले उनले २०२२ को अन्त्यतिर हुने पार्टीको महाधिवेशनमा आफ्नो शासनकाल वृद्धिको विरोधमा रहेकालाई शान्त बनाइसकेका छन् भन्ने सुझाउँछ। यो प्रस्ताव ‘शक्तिको असाधारण प्रदर्शन’ हुने बताउँछन् वासिंगटनस्थित थिंक ट्यांक ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीज’का जुड ब्लसेट।

पाँच–पाँच वर्षमा हुने पार्टी महाधिवेशनअघिको यो दोस्रो अन्तिम प्लेनम हो। महाधिवेशनको धेरै विषय निर्धारण गर्ने भएकाले यो निकै महत्त्वपूर्ण छ। अर्को वर्ष हुने महाधिवेशनमा सी जिनफिङ नेतृत्वमा आएको एक दशक पुग्नेछ। यसअघि भएको अभ्यासका आधारमा स्थापित परम्परा अनुसार यो उनको राजनीतिक विदाइको क्षण हुनेछ। तर उनी अर्को कार्यकालका लागि पनि ढुक्क छन्। गत वर्ष, आफ्ना आलोचकलाई चुप लगाउन र शक्तिशाली प्रतिस्पर्धीलाई तह लगाउन उनी कडा मेहनत गरिरहेथे। त्यसका लागि सुरक्षा संयन्त्रमा पजनी गरे, राजनीतिक सहयोगी बढाए र ठूला नीजि फर्मलाई लगाइएका नियम हटाएर पार्टीको शक्ति प्रदर्शन गरे। महाधिवेशनअघि उनले सम्भवतः मार्च २०२३ अघि बस्ने राष्ट्रिय जन कांग्रेसभन्दा अघि नै अवकास हुने उच्च अधिकारीको ठाउँमा आफ्ना रुचीका मानिस (गोप्यरुपमा) राख्नेछन्। त्यसमा नयाँ प्रधानमन्त्री र गृह–सुरक्षा प्रमुख पनि पर्छन्।

इतिहासबारेको प्रस्ताव उच्च अधिकारीहरूबीच वितरण भइसकेको छ तर यसको विषयवस्तु ११ नोभेम्बरमा प्लनेम नसकिँदासम्म सार्वजनिक गरिनेछैन। यद्यपी सी जिनफिङको भाषण र पार्टी निकटका आलोचकहरूको लेखनीबाट त्यो प्रस्तावमा के छ भन्ने अनुमान गर्न सकिन्छ। यो प्रस्तावमा पार्टीका उपलब्धीको महत्तागान गर्ने, माओले छोडेका त्रासदीलाई कम व्याख्या गर्ने र माओ, तङ र सीका लक्ष्य एउटै हुन् भनेर स्थापित गरिने अनुमान गरिएको छ। माओ र तङको शासनकाललाई सीको ‘नयाँ युग’ शुरु गर्नुअघिको आवश्यक प्रारम्भिक चरणको रुपमा व्याख्या गरिनेछ। माओले चिनियाँ जनतालाई विदेशी शक्तिहरूको अपमानको शताब्दीपछि ‘आफ्नो खुट्टामा उभिन’ सघाए, तङले गरिबीको शताब्दीपछि चीनलाई ‘सम्पन्नता’ तिर डोर्‍याए। अहिले सीले चीनलाई ‘बलियो हुन’ सघाइरहेछन्। प्रस्तावले सामाजिक, आर्थिक र राष्ट्रिय–सुरक्षा चुनौतीलाई व्यवस्थापन गर्ने सीको न्यायपूर्ण नेतृत्वको प्रशंसा गर्नेछ र उनको बुद्धिमताको निरन्तरता सुझाउनेछ।

सीका पुर्ववर्तीहरूले आफ्ना प्रस्तावमा इतिहासलाई बेग्लै तरिकाले प्रयोग गरेका थिए। सन् १९४५ मा माओ त्सेतुङले विगतका त्रुटीको जिम्मेवार आफ्ना शत्रुहरू रहेको आरोप लगाउँदै तिनलाई तह लगाउनुको औचित्य स्थापना गरेका थिए ताकि आफैलाई सन्देहरहीत नेताको रुपमा उभ्याउन सकियोस्। सन् १९८१ मा तङले आफ्नो प्रस्तावमा माओले गम्भिर गल्तीहरू गरेको र १९६६ देखि १९७६ सम्मको सांस्कृतिक क्रान्तिले अशान्ति सिर्जना गरेकोले ‘अक्षम्य त्रुटी’ भएको उल्लेख गरे। सावधानीपूर्वक माओको आलोचना गरेर तङले पार्टीप्रति जनसमर्थन पुनः स्थापित गरे र खुला बजार सुधारका लागि आफैलाई सक्षम बनाए।

तर इतिहासले सी जिनफिङलाई फरक चुनौती दिइरहेछ। पार्टीको वामपन्थी वृत्तमा नव–माओवादीहरू छन् जसले आफ्ना नायकलाई पुनर्स्थापित गर्न लामो संघर्ष गरेका छन्। उनीहरू तङ स्याओपिङको आलोचना गर्छन्। अहिलेको भ्रष्टाचार र असमानताजस्ता समस्याको कारक तङ नै भएको आरोप लगाउँछन्। दक्षिणपन्थी वृत्तमा भने उनीहरू छन् जो (निकै गोप्य रुपमा) चीन माओ शैलीकै अधिनायकत्वतर्फ फर्किरहेको र तङले गरेका सुधारप्रतिको प्रतिबद्धता त्यागिरहेकोमा चिन्ता व्यक्त गर्छन्।

माओ र तङलाई एक अर्कालाई अस्विकार गर्न प्रयोग नगर्ने घोषणा सीले गरेका छन्। उनी इतिहास त्रुटी र विरोधाभासहरूले भरियोस् भन्ने चाहँदैनन्। न त उनी एक–व्यक्तिको शासनलाई प्रश्न गरेको नै रुचाउँछन्। लेनिन र स्टालिनको विरासत कायम गर्न नसकेकै कारण सोभियत संघ विघटन भएको उनी विश्वास गर्छन्।

उनले ‘ऐतिहासिक शुन्यवाद’को विरुद्धमा सघन अभियान चलाएका छन्– खासगरी पार्टीको विगतलाई प्रतिकुल रुपमा प्रस्तुत गर्ने कुनै पनि विषयको विरुद्धमा। माओका गम्भिर गल्तीहरू सार्वजनिक गर्ने किताबहरू कुनै बेला स्वीकार्य थिए, अहिले तिनलाई निरुत्साहित गरिएको छ।

गत फेब्रुअरीमा प्रकाशित पार्टीको आधिकारिक इतिहासले सीको इतिहासप्रतिको झुकाव कस्तो छ भन्ने संकेत गर्दछ। यसले निकै संक्षिप्त रुपमा सांस्कृतिक क्रान्तिलाई छोएको छ। यसमा ’महान् फड्को’ (१९५८–१९६२) सिर्जित करोडौंको ज्यान लिएको भोकमरीको उल्लेख नै गरिएको छैन। न त सन् १९८९ मा प्रजातन्त्रको पक्षमा भएको आन्दोलनलाई ‘तियनामेन स्क्वायर’मा गरिएको दमन नै उल्लेख छ। सीको शासनको कालखण्डले पुस्तकको एक चौथाईभन्दा बढि हिस्सा ओगटेको छ। सीका पुर्ववर्तीहरू हु जिन्ताओ र जियाङ जेमिनलाई भने निकै कम स्थान दिइएको छ।

सन् २०३५ सम्म ‘आधुनिक समाजवादी राष्ट्र’ र जनगणतन्त्र चीनको सयौं स्थापना वर्ष सन् २०४९ सम्म ‘समृद्ध’ र ‘सुदृढ’ बनाउने जस्ता दीर्घकालीन लक्ष्य पूरा गर्न चीनलाई सीको आवश्यकता छ भन्ने प्रस्तावले सुझाउनेछ। त्यसमा सम्भवतः गरिबी हटाउन सीले गरेको ‘समान समृद्धि’ अभियान र महामारी र अमेरिकासँगको आर्थिक विवादजस्ता बाह्य आघातसँग जुध्न उनले अख्तियार गरेको ‘दोहोरो वितरण’ रणनीतिको चर्चा गरिनेछ। यसमा कठीन अन्तर्राष्ट्रिय परिवेशबारे व्याख्या गरिनेछ यद्यपी अमेरिका र उसका गठबन्धनको नाम लिइनेछैन। र, सम्भवतः ताइवानबारे चिनियाँ कम्युनिष्ट पार्टीको पुरानै रटान दोहोर्‍याइनेछ। भनिनेछ, ताइवान जसरी पनि मुख्यभूमी चीनसँग एकीकृत हुनैपर्छ। माओपछिका हरेक नेताका लागि ताइवानलाई चीनमा गाभ्न नसक्नु पीडाको विषय बन्ने गरेको छ। प्रस्तावमा पक्कै पनि सन् २०४९ सम्म ‘चीनको महान पुनरोदय’ सीले गरेको आह्वान उल्लेख हुनेछ जसमा उनी ताइवानको एकीकरण त्यसअघि नै गर्ने लक्ष्य राख्छन् भन्ने व्याख्या गरिनेछ। त्यस्तो वाचा जुन असम्भव छ।

प्लेनमको सम्मुखमा प्रचार यन्त्रहरूले सीको बुद्धिमताबारे लेखहरू प्रकाशन गर्न थालेका छन्। सीको शासनको निरन्तरताको निम्ति जनमत सिर्जना गर्न चाहन्छन् उनीहरू। १ नोभेम्बरमा चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ‘पिपल्स डेली’ ले ‘नयाँ युगका गम्भिर निर्णयहरू’ शीर्षकमा सम्पादकीय शृंखला प्रकाशन गर्न शुरु गरेको छ। उनीहरूले सन् १९२१ मा स्थापना भएदेखि पार्टीको उपलब्धीको महत्तागान गर्नेछन् र सी जिनफिङको योगदानको गुणगान गाउनेछन्। सीको कोणबाट यो प्रस्ताव ‘इतिहासतिर फर्केर हेर्नु मात्र होइन, बरु भविष्यतिर हेर्नु पनि हो’, भन्छन् बोस्टन विश्वविद्यालयका जोसेफ फिउस्मिथ। र फिउस्मिथका अनुसार सी सोच्छन्, ‘भविष्य त मै हुँ।’

(‘द इकोनोमिस्ट’को ६ नोभेम्बर २०२१ को संस्करणमा प्रकाशित यो लेखको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved