किन स्टार खेलाडी र सेलिब्रेटीको जोडी बन्छ ?

राम्रो वस्तु, नाम, पैसा, इज्जत आदि चाहनु मानवीय स्वाभाव नै हो। त्यसैले एक अर्कालाई डेट गर्नु वा बिहे गर्नु स्टार खेलाडी र सेलिब्रेटी दुवैका लागि ‘विन विन’ को अवस्था हो। ज्याकपट जित्नुसरह हो, जहाँ दुवैलाई खासै गुमाउनु केही हुँदैन।

किन स्टार खेलाडी र सेलिब्रेटीको जोडी बन्छ ?

राम्रो चिज कसलाई मन पर्दैन र? अनि पैसा र इज्जत कसलाई प्यारो हुँदैन ? प्रायः स्टार खेलाडीले सेलिब्रेटी (हिरोइन, मोडल आदि) जोडी पाउनुमा यसैले पनि काम गरेको हुन्छ।

राम्रो वस्तु, नाम, पैसा, इज्जत आदि चाहनु मानवीय स्वाभाव नै हो। त्यसैले एक अर्कालाई डेट गर्नु वा बिहे गर्नु स्टार खेलाडी र सेलिब्रेटी दुवैका लागि ‘विन विन’ को अवस्था हो। ज्याकपट जित्नुसरह हो, जहाँ दुवैलाई खासै गुमाउनु केही हुँदैन।

इंग्ल्याण्डका चर्चित फुटबलर डेभिड बेक्याम र भिक्टोरियाको जोडीदेखि जेरार्ड पिके र शाकिराको जोडी। या क्रिकेटका विराट कोहली र अनुष्का शर्माको जोडी। यो स्टारडम र ग्लामरबीचको आकर्षण हो।

विश्वचर्चित व्यावसायिक खेलाडीसँग प्रायः पैसाको अभाव हुँदैन। नाम त र सम्पत्ति भएपछि उनीहरूको स्टारडम बढ्दै जाने गर्छ। फलस्वरूप उनीहरूले सर्वसाधारणसँग भन्दा उठेर सम्बन्ध स्थापित गर्न गर्छन्।

हरेक पुरुषको चाहना हुन्छ, सुन्दर महिलालाई जीवनसाथी छान्ने। चाहे जतिसुकै ठूला स्टार खेलाडी किन नहुन, उनीहरूमा पनि यो लागु हुन्छ। चर्चित खेलाडीहरू खेलमा व्यस्त हुने गर्छन्। खेलले उनीहरूलाई हरदम बाँधिरहने हुँदा आफ्नो मुख्य लक्ष्यतिर केन्द्रित हुन्छन्।

कुनै स्टार पुरुष खेलाडीले सामान्य महिलालाई कमै मात्रामा जोडी बनाउने गर्छन्। चर्चित बन्दै गएपछि उनीहरूमा विलासी जीवनशैली जिउने चाहना बढ्दै जान्छ। अनि कुनै क्षेत्रमा कहलिएको नामलाई नै जीवनसाथी खोज्नु पनि स्वाभाविकै हुन्छ।

सतही रूपमा हेर्दा स्टार खेलाडीले सेलिब्रेटीलाई आफ्नो जोडी बनाएको विषयले खासै ठाउँ लिँदैन। समाचारमा आउनुबाहेक अन्य चर्चा पनि खासै हुने गर्दैन। अर्थात् यसलाई अन्यथा मानिँदैन।

स्टार खेलाडीसँगै सेलिब्रेटीहरूले पनि धन र इज्जत दुवै कमाइसकेका हुन्छन्। उनीहरूलाई पनि जीवनसाथीका रूपमा एक सफल, धनी र स्टार अनुहारको खोजी हुन थाल्छ।

विश्वमा सबैभन्दा बढी स्टारडम वा सेलिब्रेटीको अभ्यास भएको क्षेत्र भनेको नै पुरुष खेलकुद र मनोरञ्जन क्षेत्र हो। त्यसैले आफूजस्तै स्टार सेलिब्रेटी जोडी खोज्न खेलाडीहरूले मनोरञ्जन क्षेत्रकै स्टार सेलिब्रेटी (मोडेल वा नायिका) रोज्नुको विकल्प छैन।

विश्व खेलकुदमा यस्ता धेरै खेलाडी छन्, जसले सेलिब्रेटीलाई नै आफ्नो जोडी बनाए। अझ सबैभन्दा प्रख्यात दुई खेल फुटबल र क्रिकेटका खेलाडीहरू यो सूचीमा अग्रस्थानमा आउँछन्।

तीमध्ये केही सबैभन्दा चर्चित स्टार खेलाडी र सेलिब्रेटीको जोडी यी हुन्।

डेभिड बेक्याम र भिक्टोरिया

पूर्वस्टार इङ्लिस फुटबलर डेभिड बेक्यामले दुई वर्षको डेटपछि पप गीत ब्याण्ड ‘स्पाइस गर्ल’ की गायिका तथा मोडल भिक्टोरियासँग सन् १९९९ मा बिहे गरे। यी दुईका हाल चार सन्तान छन्।

म्यानचेष्टर यूनाइटेड र रियल मड्रिडका पूर्वखेलाडी बेक्याम त्यो बेला फुटबल खेलका कारण मात्र होइन आफ्नो स्टाइल र फेसनका कारण विश्वमाझ चर्चित थिए। आफ्नो समयमा उनको रुप र स्टारडमको चर्चा त्यो बेलाका हलिउड स्टारको भन्दा बढी हुने गर्थ्यो। हालसम्म पनि बेक्याम उस्तै देखिन्छन्। उनका फ्यान फलोइङ पनि उत्तिकै छन्।

जेरार्ड पिके र शाकिरा

स्पेन तथा बार्सिलोनाका स्टार डिफेन्डर जेरार्ड पिके सन् २०१० को विश्वकप फुटबल खेल्न दक्षिण अफ्रिका पुगेका थिए। त्यो विश्वकपको चर्चित गीत ‘वाका वाका’ को भिडिओ छायांकन दौरान पिकेले पहिलो पटक कोलम्बियन गायिका तथा कलाकार शाकिरालाई भेटे।

यहाँबाट यी दुईबीचको प्रेमको बीजारोपण भएको थियो। यसको एक वर्षपछि आफूहरू रिलेसनमा रहेको घोषणा गरेको यो जोडीका दुई सन्तान छन्।

विराट कोहली र अनुष्का शर्मा

हालको विश्व क्रिकेटको सबैभन्दा चर्चित नाम हो विराट कोहली। सन् २०१३ देखि कोहलीले बलिउड स्टार नायिका अनुष्का शर्मालाई डेट गर्न थालेका थिए। मिडियामा निकै नै चर्चित यो जोडीलाई ‘विरुस्का’ को उपनाम दिइएको थियो।

यो जोडीले आफ्नो सम्बन्धबारे आफैंले खुलेर कहिले पनि मिडियामा बताएन। यसपछि सन् २०१७ मा यी दुईले इटलीमा गएर विवाह गरेका थिए। उनीहरूबाट अहिले एउटा छोरी जन्मिएकी छन्।

शरद भेषवाकर र निशा अधिकारी

नेपालमा नेपाली क्रिकेटका चर्चित ब्याट्सम्यान शरद भेषवाकरले नेपालकै चर्चित नायिका निशा अधिकारीसँग लगनगाँठो कसेका थिए। करिब पाँच वर्षको प्रेम सम्बन्धपछि २०७४ को असारमा यी दुईले विवाह गर्दा नेपाली खेलकुद इतिहासमा कुनै स्टार खेलाडीले चलचित्र क्षेत्रको सेलेब्रेटीसँग बाधिएको पहिलो अवसर बन्न पुगेको थियो।

विदेशमा धेरै खेलाडीले र विशेषगरी भारतमा क्रिकेटले मोडेल वा नायिकासँग विवाह गर्ने ‘ट्रेन्ड’ धेरै अघिदेखिको हो। नेपालमा भने शरद र निशाले यसको शसरुआत गरेका थिए। यी दुईबीच विवाह हुनुभन्दा करिब नौ वर्षअघि नै पहिलो पटक परिचय भइसकेको थियो।

तर पहिलो भेटको करिब चार वर्षसम्म मित्रताको सम्बन्ध गाँसेका यो जोडीले यसपछि मित्रतालाई प्रेम सम्बन्धमा बदलेका थिए। विवाहको एक वर्षपछि नायिका निशाले पहिलो सन्तानको रूपमा एक पुत्रलाई जन्म दिएकी थिइन्।

मिडिल अर्डर ब्याट्सम्यान शरद नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो खेलाडी हुन्। त्यसैगरी नेपालले इतिहासमै पहिलो पटक सन् २०१४ मा टी–ट्वान्टी विश्व कप र २०१८ मा अन्तराष्ट्रिय एकदिवसीय (ओडीआई) खेल्दा शरद नेपाली टिमका प्रमुख खेलाडी थिए।

सन् २००५ मा २१ बर्षको उमेरमा मिस इन्टरनेसनल नेपालको उपाधि जितेपछि निशा अभिनय क्षेत्रमा लागेकी थिइन। सन् २००९ मा मिसन ‘पैसा’ नामक चलचित्रबाट डेब्यू गरेकी उनले डेढ दर्जनभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेकी छन्।

नेइमार र ब्रुनो मार्कुजिन

ब्राजिल तथा पीएसजीका स्टार स्ट्राइकर नेइमार र ब्राजिलीयन मोडेल तथा नायिका ब्रुनो मार्कुजिनबीचको प्रेम सम्बन्धले एक पटक निकै चर्चा पाएको थियोे। विश्वका आकर्षक फुटबलरमध्ये एक मानिएका नेइमार धेरै महिलासँग प्रेम सम्बन्ध राख्ने खेलाडीमा पर्छन्।

उनको प्रेमिकाको सुची नै हालसम्म १८ भन्दा बढी रहेको बताइएको छ। नेइमारको जुनसुकै प्रेमिकासँगको सम्बन्ध पनि बढीमा एक वर्ष भन्दा लामो समय टिक्ने गरेको छैन। तर ब्रुना नेइमारसँग सबैभन्दा लामो समय टिक्ने जोडीको रूपमा पर्छिन्। यी दुईले ६ वर्ष डेट गरेका थिए।

ब्रुनो ब्राजिलकी युवा नायिका तथा मोडेल हुन् जो ब्राजिलियन टेलिभिजनमा सबैभन्दा चर्चित सेलेब्रेटीमध्ये एक हुन्। सन् २०१२ देखि यी दुईबीच प्रेम सम्बन्ध शुरु भएको थियो। तर पूर्वबार्सिलोना स्टार नेइमार आफैले सन् २०१८ यो जोडी तोड्ने निर्णय गरेका थिए। यसपछि नेइमारको जोडीको रूपमा अर्की ब्राजिलियन मोडेल मारी टाभारेससँग जोडिएको थियो।

धेरै प्रेमिका बनाउन माहिर नेइमारकी पूर्वप्रेमिका क्यारोलिना डान्तास्बाट एक सन्तान नै छ। इन्स्टाग्रामकी स्टार क्यारोलिनाले सन् २०११ मै नेइमारको छोरालाई जन्म दिएकी थिइन्।

त्यसैगरी नेदरल्याण्डस् तथा रियल मड्रिड र इन्टर मिलानका पूर्वमिडफिल्डर वेस्ले स्नाइडरले स्पेनिस–डच नायिका योलान्थे काबाउसँग सन् २०१० मा विवाह गरेका थिए। काबाउ तिन पटक नेदरल्याण्डस्को ‘सेक्सिएस्ट ’ महिला घोषण भएकी थिइन्।

स्पेन तथा रियल मड्रिडका पूर्वकप्तान तथा डिफेन्डर सर्जियो रामोसको प्रेमिका स्पानिस टेलिभिजन स्टार पिलार रुवियो हुन्। सन् २०१२ देखि सम्बन्धमा रहेको यो जोडीको दुई सन्तान छन्।

जर्मनीका स्टार अट्याकिङ् मिडफिल्डर मेसुट ओजिलले पनि जर्मन गायिका, मोडल तथा डान्सर मान्डी क्यापिरिस्टोलाई जोडी बनाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved