आफ्नै चेतनाको म्हः पूजा

म्हः पूजा गर्दा शरीरमात्रै नभई मानिसभित्र हुने चेतनाको समेत पूजा गरिन्छ।

आफ्नै चेतनाको म्हः पूजा

काठमाडौं। आज आफ्नै शरीरको पूजा गरी नेवार समुदायले ‘म्हः पूजा’ गर्दैछन्। नेपाल भाषामा ‘म्हः’ को अर्थ शरिर हो। हरेक वर्ष गोवर्धन पूजाको दिन साँझ परिवारका सदस्य मिलेर म्हः पूजा गरिन्छ।

संस्कृतिविद् ओम धौभडेलका अनुसार आफ्नो शरीरभित्र भगवानको बास रहने विश्वासमा आफूलाई पुज्ने परम्परा म्हः पूजा हो। म्हः पूजा गर्दा शरीरमात्रै नभई मानिसभित्र हुने चेतनाको समेत पूजा गरिन्छ।

लिच्छवी राजा जयदेव द्वितीयको पालमा दीपावलीकै बेलामा नेपाल मण्डलमा ठूलो आगलागी भयो।

“त्यस बेला सम्पूर्ण नेपाल मण्डल ध्वस्त भएको तथ्य इतिहासमा पाउन सक्छौं,” संस्कृतिविद् धौभडेल भन्छन्, “त्यो आगलागीपछि जति मान्छे बाँचेका थिए, तिनले भोलिपल्ट म्हपूजा गरे। आगलागीमा महिलाभन्दा पुरुष बढी परेकाले बाँचेका पुरुषको दीर्घायुको कामनासहित भाइटीका लगाएर उत्सव मनाइयो।”

म्हपूजा र भाइटीकामा लावा (धानको फूल), भटमास, मास, आख्यो, तेल, अबिरबाट बनेको गोलाकार मण्डल बनाइन्छ। त्यस्तै, म्हः पूजा गर्दा सुस्वास्थ्य र समृद्धिको लागि अलिक ठूलो जजंका पनि परिवारका सदस्यलाई लगाइदिइन्छ। म्हपूजा र भाइटीकामा प्रयोग हुने जजंकामा हुने डोरी र आख्योको संख्या निश्चित छ। म्हपूजामा ६ वटा आख्यो र भाइटीकामा प्रयोग हुने जजंकामा १२ वटा आख्यो राखिएको हुन्छ।

रङरङका जजंका म्हपूजा गर्दा लेखिने मण्डलको अगाडी चार बत्ती बाली जजंका लगाएर दीर्घायुको कामना गरिन्छ। त्यो मात्रै नभई घरमा पालिएका पशु, घरमा प्रयोग हुने कुचो, गाग्रो, पाथी, नाङ्ग्लोलाई पनि जजंका लगाइदिन्छ।

म्हः पूजाको दिन परिवारका सबै सदस्यहरूले अनिवार्य नुहाउनु पर्ने चलन छ। साथै पूजा गर्नुअघि परिवारका प्रत्येक सदस्यको लागि एक/एक वटा मण्डल बनाइन्छ। मण्डलको बीचमा पृथ्वी, जल, वायु, तेज र आकाशको प्रतीकका रूपमा पाँच वटा स–साना गोलाकार मण्डल बनाइएका हुन्छन्। शुरुमा मण्डलमा तेलको घेरा हालिन्छ। त्यसबाहिर आख्यो (हातैले धानको बोक्रा निकालिएको सिंगो चामलको दाना), लावा , मासको गेडा, धान, कालो भटमासलगायत पानी र फूलले घेरा हालिन्छ। त्यसपछि पूजा गरिन्छ।

म्हः पूजामा प्रयोग हुने चिजबीजले मानिसको शरीर पञ्चतत्व मिश्रित हुन्छ भन्ने सन्देश पाइने धौभडेल बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved