कुकुरको पुच्छर समाएर…

आनुवंशिक अनुसन्धानले भन्छ, कुकुरको घरेलुकरण हिमालको दक्षिणी फेदमा भएको हो। खस पनि त्यतैबाट फैलिएका हुन्। सम्भवतः त्यही साइनो कुकुर तिहारसम्म आइपुगेको हो।

कुकुरको पुच्छर समाएर…

आज कुकुर तिहार। घरमा रहने, टोलमा रहने वा बाटोमा लुखुरलुखुर हिँड्ने यो मांसाहारी जनावरको पूजा गर्नुभयो त ?

हामीसँगै रहने। साथ दिने। सुरक्षा दिने। अनुसन्धानमा सहयोग गर्ने यो चौपाया बैगुनी कम गुनी बढी छ। यसले माया गर्छ। आफ्नो र अरू चिन्छ। नजिकै गए पुच्छर हल्लाएर आफ्नोपन जनाउँछ। र त यो हाम्रो संस्कृतिमा अटाउँछ, पूजादेखि फिल्मसम्म।

नझुक्किनुस् यो लेखोट कुकुरको महिमागान होइन न त हो निबन्ध नै। कुकुरको पूजा कसरी हाम्रो भयो भन्ने खुलदुली मेटाउने प्रयास मात्र।

त्यसो त खस जातिमा कुकुर पूजा सभ्यताको शुरुसँगै हो। खसहरूका राजामध्ये एक हुन्, जुम्लाका बलिराज। उनी थिए, मुगुको कालैगाउँका सामन्त। त्यसैले उनले स्थापना गरेको राजवंशलाई ‘कल्याल’ भनिन्थ्यो।(अधिकारी, २०६१, पृ. ८२)

वि. सं. १४५५ मा जुम्लाका राजा भइसकेका बलिराजका आस्थाका प्रतीकमध्ये एक थियो, कुकुर। भाषाशास्त्री बालकृष्ण पोखरेलका अनुसार कल्यालहरू दास बनाइएका गोल (कत्युरी) नरेशका वंशज थिए। पोखरेल लेख्छन्– ‘ती गोलहरूको कार्त्तिकेय उपासनामा कुकुरको ठूलो महत्त्व थियो। नेपाली सुन्दास थरका दमाईहरू तिनै दासीकृत गोल (कत्युरी) नरेशका वंशज प्रतीत हुन्छन्। पछि कल्याल नाम धारण गरी एक सशक्त राज्यको स्थापना गरिसकेपछि पनि बलिराजलाई आफ्नो श्रद्धेय कुक्कुरदेवप्रति असीम श्रद्धा थियो। यसैले उसले तिहारमा कुक्कुरलाई समेत पुज्ने चलन चलायो। कल्याल र गेलालहरूका पूर्वजले बरु कात्तिके गालीलाई सहन गरे तर कात्तिके (कुकुर)को पूजा त्यागेनन्।’ (पोखरेल, २०७५, पृ. ५७०)

तर यी कल्यालहरू खासमा को थिए त ? पोखरेलका अनुसार उनीहरू नेपाली खस जातिमा मिसिन आउने केदा (कुलिन्द) शाखाका हुन्। पोखरेल लेख्छन्–

‘यो केदारगिरि अर्थात् कार्तिकेय गिरिका कुतिक ‘गुती’ बाट फाटेको हाँगो हो। यो इरानकाहरूको सग (शक) र भारतवर्षकाहरूको तथाकथित कुक्कुर (कात्तिके अथवा काठो) हो।’ (पोखरेल, २०७५, पृ. ६९७)

पोखरेल अर्को ठाउँमा लेख्छन्–

‘कल्यालहरू भोटे नभए पनि निकै लामो समयदेखि भोटमा रही भोटे झैं भएका काशी प्रतीत हुन्छन्। ती हूणदेख (गढवालउत्तरको हिमाल)मा रहेका हेफताल (कतोरमाण) का वंशज हुन सक्छन्, जो केदार, कूर्माचल, जावेश्वरभूमि र मल्लभूमिमा अवहेलित भएकाले सम्मानको खोजीमा भोट गएका थिए।’ (पृ. ५६८)

कल्याल राजा बलिराजको जीवनी मानसरोवरसित सम्बन्धित भएको देखिएकाले तिनीहरू पुण्यमल्ल सिजापति भएपछि आफ्ना मालिकसँगै जावेश्वर देशमा आएछन् भन्ने छनक पाइन्छ। (पृ. ५६९)

कल्यालहरू जुम्लेश्वर (जुम्लाका शासक) हुनुपूर्व राजर्षि (बाहुन राजा) त के हिन्दू पनि थिए–थिएनन्, शङ्का लाग्छ। ती मानसरोवरमा छँदा अवश्य ‘ओम मणिपद्मे हूँ’का अनुयायी थिए। यो कुरो तिनका अभिलेखमा बुद्ध–धर्म–सङ्घलाई साक्षी राखिएको देख्दा र तिनका मालिक (गेलाल) का अभिलेखमा ‘ओम मणिपद्मे हूँ’ अङ्कित देख्दा चाल पाइन्छ।’ (पृ. ५७०)

यी उद्वरणबाट अनुमान गर्न सकिन्छ– बलिराजका पुर्खाहरू कुनै बेला अहिले भारतको उत्तराखण्डमा रहेको केदारनाथतिर बस्थे। त्यहाँ बस्न नसक्ने स्थिति आएपछि उनीहरू भाग्दै–भाग्दै अहिले चीनमा पर्ने मानसरोवरमा पुगे। त्यहाँका बुद्धमार्गीको संगतमा पुगेपछि उनीहरूकै धर्मको सिको गरे। फेरी यता कर्णालीतिर आइपुगे। यतै शासन गरे। साम्राज्य नै बनाए। यी खसहरू त्यहाँबाट पूर्वतिर फैलिँदै गए, चुरेको गल्छेडो नकाटी, भीरै–भीर, खोलाको तिरैतिर। दक्षिण त पछि गएका हुन्। उनीहरूको बसाइसराईंले देस बनायो– खस देस (यसलाई उच्चारण गर्दा सको खुट्टा नकाटी गर्नुहोस् है !)।

अमेरिकी मानवशास्त्री रिचर्ड बर्घटका अनुसार शासकले बुझ्ने देश र जनताले बुझ्ने देस फरक थिए।

शासकले बुझ्ने देश उसको आधिपत्यभित्रको धार्मिक स्वत्व थियो। जसको केन्द्रमा ईष्ट देव हुन्थे। जाति व्यवस्थाले यो सामाजिक स्वत्वको धार्मिक व्यवस्था कायम गथ्र्यो। देशको शुद्धता कायम गर्थ्यो। शुद्धतालाई शासनको वैधानिकताको रुपमा लिइन्थ्यो। (त्यसैले त गोर्खाली राजा पृथ्वीनारायण शाहले आफ्नो आधिपत्यलाई ‘असली हिन्दुस्ताना’ भनेका थिए।)

जनताले बुझ्ने देस भने साझापनले बाँधेको हुन्थ्यो। साझा भाषा बोल्ने, साझा कथा (ज्ञान) कहने र निश्चित परम्परागत अभ्यास गर्ने मानिसहरूको भौगोलिक काल्पनिकी जनताको देस थियो। बघर्टका अनुसार गोर्खाली आधिपत्य अन्तर्गत यस्ता देस ६ वटा थिएः

१. खस देस जसलाई पहार देस पनि भनिन्थ्यो (यो काल्पनिकीले कुमाउँदेखि नुवाकोटबीचको भूगोल समेट्थ्यो)।

२. भोट देस (यो काल्पनिकीले खस देसभन्दा उत्तरको भूगोल जनाउँथ्यो)।

३. नेपाल देस (अहिलेको काठमाडौं खाल्डो जहाँ नेपाल भाषा बोलिन्थ्यो)।

४. किराँत देस (नेपाल देसभन्दा पूर्वको भूगोल)।

५. बंगला देस र ६. मिथिला देस (दुवै खस देसभन्दा दक्षिणमा पर्थे)। (बर्घट, सन् १९८४)

खस देसमा खसहरूले बनाएका कथा, परम्परा प्रसार भयो। त्यसैमध्ये पर्छ, कुकुर पूजा पनि। खसहरूमा कुकुर कसरी महत्वपूर्ण थियो भन्ने त बालकृष्ण पोखरेलको उद्धरण लिइयो। तर यो महत्त्व ठ्याक्कै कसरी स्थापित भयो ? सम्पूर्ण निचोड आइसकेको छैन। खोजी हुँदै जाला।

एउटा अनुमान भने गर्न सकिन्छ, कुकुरको घरेलुकरणसम्बन्धी एउटा आनुवंशिक अनुसन्धानबाट।

सन् २०१५ मा अमेरिकाबाट प्रकाशित २७ जना अनुसन्धानकर्मीहरूको शोधपत्रले अहिलेको नेपाल र मंगोलियातिर कुकुरको घरेलुकरण शुरु भएको निचोड निकालेको छ। संसारका विभिन्न पाँच सय ४९ गाउँका पाँच हजार तीन सय ९२ वटा कुकुरबाट लिइएको आनुवंशिक तथ्यांकको आधारमा गरिएको अनुसन्धानले त्यो निचोड निकालेको हो। अर्थात् हिमालयको दक्षिणी फेदमा कुकुरको घरेलुकरण भएको हो, त्यस्तै १५ हजार वर्ष पहिला। घोडाभन्दा पनि पहिला। मानिसले घरेलुकरण गरेको पहिलो जन्तु नै कुकुर हो।

खस पनि त्यतैका हुन्। हुनसक्छ त्यसरी कुकुरको घरेलुकरण गर्नेमध्ये उनै खसहरू थिए। तिनले आफ्नो पुरानो साथीलाई सधैँ सम्मान गरिरहे। त्यो सम्मान र प्रेम तिहारको कुकुरसम्म आइपुग्यो। आखिर तिहारसँग बलिराज पनि त जोडिन्छन्। तिनको कथा भन्नै बाँकी छ।

तर कुकुर पूजा खस र नेपालीको मात्रै होइन भन्छन् सौरभ। कुकुरको घरेलुकरणसम्बन्धी आनुवंशिक अध्ययनलाई पनि एउटा आधार बनाएर ‘ओरिजिन अफ् द ल्यांगेवजेज्, बियोन्ड पेलियोलिथिक’ लेखेका सौरभको तर्क छ, “कुकुरलाई कुनै न कुनै रुपमा फिलिपिन्स, थाइल्याण्ड र जापानसम्मै पूजा गरिन्छ।”

सन्दर्भ सूचीः

अधिकारी, प्रा. डा. सूर्यमणि। विं. सं. २०६१। खश साम्राज्यको इतिहास। काठमाडौंः भुँडीपुराण प्रकाशन।

पोखेरल, प्रा. बालकृष्ण। वि. सं. २०७५ (पहिलो २०५६)। खस जातिको इतिहास। काठमाडौंः फिनिक्स बुक्स।

Burghart, Richard. 1984. The Formation of the Concept of Nation-State in Nepal. Journal of Asian Studies, Vol. XLIV, No. 1

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved