ढोकानेरैको स्वास्थ्य क्लिनिकबारे अन्जान छन् महानगरबासी

सरकारले प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीति बमोजिम शहरी स्वास्थ्य क्लिनिक स्थापना गरे पनि धेरै स्थानीयलाई त्यसबारे जानकारी नै छैन।

ढोकानेरैको स्वास्थ्य क्लिनिकबारे अन्जान छन् महानगरबासी

काठमाडौं। वर्षौं भयो काठमाडौं वडा नम्बर ५ हाडीगाउँमा बस्न थालेको तर बसन्त थपलियालाई छेउमै रहेको शहरी स्वास्थ्य क्लिनिकबारे थाहा छैन।

“यहाँ अगाडि वडा कार्यालय त थाहा छ। तर स्वास्थ्य क्लिनिक पनि छ भन्ने अहिलेसम्म थाहा नै छैन”, ५० वर्षीय थपलिया भन्छन्।

उनीमात्र होइन त्यहाँ रहेको स्वास्थ्य क्लिनिक छेउमै वर्षौंदेखि किराना पसल चलाइरहेकी दिपा महर्जनले पनि आफूलाई स्वास्थ्य क्लिनिकबारे केही थाहा नभएको प्रतिक्रिया दिइन्।

“बेला बेलामा खोप लगाउने, कोरोना जाँच गर्ने र कहिलेकाहीँ महिलाहरुले बालबालिका लिएर आएको त देखेको छु”, उनले भनिन्, “तर वडाले नै यी काम गरिरहेको भन्ने ठानेको थिएँ।”

त्यस्तै, हाडिगाँउ मै बसोबास गर्ने मुनाले भने निःशुल्क उपचार सेवा दिन्छ भनेर थाहा हुँदाहुँदै पनि त्यो सेवा उपभोग नगरी बिरामी हुने बित्तिकै अस्पताल जाने गरेको बताइन्।

सोही ठाउँका चंक महर्जन भने शहरी स्वास्थ्य क्लिनिकबारे जानकार रहेछन्। “मैले सात वर्षदेखि यहाँ प्रेसर नापिरहेको छु र औषधि पनि निःशुल्क खाइरहेकोले मलाई त सरकारको यो सेवा निकै राम्रो लाग्यो”, उनी सुनाउँछन्।

यो अवस्था हाडीगाउँको मात्रै होइन। वीर अस्पतालबाट नजिकै रहेको काठमाडौं महानगरपालिका वडा नम्बर २२ को संकटामा रहेको शहरी स्वास्थ्य क्लिनिकबारे पनि धेरैलाई थाहा छैन।

संकटा मन्दिर छेउमा फूल बेच्दै आइरहेकी जमुना चित्रकारले आफ्नो छेउमै क्लिनिक छ भन्ने थाहा नभएको बताइन्। सोही ठाउँमै नास्ता पसल गर्दै आइरहेकी पार्वती भने शहरी क्लिनिकबारे थाहा भए पनि सेवा लिन नगएको बताइन्।

उनी भन्छिन्, “त्यहाँ गएको पनि छैन्। खासै चासो नभएकाले होला के के सेवा पाइन्छ भनेर थाहा छैन। सन्चो भएन भने अस्पताल नै गइन्छ। त्यसैले पनि यसबारे कुनै थाहा नै छैन।”

काठमाडौं महानगरपालिकाकै वडा नम्बर ३२ मा रहेको कोटेश्वर सामुदायिक शहरी स्वास्थ्य क्लिनिकमा भने सेवा लिन जानेहरुको चहलपहल देखिन्छ।

क्लिनिककै छेउमा तीन वर्षदेखि चटपट बेच्दै आइरहेकी काभ्रेकी सरीता लामा भन्छिन्, “कहिलेकाहीँ बिरामी हुँदा वडाबाट सित्तैमा औषधिहरु लिने गर्छु। अरु त केही थाहा छैन।”

सोही ठाउँकी ७० वर्षीया शान्ति सुवारले पनि क्लिनिकबाट औषधि लिइरहेको बताइन्। पहिले–पहिले उच्च रक्तचापको औषधि यहीँबाट लिने गरे पनि दुई महीनादेखि भने क्लिनिकमा औषधि नभएकाले नपाएको गुनासो सुनाइन् उनले।

त्यस्तै, क्लिनिकको छेउमै किराना पसल गर्दै आइरहेकी तारादेवीले हल्का ज्वरो, रुघाखोकी लाग्दा क्लिनिक जाने गरेको तर अरु बेला भने अन्य अस्पताल नै गइरहेको बताइन्।

यी दृश्यले बताउँछन् बासस्थानको आसपास रहेको शहरी स्वास्थ्य क्लिनिकबारे स्थानीय बेखबर छन्। थाहा पाएकाले पनि महत्त्व दिइरहेका छैनन्। किन त ?

पहिला शहरी क्लिनिक किन स्थापना गरिए भन्नेबाट शुरु गरौं।

किन शहरी स्वास्थ्य क्लिनिक ?

नेपाल सरकारले प्राथमिक उपचार सेवा लिन कोही पनि व्यक्तिलाई आधा घण्टाभन्दा बढी हिँड्न नपरोस् भनेर प्रत्येक स्थानीय तहका हरेक वडाहरुमा स्वास्थ्य केन्द्रहरु स्थापना गर्ने नीति लिएको छ। सोही नीतिअनुसार ग्रामीण भेगमा सामुदायिक स्वास्थ्य इकाइ र शहरी क्षेत्रमा शहरी स्वास्थ्य क्लिनिक स्थापना गरिएको छ।

ती क्लिनिकमा खोप, क्षयरोगको औषधि, गर्भजाँच, सुगर, प्रेसरको दबाइ, मिर्गौलामा कुनै रोग छ भनेर गरिने पिसाब जाँच, चोटपटकमा मलम पट्टि लगाउन, पाँच वर्ष मुनिका बालबालिका लागि चाहिने केही उपचार र नेपाल सरकारले तोकेअनुसार ७० प्रकारका औषधि लगायत २० देखि २५ प्रकारका उपचार सेवाहरु निःशुल्क उपलब्ध छन्।

“सरकारले हरेक वडाहरुमा प्राथामिक उपचार सेवा पु¥याउने लक्ष्य राखेको छ जस अन्तर्गत ती सेवा उपलब्ध गराइएको छ”, स्वास्थ्य सेवा विभाग अन्तर्गतको ‘उपचारात्मक सेवा महाशाखा’का जनस्वास्थ्य निरिक्षक कमलेशकुमार मिश्र भन्छन्।

सरकारले उपचार सेवा उपलब्ध गराउनभन्दा पनि प्राथमिक सेवा दिन यस्ता क्लिनिक स्थापना गरेको उनी बताउँछन्। “कोटेश्वरमा बस्ने कसैलाई परिवार नियोजनको सेवा लिन प¥यो भने प्रसूति अस्पतालसम्म जान नपरोस् भनेर यस्ता क्लिनिक स्थापना गरिएको हो”, मिश्र भन्छन्।

अपुरो अपेक्षा

त्यसो त शहरी क्लिनिकबारे जानकार नागरिक पनि त्यसले उपलब्ध गराउने सेवाप्रति सन्तुष्ट छैनन्। संकटास्थित क्लिनिकबाट सेवा लिइरहेका स्थानीय पूर्ण बस्नेत विशेषज्ञबाट जाँच गराउन नपाएको गुनासो गर्छन्।

भन्छन्, “महानगरपालिकाले स्वाथ्य सेवा दिने नै हो भने अलि राम्रो तरिकाले दिएको भए राम्रो हुन्थ्यो होला। विशेषज्ञद्वारा स्वाथ्य जाँच गर्न पाए अस्पताल जाने झन्झट कम हुन्थ्यो होला। प्राथमिक उपचारका सेवाहरु पनि अलि बढाउन सके राम्रो हुन्थ्यो।”

शहरी क्लिनिकले अपेक्षा अनुसारको सेवा दिन नसक्नुमा जनशक्ति अभाव रहेको बताउँछन् त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरु। हाडीगाउँको सामुदायिक शहरी क्लिनिकमा आफू र कार्यालय सहयोगीमात्र भएकाले अपेक्षा अनुरुपको सेवा दिन नसकिएको त्यहाँकी इन्चार्ज (सिनियर अनमी) एलिना मास्के बताउँछिन्।

“प्राथमिक उपचार सेवा त राम्रैसँग प्रवाह गरिरहेको छु”, उनी भन्छिन्, “एक जना कार्यालय सहयोगी र म एक्लैले सम्पूर्ण सेवा दिने कोशिस गरिरहेको छु। तर महानगरपालिकाले अरु कर्मचारी पनि थप गरिदिने र भवनको व्यवस्था हुनसके गुणस्तर सेवा दिन सकिन्थ्यो। सानो कुचुक्क परेको एउटा कोठालाई कसरी क्लिनिकका रुपमा मान्ने ? गर्भवतिलाई सुताएर जाँच गर्ने ठाउँ पनि छैन। कुर्सीमै बसाल्नु पर्ने बाध्यता छ, त्यसमाथि गोप्यता पनि छैन।”

कोटेश्वरस्थित शहरी क्लिनिकमा २०५४ सालदेखि कार्यरत जनस्वाथ्य अधिकृत (क्लिनिकल इन्चार्ज) मैया सैंजु भन्छिन्, ‘‘क्लिनिकमा सेवा लिन आउनेको संख्या धेरै छ। अनमी, अहेब र म गरी तीन जनाले सेवा प्रदान गरिहेका छौं। क्लिनिकमा निकै फोहोर भइरहन्छ तर कार्यालय सहयोगी छैनन्। सामान्य फोहोर त हामी आफैँ पनि सफा गर्छांै तर बिरामीले गरेका सबै फोहोरहरु सफा गर्नुपर्दा निकै मर्कामा परेका छौं।”

काठमाडौं महानगरपालिकाले सबै वडाहरुमा राम्रोसँग अनुगमन गरेर आवश्यकताअनुसार कर्मचारी परिचालन गर्नुपर्नेमा उनले जोड दिइन्। महानगरपालिकाले प्रायः क्लिनिकहरुमा कार्यालय सहयोगी नराखेको उनले गुनासो गरिन्।

जनस्वास्थ्य निरीक्षक मिश्र पनि काठमाडौंमा शहरी क्लिनिकले सरकारले तोके अनुसारका सम्पूर्ण आधारभूत स्वास्थ्यका सेवा नदिएको स्वीकार गर्छन्। “तर विशेषगरी बालबालिकालाई लगाइने खोप र परिवार नियोजनको सम्पूर्ण सेवालाई शहरी स्वाथ्य क्लिनिकले नै समेटको छ”, उनको तर्क छ।

जनचेतनाको कमी

काठमाडौं महानगरपालिकाका शहरी क्लिनिकका अधिकांश सेवाग्राही स्थानीय होइनन्।

“यहाँ स्थानीय बासिन्दाभन्दा पनि बाहिरबाट आएर कोठामा बस्नेहरु नै सेवा लिन आउँछन्। कोठामा बस्नेलाई दैनिकी चलाउन नै गाह्रो परिहेको बेला औषधि उपचार गर्नुप¥यो भने अझै पनि भार पर्ने भएकाले खोजीखोजी स्वास्थ्य सेवा लिन आउने गरेका छन्। एकले अर्कोलाई निःशुल्क उपचार पाइने रै’छ भनेर खबर मार्फत् आउनेको संख्या पनि उत्तिकै छ”, हाडीगाउँको शहरी क्लिनिककी इन्चार्ज एलिना मास्के भन्छिन्।

शहरी स्वास्थ्य क्लिनिकबारे जनचेतना नहुँदा यसको सेवा प्रभावकारी हुन नसकेको जनस्वास्थ्य निरिक्षक कमलेशकुमार मिश्रको तर्क छ।

“यसलाई प्रभावकारी बनाउने जिम्मेवारी सम्बन्धित शहरी स्वास्थ्य क्लिनिकको हो। र वडाहरुले यो ठाउँमा यो सुविधा पाइन्छ भनेर नागरिक वडापत्र राखेर जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको छ”, उनी भन्छन्।

कति क्लिनिक छन् काठमाडौं महानगरपालिकामा ?

काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा ३५ वटा शहरी क्लिनिक रहेका छन्। ३५ वटा क्लिनिकबाट नेपाल सरकारले तोकेका आधारभूत स्वास्थ्यका सेवा दिइरहेको काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले बताए।

“महानगरपालिकाले आधारभुत स्वास्थ्यका विषयमा निःशुल्क परिवार नियोजन, खोप, उच्च रक्तचाप नाप्ने, गर्भजाँच, सुत्केरी सेवा, मिर्गौलामा समस्या छ वा छैन भनेर पिसाब जाँच सेवा लगायत नेपाल सरकारले तोकेका सबै सेवाहरु निःशुल्क सञ्चालन गरिएको हो”, उनले भने।

त्यस्तै, फरक फरक वडाहरु गरेर ७० प्रकारको औषधिहरु पनि निःशुल्क दिरहेको उनले जानकारी दिए। केही क्षेत्रमा भने २०५२ सालदेखि नै स्वास्थ्य सेवा क्लिनिक संचालनमा ल्याइएको उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved