बेइजिङ डायरी

यसरी जित्यो चीनले कोरोना

कोरोना महामारीबाट संक्रमितको संख्या र मृत्यु हुनेको संख्या सबैभन्दा कम हुने मुलुकमा चीन अग्रस्थानमा छ। एक अर्ब ४० करोड विशाल जनसंख्या र विशाल भूगोलमा आखिर चीनले कसरी गर्न सक्यो कोरोना नियन्त्रण?थुप्रै नेपाली शुभचिन्तकले बारम्बार गर्ने प्रश्न हो यो।

यसरी जित्यो चीनले कोरोना

कोरोना महामारीले विश्वलाई आतंकित बनाएको दुई वर्ष पुग्न लागेको छ। विश्व अर्थतन्त्रलाई हायलकायल बनाइरहेको कोरोना महामारीलाई सबैभन्दा पहिले प्रभावकारी रुपमा चीनले नियन्त्रण गरेको हो।

सन् २०२० को शुरुमा चीनको वुहानमा कोरोना महामारी देखिएपछि विश्वजगत यो त चिनियाँलाई मात्र लाग्ने रोग हो भन्दै रमिता हेरिरहेको थियो। वुहान शहरमा ७६ दिनसम्म भएको बन्दाबन्दीपछि चीनले कोरोना नियन्त्रण गरेर खुकुलो बनाउने निर्णय गर्दा विश्वका अन्य भागमा बन्दाबन्दी शुरु हुन थाल्यो।

कोरोना महामारीबाट संक्रमितको संख्या र मृत्यु हुनेको संख्या सबैभन्दा कम हुने मुलुकमा चीन अग्रस्थानमा छ। एक अर्ब ४० करोड विशाल जनसंख्या र विशाल भूगोलमा आखिर चीनले कसरी गर्न सक्यो कोरोना नियन्त्रण?थुप्रै नेपाली शुभचिन्तकले बारम्बार गर्ने प्रश्न हो यो।

चीनले कोरोना नियन्त्रणमा गरेको विधि र प्रणालीको व्याख्या गर्नुभन्दा केही दिन अगाडि आफैंले भोगेको एउटा घटनालाई यहाँ सबिस्तार राख्ने अनुमति चाहन्छु।

म कार्यरत चिनियाँ मिडिया समूहले अक्टोबर १९ देखि २६ तारिखसम्मका लागि छिङ्हाई प्रान्तको अवलोकन गर्ने कार्यक्रममा मलाई पनि सहभागी गराएको थियो। छिङ्हाई पुगेर त्यहाँको कला संस्कृतिको अध्ययन अवलोकन गर्दै थाङ्का चित्रकलाले गरिबी निवारणमा पुर्‍याएको योगदानको डकुमेन्ट्री बनाउने योजना थियो।

बेइजिङबाट बाहिर जानुपर्ने भएकाले अक्टोबर १८ तारिख सोमबार बिहान पीसीआर परीक्षण गराउनु पर्ने भयो। मैले बसोबास नजिकैको अस्पतालमा गएर १८ तारिख बिहान परीक्षण गराएँ। त्यही दिन राति ९ बजेतिर मेरो मोबाइलमा परीक्षणको नजिता नेगेटिभ रहेको जानकारी आयो।

चिनियाँहरु सबै कुरा मोबाइलमा भर पर्छन्। चिनियाँले कुराकानीका लागि मात्र नभएर किनमेल र आर्थिक कारोबार सबै काम मोबाइलबाटै गर्दछन्। यस्तो अवस्थामा कोभिड महामारीले मोबाइल फोनलाई अपरिहार्य र अनिवार्य जस्तै बनाएको छ।

कोरोना महामारी देखिएपछि साथमा मोबाइल छैन भने न कुनै सुपर मार्केट पस्न पाइन्छ न कुनै कार्यालयमा छिर्न। त्यस्ता ठाउँमा प्रवेश गर्नुपूर्व त्यहाँ राखिएको क्युआर कोडलाई मोबाइलले स्क्यान गर्नुपर्छ। स्क्यान गरेपछि काम सकिने होइन मोबाइलमा आउने नतिजा देखाउनुपर्छ।

कोभिड नभएको अथवा संक्रमित क्षेत्रमा नगएको व्यक्तिको मोबाइलमा ग्रिनकोड आउँछ। यदि संक्रमित क्षेत्रमा गएको अथवा संक्रमितको भौतिक सम्पर्कमा रहेको भए मोबाइलले ग्रिनकोड नदिएर रातो अथवा पहेँलो कोड दिने गर्छ।

कोभिड विरुद्धको खोप हानेको भए खोप हानेको मिति, कम्पनीको नाम सबै जानकारी पनि मोबाइलमै आउँछ। त्यसैगरी पीसीआर परीक्षण गराएको मिति र नतिजा पनि मोबाइलमा आउँछ।

प्रविधिको विकासले ढाँट्ने अथवा छल गर्ने कुरा सम्भव छैन। अर्काको मोबाइल बोकेर गएर पनि हुन्न। किनभने मोबाइलमा आउने कोडमा फोटो सहितको विवरण पनि उल्लेख हुने गर्छ।

सबै कुरा मोबाइलमा आउने भएपछि आफूले पीसीआर परीक्षण गराएको र नजिता पनि नेगेटिभ छ भनेर कागज बोकिरहनु पर्दैन। १८ तारिख बेलुका मोबाइलमा आएको परीक्षणको नेगेटिभ नतिजाले मलाई छिङ्हाई उड्ने कुरामा ढुक्क बनायो।

अक्टोबर १९ तारिख मंगलबार बिहानै बेइजिङको तासिङ विमानस्थलबाट छिङहाई सिनिङ उडियो। अपरान्ह साढे २ बजे सिनिङस्थित छावोच्याफू विमानस्थल पुग्दा सिमसिम पानी परिरहेको थियो। बेइजिङभन्दा निकै चिसो छिङ्हाई त्यसमाथि सिमसिम पानीले विमानबाट निस्कनासाथ ठगठग काम छुटिहाल्यो। विमानस्थलबाट लगेज लिएर बाहिर निस्कँदा २ वटा ल्याण्ड क्रुजर कारले हामीलाई कुरिरहेका थिए।

चिनियाँ मिडिया ग्रुप सीएमजी नेपाली सेवामा कार्यरत सहकर्मीद्वय लालिमा र मुनासँगै डकुमेन्ट्री विभागबाट छायाङ्कनका लागि तीनजना चिनियाँ साथीहरु हाम्रो साथमा थिए। त्यसो त लालिमा र मुना पनि चिनियाँ नै हुन् तर उनीहरुको नाम र कामले नेपाली जस्तै लाग्छन्। कार्यालयमा सधैँ नेपाली भाषामा काम र कुराकानी गर्नुपर्दा उनीहरु चिनियाँ हुन् भन्ने कुरा बिर्सिइन्छ कहिलेकाहीँ।

एउटा ल्याण्ड क्रुजरमा नेपाली सेवामा काम गर्ने लालिमा र मुनासँग मेरो सवारी भयो भने अर्कोमा डकुमेन्ट्री विभागमा कार्यरत तीनजना चिनियाँ। हाम्रो गन्तव्य थियो सिनिङ शहरबाट दक्षिणपट्टि १८४ किलोमिटरको दूरीमा रहेको होङनान तिब्बती स्वायत्त प्रिफेक्चर। एक्स्प्रेस मार्गबाट नभई शाखा मार्गबाट हाम्रो सवारी भयो। फुसफुस हिँउ परिरहेकाले ठाउँ ठाउँमा कार रोकेर ड्रोनबाट भिडियो छायाङ्कन गर्दै पहेँलो नदीको किनारै किनार हामी दक्षिण लागिरह्यौँ।

होङनानको टोङरन काउन्टीमा पुग्दा साँझ परेको थियो। झण्डै चार घण्टाको यात्रापछि सात बजेतिर पुगेका थियौँ टोङरनमा। पहिले खाना खाने अनि होटलमा चेक इन गर्ने भनेर हामी एउटा रेष्टुरेन्टमा पस्यौँ।

खाना खान थालेपछि सहकर्मी लालिमाजी फोनमा निकै व्यस्त भइन्। हामी सबैलाई भोक लागेको थियो। केही समय अगाडि उनी पनि भोक लाग्यो भन्दै थिइन्। भोकाएको व्यक्ति खान छोडेर फोनमा व्यस्त भएको देखेपछि मलाई दया र झिँझो दुवै लाग्यो। उनी चिनियाँ भाषामा पटट बोलिरहेकी थिइन्। उनको अनुहारमा तनाव झल्कन्थ्यो।

म चिनियाँ भाषा खासै बुझ्दिन, त्यसमाथि तनावपूर्ण रुपमा निकै तीव्र गतिमा उनी बोलिरहेकी थिइन्। र म उनको अनुहारतिर हेरिरहेको थिएँ। मेरो छेउमा बसेकी मुनाले भनिन् ‘हामी चढेको कारको ड्राइभर केही दिन अगाडि कान्सु प्रान्त गएका रहेछन्। उनी गएको ठाउँमा एक व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि अहिले समस्या भयो।’

मुनाले भनेअनुसार ड्राइभरले संक्रमितलाई भेटेका अथवा कारमा चढाएका होइनन्। ड्राइभरलाई संक्रमण भएको पनि होइन तर संक्रमित क्षेत्रमा पुगेकाले उनलाई केही समय निगरानीमा राख्नुपर्ने सूचना आएको रहेछ। ती ड्राइभरका कारण हामी पनि निरानीमा परेका रहेछौँ। अब के गर्ने भनेर छलफल हुँदै रहेछ।

खाना खाएपछि हामी होटलमा चेक इन भयौँ। एकैछिनमा लालिमाले भनिन्, ‘‘हामीले भोलि बिहानै अस्पताल गएर पीसीआर परीक्षण गराउनु पर्ने भयो। अस्पतालबाट हामी होटलमै फर्कन्छौँ। बिहानको खाजा, दिउँसोको खाना र रातिको खाना ढोका अगाडि ल्याएर होटलले राखिदिन्छ। बाहिर निस्कन पाइन्न रे।’’

बेइजिङमा अघिल्लो दिन मात्र पीसीआर परीक्षण गरेर आएका हामी। दुई दिनपछि फेरि परीक्षण गर्नुपर्ने अनि क्वारेन्टिनमा बस्नुपर्ने!

काममा आएका हामी पहिलो दिनमै दिक्क हुँदै होटलमा बस्यौँ। भोलिपल्ट अक्टोबर २० तारिख बुधबार बिहान ढोकामा आएको ब्रेकफास्ट खाएर हामी होङनान प्रिफेक्चर जनअस्पतालमा गयौँ र परीक्षण गरायौँ। तुरुन्तै होटलमा फर्किएर आआफ्नो कोठामा थन्कियौँ।

बेलुका नतिजा मोबाइलमा आयो। सबैको नेगेटिभ आएपछि म ढुक्क भएँ। २१ तारिख बिहीबार त बिहानैदेखि काममा लाग्न पाइएला भन्ने सोचाइ पनि भंग भयो। कारण स्थानीय सरकारले हाम्रो ड्राइभरलाई अझै निगरानीमा राख्दै ड्राइभर परिवर्तन गर्नुपर्ने आदेश दिएछ। दुईवटै कार सिनिङको एक ट्राभल्स एजेन्सीबाट चिनियाँ मिडिया ग्रुपले लिएको थियो। अब नयाँ ड्राइभर पनि १८४ किलोमिटर टाढाको त्यही एजेन्सीले पठाउने भयो। ड्राइभर आइपुग्दा २१ तारिख मध्य दिन भइसकेको थियो।

बल्ल २१ तारिखको दिउँसोको खानापछि हामी काममा लाग्यौँ। स्थानीय संस्कृतिको अध्ययन अवलोकन गर्नका लागि टोङरन ग्रामीण क्षेत्रमा रहेको छ रोङ्वो गुम्बातिर लागियो। तिब्बती र चिनियाँ उच्चारणअनुसार यो गुम्बालाई लोङऊ गुम्बा पनि भनिने रहेछ। सन् १३०१ मा निर्मित यो गुम्बामा वरिपरी रञ्जना लिपि रहेछन्। नेपाली शैलीका स्तुपा र कलाकृति देख्दा पनि नेपाली संस्कृतिको झल्को आयो।

२२ तारिख बिहानै लालिमाजीले मेरो ढोका ढकढक्याइन्। यसो ढोका खोलेको उनले हतारिँदै भनिन्, ”चाँडो चाँडो ब्रेकफास्ट गरेर पीसीआर परीक्षण गराउन जानुपर्ने भयो। चाँडै तयार हुनुहोस्।”

लौ दुई दिन अघि मात्र गरिएको थियो परीक्षण। त्यसको दुई दिन अगाडि बेइजिङमा पनि गरेकै थियो। फेरि किन?

”बेइजिङमा पनि संक्रमित देखियो रे। त्यही भएर सचेत हुँदै बेइजिङदेखि नै निर्देशन छ पीसीआर परीक्षण गर्नू भन्ने” निकै हतारिएर उनले जवाफ दिइन्।

बिहानको खाजा खाएर हामी उही अस्पताल पुग्यौँ। यसपटक परीक्षण गराउनेको लामो लाइन थियो। त्यही बेला मैले थाहा पाएँ छिङ्हाई प्रान्तमा पनि एकजना संक्रमित भेटिएछन् तर हामी बसेकोभन्दा निकै टाढाको अर्कै प्रिफेक्चरमा।

पीसीआरको लाइन बस्दा बस्दै डेढघण्टा लाग्यो। त्यो बीचमा लालिमाजी फोनमै घरीघरी कुरा गरिरहेकी थिइन्। परीक्षण गराएपछि भनिन्, ”हामी भोलि नै बेइजिङ फर्कदैछौँ। बेइजिङमा पनि संक्रमितहरु भेटिन थाले रे। अब ढिला गरियो भने उडान रोकिन सक्छ। त्यही भएर चाँडै फर्कनु पर्ने भएकाले अफिसले २६ तारिखको टिकटलाई २३ तारिखमा सारेको छ।”

बेइजिङमा धमाधम कोरोना संक्रमित भेटिए रे भन्ने लालिमाको भनाइले मलाई पनि झस्कायो। मैले तुरुन्तै मोबाइल झिकेर समाचार र सूचनाहरु हेरेँ। बेइजिङको छाङपिन र फङथाई दुई जिल्लामा गरी ५/६ जना संक्रमित भेटिएका रहेछन्। अनि सम्झिएँ काठमाडौंलाई। परीक्षण गराउनेहरु आधाभन्दा बढीमा कोरोना संक्रमणको पुष्टि। नगराउनेमा त झन् कति कति। संक्रमित भएको पत्तो पाउनेहरु पनि खुलेआम घुमिरहेका छन् मानिसहरुको भीडमा।

छिङ्हाई भ्रमणको मुख्य उद्देश्य गरिबी निवारणमा थाङ्का चित्रकलाको भूमिकाको अवलोकन गर्नु थियो। थाङ्का चित्रकला नेपालबाट चीनमा आएकाले यसमा मेरो विशेष चासो थियो नै। त्यहाँको अनुभव नेपालका लागि पनि पक्कै काम लाग्ला भन्ने मेरो सोचाइ थियो।

हाम्रो उद्देश्यअनुसार थाङ्का कोर्ने गाउँमा गएर प्रत्यक्ष हेर्ने र केही अन्तर्वार्ता लिने कार्यतालिका स्थानीय सरकारले मिलाएको थियो। तर छिङ्हाई प्रान्तमा एकजनामा देखिएको संक्रमणले उक्त कार्यक्रम पनि स्थगित भएको सूचना आयो। तै साथीहरुले एकजना थाङ्का गुरु ५८ वर्षीय कङ तङ ता चीको घरमा जाने चाँजोपाँजो मिलाए। उनको घरमा गएर झण्डै तीन घण्टाको डकुमेन्ट्री खिच्ने र अन्तर्वार्ता लिने काम चाहिँ सम्पन्न भयो।

अक्टोबर २२ तारिख शुक्रबार बेलुका साढे ६ मा अस्पतालमा पीसीआर रिपोर्ट लिन गइयो। मेरो रिपोर्टमा आचार्यको हिज्जेमा त्रुटी देखियो। Acharya हुनुपर्नेमा Achrya मात्र भएको रहेछ। भोलिपल्ट सिनिङबाट बेइजिङ उड्नुपर्ने। हिज्जेमा गल्ती भएपछि मोबाइलमा ग्रिनकोड पनि देखिएन। यस्ता त्रुटीले सिनिङबाट बेइजिङ उडान भर्न नदिने सम्भावना थियो। यदि उडिहाले पनि बेइजिङको विमानस्थलबाट फेरि सिनिङमै फर्काउने सम्भावना पनि उत्तिकै थियो।

अस्पताले नाम बिगारेकाले हामीले सच्याउन अथवा तुरुन्तै अर्को परीक्षण हुनुपर्ने अड्डी कस्यौँ। अर्को परीक्षणको नतिजा भोलिपल्ट आठ बजे अगाडि आउनुपर्ने पनि शर्त थियो। किनभने हामी साढे आठमा त्यहाँबाट प्रस्थान गर्दै थियौँ। अस्पताल पनि हाम्रो समस्यामा गम्भीर बन्यो। हिज्जे सच्याउनका लागि सफ्टवेयरमै प्रवेश गर्नुपर्ने र त्यसका लागि प्राधिकार सम्पन्न निकाय चाहिने रहेछ। हाम्रै कामका लागि अस्पतालले माथिल्ला निकायमा फोन गर्दागर्दै डेढघण्टा बित्यो। बल्ल सच्चिएर आयो र हामी अस्पतालबाट निस्कियौँ।

अक्टोबर २३ तारिख शनिबार बिहानको खाजा खाएर साढे आठमा हामी सिनिङतिर हुँइकियौँ। विमानस्थलमा बसोबास गरेको बेइजिङ क्षेत्रको मेरो स्वास्थ्य अवस्था, छिङहाईमा मेरो स्वास्थ्य अवस्था र मैले गरेको यात्रा क्षेत्रको स्वास्थ्य अवस्था देखाउने तीनवटा ग्रिनकोड देखाएपछि सहजै रुपमा उड्न पाइयो।

बेइजिङ फर्किएपछि फेरि पीसीआर परीक्षण गर्ने र नतिजा नआउन्जेल कतै नजाने निर्देशनअनुसार एकदिन घरबाटै काम गरेँ। पीसीआर नतिजा नेगेटिभ आएपछि बल्ल सामान्य अवस्थामा काममा फर्किएको छु।

यो विवरण सविस्तार वर्णन गर्नुको अर्थ हो चीनले कोरोना महामारीलाई गरेको नियन्त्रण विधिको व्याख्या। एउटा प्रान्तमा एकजना संक्रमित हुँदा चीनले अपनाउने सावधानी यति गम्भीर छ। हरेक पटक पीसीआर परीक्षण।

कुनै क्षेत्रमा संक्रमण देखिएमा त्यो क्षेत्रलाई सिल्ड गरेर निगरानी राख्दै संक्रमितको उपचार विधि, संक्रमण क्षेत्रमा प्रवेश गरेका हरेक व्यक्तिको कडाइका साथ अनुगमन, मोबाइल ट्र्याकिङमार्फत कुन व्यक्तिले कहाँ यात्रा गरेको छ सोको अध्यावधिक जानकारी, सबै ठाउँमा डिजिटल प्रविधिको सहयोग, सरकारदेखि नागरिकसम्ममा अनुशासन र जिम्मेवारी बोध। जहाँ गएपनि मास्क अनिवार्य।

अब थाहा पाउनु भयो चीनले कोरोना नियन्त्रण कसरी गरेको रहेछ भन्ने कुरा?

One thought on “यसरी जित्यो चीनले कोरोना

  1. बोधगम्य प्रस्तुति! मैले गत वर्ष नै चीनले अपनाएको कन्ट्याक्ट ट्रयाकिङ गर्ने तरिका, चिनियाँसंगै सफ्टवेयर मागेर भएपनि, नेपालमा शुरुगर्न पटकटकको आग्रह लत्याइएको थियो।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved