प्रहरी हिरासतमा श्रृंखलाबद्ध मृत्यु कि हत्या ?

मृत्यु हुनेहरूमा अधिकांश दलित

प्रहरी हिरासतमा श्रृंखलाबद्ध मृत्यु कि हत्या ?

काठमाडौं। गत साउनमा धनुषाको लक्ष्मीनियाँ-२ मा सार्वजनिक कलको पानी खाने विषयमा दाजुभाइबीच झगडा भयो।

४० वर्षीय पल्टु रविदास र उनकी पत्नी रेनुले छिमेकी अघनुलाई कुटपिट गरे । कुटपिट गरेको अभियोगमा पल्टु रविदास पक्राउ परे । केही दिनपछि १५ साउनमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षकै शौचालयमा उनी आफ्नै गन्जीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिए ।

अघिल्लो सालको २९ जेठमा धनुषाको सबैला-१२ बरकुर्बाका २३ वर्षीय शम्भु सदा मुसहरको प्रहरी कार्यालयमा झुन्डिएको अवस्थामा शव फेला पर्‍यो। प्रहरीले उनले आत्महत्या गरेको बतायो। तर, परिवारले स्वीकार गरेनन्। पीडित परिवारले शम्भु सदाको हत्या भएको दाबीसहित चार प्रहरीविरुद्ध किटानी जाहेरी दिए। शुरुमा प्रहरीले दर्ता गर्न मानेन। पछि दलित समुदायले आन्दोलन चर्काएपछि किटानी जाहेरी दर्ता भयो।

रौतहट गरुडा-८ जिंगडियाका १९ वर्षीय युवा विजय राम गाउँ-छिमेकमा पढेलेखेका युवा मानिन्थे । ११ कक्षा पढेका उनी बराबर पढेलेखेका अरू कोही पनि छिमेकमा थिएन । अघिल्लो साल भदौमा मामाका छोरा निरञ्जन रामको हत्या भयो। हत्या आरोपमा विजय पक्राउ परे। तर, उनले आफू निर्दोष भएको बताए। उनी दोषी रहेको ठोस प्रमाण पनि प्रहरीसँग थिएन। चरम यातना दिएर प्रहरीले उनीबाटै अपराध कबुल गराउने कोशिस गर्‍यो। प्रहरीको कुटाइ र यातनाले विजयको अवस्था गम्भीर भयो। नेशनल मेडिकल कलेज वीरगन्जमा लगियो। उनको उपचार क्रममा मृत्यु भयो।

अघिल्लो सालको भदौकै घटना हो। धनगढी-५ का १९ वर्षीय रोशन विकलाई मोबाइल चोरी गरेको आरोप लाग्यो। २२ भदौमा पक्राउ परे। २६ भदौमा शौचालयमा झुन्डिएको अवस्थामा उनी मृत फेला फेला परे। आफन्तजनले प्रहरीको यातनाबाट मृत्यु भएको दाबी गरे।

१ वैशाख २०७६ मा झापाको अनारमनीको प्रहरी हिरासतमा १५ वर्षीय किशोर किरण कार्कीढलीको मृत्यु भयो। शंकास्पद मृत्यु भएको घटनाले पनि प्रहरीमाथि प्रश्न उठ्ने नै भयो। तर, प्रहरीले उनले आत्महत्या गरेको जिकिर गर्‍यो। परिवारले भने घटना शंकास्पद बताउँदै छानबिन माग गर्‍यो। तर, सरकारी पक्षकै दबदबामा भएको छानबिनबाट किशोरले आत्महत्या नै गरेको निष्कर्ष निकालियो।

८ मंसीर ०७६ मा सामान्य विवाद हुँदा डोटीको जोरायल-१ गैरामा गणेश पाली पक्राउ परे। अनुसन्धानको लागि भन्दै प्रहरी हिरासतमा उनी पनि फर्किएनन्। हिरासतमा शंकास्पद मृत्यु भयो। कुटपिटबाट मृत्यु भएको हुनसक्ने आफन्तले अनुमान लगाए। प्रहरी कार्यालयमा नाराबाजीसमेत भयो। अन्तत: उनको मृत्युको घटनामा कसैलाई कारबाही भएन। पीडित परिवारलाई सामान्य क्षतिपूर्ति दिएर घटना सामसुम बनाइयो।

सुरक्षा घेराभित्र कसरी आत्महत्या हुनसक्छ ?

माथिको घटना हुन् प्रहरी हिरासतभित्रै भएका शंकास्पद मृत्यु। हिरासतमा शंकास्पद मृत्युका कतिपय घटनामा त शंकाको सुई प्रहरीतिर नै सोझिँदै आएको छ।हिरासतमा थुनुवाको शंकास्पद मृत्युका घटनाले प्रहरीको सुरक्षा घेरामाथि बारम्बार प्रश्न उठेको छ। आफ्नै हिरासतमा हत्या तथा मृत्यु भएका तंथ्यांक प्रहरीसँगै छैन।

तर, बर्सेनि औसत १०/१२ बढीको हिरासतमा ज्यान गुमेको पाइन्छ। यसरी ज्यान गुमाउनेमध्ये अधिकांश दलित वर्गका छन्। प्रहरीको कडा सुरक्षा घेरामाथिको मृत्युको घटनामा अधिकांश यातनाका कारण हुने देखिएको अधिकारकर्मीहरूको दाबी छ। अपराधबाट उम्कन आत्महत्या भनेर पन्छने गरेको बताइन्छ।

समिति गठन तर पीडित परिवारको आवाज थामथुम पार्ने प्रपञ्च

राज्यको नियन्त्रणमा भएको व्यक्तिको सुरक्षाको जिम्मा सरकारको हुन्छ । उनीहरूको अवस्थालगायत उचित रेखदेख गर्नु प्रहरीको दायित्व हो। तर, आत्महत्या वा अरू यस्तै बहानामा प्रहरी त्यसै उम्कन उम्किरहेको छ। यस्ता घटनामा सरकारले यथोचित अनुसन्धान गर्ने दोषी पाइएका कारबाही गरिने गृहमन्त्री बालकृष्ण खांण बताउँछन्।

बालकृष्ण खांण, गृहमन्त्री

हिरासतभित्र शृंखलाबद्ध रूपमा भइरहेको थुनुवाको मृत्युबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा छानबिन समिति बनाएको उनले बताए। सोही समितिले देशभर हिरासतमा भएका भएका हत्याको घटनबारे अध्ययन अनुसन्धान गर्ने मन्त्री खाँडको भनाइ छ।

उनले भने, ‘‘हिरासतमा मृत्यु भएकाका पीडित परिवारको आवाजलाई छानबिन समितिले स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरेर यथार्थ पत्ता लगाउँछ। यसअघि घटनाको निष्पक्ष ढंगले अनुसन्धान भएन र सत्यतथ्य बुझ्नेछ। प्रहरी कर्मचारी दोषी देखिएमा पनि कारबाही हुनेछ।’’ यद्यपि पीडित परिवारले भने आफूहरूको आवाज थामथुम गर्न मात्रै समिति गठन गरिएको आशंका गरेका छन्।

संयोग मात्रै भन्दै पन्छिदै प्रहरी

हिरासत भित्रको अधिकांश घटना आत्महत्या भएको प्रहरीको दाबी छ। मृत्यु हुनेहरूमा अधिकांश दलित समुदायको हुनु संयोग मात्रै भएको प्रहरीको जिकिर छ। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर भन्छन्, ‘‘थुनाभित्र रहेका गैरदलित, दलित सबै थुनुवालाई प्रहरीले समान व्यवहार गर्छ। तर, हिरासतमा दलित मात्रैको मृत्यु हुनु संयोग मात्रै मान्न सकिन्छ।’’

वसन्तबहादुर कुँवर, प्रवक्ता, प्रहरी

प्रवक्ता कुँवर हिरासतको सुरक्षामा प्रहरी गम्भीर हुनुपर्ने बताउँदै सुधारका धेरै प्रयास भएको जिकिर गर्छन्। अधिकांश घटनामा आत्महत्या देखिएको बताउने उनी थुनुवाको सुरक्षाको पाटोमा सुधार प्रयास भइरहेको दाबी गर्छन्।

उनले भने, ‘‘हिरासतमा मृत्यु भएका घटनामा प्रहरी अधिकारी संलग्न रहेको छ भने कारबाही हुन्छ। रौतहटलगायत धेरै ठाउँमा प्रहरीविरुद्ध उजुरी परेको छ। अनुसन्धान भइरहेको छ। तर आत्महत्या भएका घटना पनि छन्। हाम्रो सुरक्षामा रहेकाको मृत्यु हुनु हाम्रो कमजोरी हो। आउँदा दिनमा सच्याउनेछौँ।’’

कमजोरलाई फसाउन यातना, यातनापछि मृत्यु – आयोग

हिरासतमा सर्वसाधारणको मृत्यु र त्यसमाथि पनि दलित समुदायका मानिस बढी मृत्यु हुनु चिन्ताजनक रहेको मानवअधिकार आयोगले बताएको छ। अपराध कबुल गर्न लगाउन चरम यातना दिने क्रममै धेरैजसोको मृत्यु हुने गरेको पाइएको प्रवक्ता टीकाराम पोखरेल बताउँछन्।

उनी भन्छन्, “हिरासतमा शंकास्पद मृत्यु हुने क्रम रोकिएको छैन। झन् बढ्दो छ। यसमा धेरैजसो दलित वर्गको शंकास्पद मृत्यु भएका देखिन्छ। हिरासतमा यातना नदिन हामीले पटक पटक भन्दै आएका र्छौं। यातनाकै कारण मारिएका हुन सक्छन्। वा स्वयंले आत्महत्या गर्न चाहेका रहेछन् भने पनि त्यो अवस्था आउन नदिन बन्दीको सुरक्षामा प्रहरी गम्भीर हुन सकेको देखिएन।’’

टीकाराम पोखरेल, प्रवक्ता, मानवअधिकार आयोग

दलित वर्ग पछाडि परेको तथा उनीहरूको पहुँच माथिसम्म नपुग्ने भएकाले वास्तविक पीडित लुकाउन परे दलित नै निसानामा पारिने देखिएको पोखरेल बताउँछन्। उनी भन्छन्, ‘‘दलितहरू पछि परेका हुन्छन्। आफ्नो हक अधिकार तथा अन्यायविरुद्ध बोल्न सक्दैनन्, उनीहरूको बोल्ने मान्छे हुँदैनन्। यसैले उनीहरूलाई सजिलै फसाउन सकिन्छ भन्ने नियत पनि कतिपय ठाउँमा देखिन्छ। वास्तविक दोषी उम्काएर नक्कली अभियुक्तलाई यातना दिएर अपराध कबुल गर्न लगाउने भएकाले यातनाकै क्रममा मृत्यु हुने गरेका घटनासमेत छन्।’’

मानवअधिकार आयोगलाई पनि हिरासत कक्षको अनुगमन गर्ने र तत्कालै पीडितलाई उद्धार गर्नेसम्मको अधिकार र पहुँच छ। तर, आयोगको भूमिका पनि प्रभावकारी नदेखिएको अधिकारर्मीहरूको आरोप छ।

किन दलितमाथि नै निशाना ?

हिरासतमा मृत्यु हुनेहरूमा अधिकांश दलित नै हुनु संयोग मात्र मान्न नसकिने धेरैको बुझाइ छ। आर्थिक रूपले विपन्न, समाजमा कमजोर मानिने, कानुनको ज्ञान नभएको, न्यायिक निकायमा पहुँच नहुने वर्गका मानिसलाई प्रहरीको हिरासतमा ज्यान गुमाउने घटना निरन्तर हुनु संयोग मान्न नसकिने अधिकारकर्मीहरूको जिकिर छ ।

हिरासतमा हुने बन्दीको मृत्युलाई अधिकांश घटनामा आत्महत्या नभइ हत्या भएको अधिकारकर्मीहरू बताउँछन्। कडा सुरक्षा घेराभित्र कसैले आत्महत्या गर्न नसक्ने अधिकारकर्मी तथा अधिवक्ता प्रकाश नेपाली बताउँछन्।

उनी भन्छन्, “हिरासत कक्ष प्रहरीको प्रत्यक्ष निगरानीमा हुन्छ, कडा सुरक्षा हुन्छ। कुनै आकस्मिक स्वास्थ्य समस्या आएमा तत्कालै अस्पताल लैजाने साधन हुन्छ। परिवारका सदस्यले खाना लगिदिएपनि जाँच गरिन्छ। यस्तो अवस्थामा आत्महत्या हुन तथा मृत्यु हुने भन्ने कुरा हुँदैन।’’

हिरासतमा अपराध कबुल गर्न चरम यातना दिइने र त्यस कारण मृत्यु हुने गरेको धेरै पाइएको परियार बताउँछन्। मृत्युपछि आत्महत्या भनेर अपराधबाट प्रहरी अधिकारी मुक्त हुने गरेको अधिवक्ता नेपाली बताउँछन्।

अपराधका घटनामा दोषीलाई बचाउन पहुँचमा कमी भएको कमजोर पात्रलाई पक्राउ गरिने र जबर्जस्ती अपराध कबोल गर्न यातना दिँदा मृत्यु हुने गरेको जिकिर छ।

उनी भन्छन्, ‘‘दलित समुदाय पछि परेका छन्। उनीहरूको सरकारी संयन्त्र, राजनीतिक दल र समाजमा पहुँचको कमी छ। साथै सामाजिक आर्थिक अवस्था कमजोर भएकाहरूको बोल्न सक्दैनन्। उनीहरूको बोल्ने मान्छे पनि हुँदैनन्। यसैले वास्तविक अपराधी लुकाएर निर्दोषलाई फसाउनुपरे उनीहरूको प्रयोग गरिन्छ। जबर्जस्ती अपराध कबोल गराउँदा उनीहरूको मृत्यु भएको देखिन्छ।’’

प्रहरीले यातना दिन बन्द गर्नुपर्ने, यस्ता घटनाको उचित अनुसन्धान भई दोषीमाथि कारबाही हुनुपर्ने र प्रत्यक्ष दोषी कोही नभए पनि थुनुवाको सुरक्षाबारे सम्बन्धित सुरक्षाकर्मीहरू जवाफदेह हुनुपर्ने उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved