सचिन तेन्दुल्कर

जसले भारतबाट डेब्यू गर्नुअघि पाकिस्तानका लागि खेलेका थिए अन्तर्राष्ट्रिय म्याच

तेन्डुलकरका अनुसार खेल दौरान फिल्डिङका क्रममा उनले झण्डै भारतका अर्का महान खेलाडी कपिल देवलाई क्याच आउट गरेका थिए। बाउण्ड्रीमा बसेको हुनाले कपिल देवको प्रहारलाई उनले धेरै दौडेर पनि क्याचका लागि भेट्न सकेनन्। नत्र पाकिस्तानको टिमबाट भारतको विकेट लिन सहयोग गर्नेमा उनको नाम पनि जोडिन्थ्यो।

जसले भारतबाट डेब्यू गर्नुअघि पाकिस्तानका लागि खेलेका थिए अन्तर्राष्ट्रिय म्याच

काठमाडौं। सचिन तेन्दुल्कर, यो नाम विश्व क्रिकेटमा चिनाइरहनु पर्ने नाम होइन। क्रिकेटमा रुचि नै नभएकाले पनि कम्तीमा तेन्दुल्करको नाम भने सुनेका हुन्छन्। अधिकांश भारतीय क्रिकेट समर्थकका लागि उनी भगवान हुन्।

भारतीय क्रिकेटलाई उनले दिएको उपलब्धि र पुर्याएको योगदान अतुलनीय छ। विश्व क्रिकेटमा उनका कतिपय यस्ता रेकर्ड छन्, जुन अब सायदै कुनै खेलाडीले तोड्न सक्ला। खेलकुदमा रुचि हुने प्राय सबैलाई थाहा छ कि, उनी भारतीय क्रिकेटका त पर्याय नै हुन्।

तर, धेरैलाई यो थाहा नहुनसक्छ कि तेन्दुल्करले भारतको राष्ट्रिय टिमबाट डेब्यू गर्नुअघि पाकिस्तानको तर्फबाट अन्तर्राष्ट्रिय म्याच खेलेका थिए, त्यो पनि भारतविरुद्ध नै।

तेन्दुल्करले सन् १९८९ मा, हालका पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कप्तानीमा रहेको पाकिस्तानी टिमविरुद्ध भारतबाट अन्तराष्ट्रिय म्याचमा डेब्यू गरेका थिए। जतिबेला उनि १६ वर्षका मात्र थिए।

तर, यसको दुई वर्षअघि नै, तिनै इमरान खानको अनुरोधमा पाकिस्तानको टिमबाट आफ्नै राष्ट्र भारतसँग नै खेल्दै पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा आफूले पाइला टेकेको तेन्दुल्करले ‘प्लेयिङ् इट माई ओए’ नामक आफ्नो आत्मकथामा बताएका छन्।

तेन्दुल्करले लेखेका छन्, “मलाई थाहा छैन कि इमरान खान अहिले यो सम्झन्छन् कि सम्झदैनन् वा सायद उनलाई थाहा नै छैन कि। मैले एक पटक पाकिस्तान टिमबाट फिल्डरको रुपमा खेलेको थिए।”

त्यो मिति थियो, २० जनवरी १९८७ । खेल थियो ‘क्रिकेट क्लब अफ इण्डिया (सीसीआई)’ को ५० वर्ष पूरा भएको स्वर्ण महोत्सवको अवसरमा आयोजित भारत र पाकिस्तान बीचको मैत्रीपूर्ण खेल। मैदान थियो मुम्बाईस्थित ब्राबोर्न स्टेडियम। जहाँ तेन्दुल्कर जस्ता जुनियर खेलाडीहरु पनि भारतीय टिमका लागि ‘स्टाण्डबाई प्लेयर’का रुपमा मैदान बाहिर उपस्थित थिए।

भारत र पाकिस्तानबीच पाँच म्याचको टेष्ट श्रृङ्खला हुनुअघि यो खेलको आयोजना भएको थियो। यसै श्रृङ्खलापछि तेन्दुल्करका आदर्श पुरुष रहेका भारतका अर्का दिग्गज खेलाडी सुनिल गावास्करले सन्यास लिँदै थिए।

मास्टर ब्लास्टर तेन्दुल्करका अनुसार मैत्रीपूर्ण खेल भएकाले उक्त खेल चलिरहेकै बेलामा पनि पाकिस्तान टिमका दुई खेलाडीहरु जाभेद मियानदाद र अब्दुल कादिर विश्रामका लागि मैदान बाहिर निस्किए। जसकारण उनले सब्सटिट्युट फिल्डरको रुपमा खेल्ने मौका पाए तर भारतको टिमबाट होइन। उनलाई पाहुना टोली पाकिस्तानी टिमबाट खेल्नको लागि मौका जुर्‍यो।

उक्त खेलका प्रत्यक्षदर्शी, तेन्दुल्करका बालापनका साथी तथा हालका क्रिकेट अम्पायर मार्कुस कौटो भन्छन्, “केही खेलाडी मैदान बाहिर निस्किएपछि पाकिस्तानका कप्तान इमरान खानले क्रिकेट क्लब अफ इण्डियाका प्रतिनिधि हेमन्त केंकरेलाई भेटेर आफ्नो टिममा खेलाडीको अभाव भएकोले केही जुनियर खेलाडीहरुलाई फिल्डिङ्को लागि मैदानमा पठाइदिन आग्रह गरे।”

त्यसबेला दुई युवा खेलाडी सचिन तेन्दुल्कर र खुस्रु भासानिया त्यहीँ वरपर थिए। मार्कुस कौटा थप्छन्, “इमरान खानको त्यो कुरा सुनेपछि तेन्दुल्करले हेमन्तलाई सोधे, ‘फिल्डिङ् गर्न म जाउँ?’ हेमन्तले स्वीकृती स्वरुप टाउको हल्लाउनु अगाडि नै तेन्दुल्कर पाकिस्तानको सब्सटिट्युट फिल्डरको रुपमा मैदानमा पुगिसकेका थिए।”

१४ औँ जन्मोत्सव आउन लगभग तीन महीना बाँकी रहेका जुनियर खेलाडी तेन्दुल्कर त्यसबेला भारत र पाकिस्तानबीचको त्यो बेलाका स्टारहरुको खेलमा फिल्डिङ् गर्न पाउँदा निकै खुशी थिए।

उनलाई आफू कुन टिमबाट खेल्दै छु भन्ने कुराको मतलब थिएन। उनलाई बस क्रिकेट खेल्न पाए पुग्थ्यो र जुन टिमबाट खेल्थे आफ्नो शतप्रतिशत दिन्थे। क्रिकेट खेलप्रतिको यही लगाव र प्रतिस्पर्धी भावनाका कारणले उनलाई सर्वकालीन महान् क्रिकेटर बनाउन मद्दत गर्यो।

तेन्दुल्कर मैदानमा छिर्दा भारत ब्याटिङ् गरिरहेको थियो भने पाकिस्तान फिल्डिङ्। खेल अन्त्यतिर पुगिसकेकाले तेन्दुल्करले करीब २५ मिनेट मात्र खेल्न पाए।

DMCricket4708

तेन्दुल्करका अनुसार खेल दौरान फिल्डिङका क्रममा उनले झण्डै भारतका अर्का महान खेलाडी कपिल देवलाई क्याच आउट गरेका थिए। बाउण्ड्रीमा बसेको हुनाले कपिल देवको प्रहारलाई उनले धेरै दौडेर पनि क्याचका लागि भेट्न सकेनन्। नत्र पाकिस्तानको टिमबाट भारतको विकेट लिन सहयोग गर्नेमा उनको नाम पनि जोडिन्थ्यो।

कौटाका अनुसार तेन्दुल्करलाई इमरान खानले फिल्डिङ्का लागि बाउण्ड्रीमा राखेका थिए, तर उचाइ कम भएका कारण टाउको माथिबाट गएका ठूला प्रहारहरु क्याच गर्न नसक्दा उनी खेलपछि निकै दुःखी भएका थिए।

४० ओभरमा खेलिएको उक्त खेल रवि शास्त्रीको कप्तानीमा रहेको भारतले ६ विकेटले जितेको थियो। पहिले ब्याटिङ् गरेको पाकिस्तानले ४० ओभरमा १८९ रनको योगफल तयार पारेको थियो। जवाफमा मोहमद अजरुदिनको सर्वाधिक ८० रनको मद्दतले भारतले लक्ष्य पूरा गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved