काठमाडौं। पाँचथरको फिदिममा बस दुर्घटना हुँदा ६२ जना घाइते भएका छन्।
फिदिम सदरमुकाम आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सदरमुकाबाट ६ किलोमिटर टाढा सरखण्डेमा दुर्घटना भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पुण्य प्रसाद ढकालले जानकारी दिए।
नेपालभ्यूजसँग टेलिफोन संवादमा उनले भने, ‘‘बस कहाँबाट आएको हो, कहाँ जान लागेको हो, यात्रु को थिए भन्ने केही खुलेको छैन।”
४० सिट क्षमताको बसमा ६४ जना यात्रु सवार रहेकोमा ओभरलोडकै कारण बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए। दुर्घटनापछि चालक फरार रहेको बताउँदै उनले ६२ जनाको स्थानीय फिदिम अस्पताल, पाथिभरा अस्पताल र समर्पित अस्पतालमा उपचार भइरहेको जानकारी दिए।
‘‘प्रहरी दुर्घटना भएको ठाउँमा गएको छ, विस्तृत विवरण आइसकेको छैन,” उनले भने, ‘‘घाइतेमध्ये चार/पाँच जनाको अवस्था गम्भीर छ।”
Facebook Comment
Comment