अन्योलमा कांग्रेस महाधिवेशन

छठपछि लगातार अधिवेशन गर्ने योजना

अन्योलमा कांग्रेस महाधिवेशन

काठमाडौँ। अन्योलमा परेको कांग्रेसका अधिवेशनहरूले छठपछि मात्रै निरन्तरता पाउने भएको छ। पार्टीको १४ औँ महाधिवेशन अन्तर्गतको अधिवेशनहरू कार्यतालिका अनुसार हुन नसकेपछि फेरि पनि महाधिवेशन प्रभावित भएको हो। कांग्रेसको महाधिवेशन प्रभावित भएको यो समेत चौथौँ पटक हो।

निर्धारित कार्य तालिकाअनुसार वडाअधिवेशन १८ भदौमा सकिनुपर्ने हो। गाउँ र नगर अधिवेशन २७ भदौ, प्रदेश सभा क्षेत्रीय अधिवेशन १ असोज र ५ असोजमा हुनु पर्ने हो। हिमाली जिल्लामा दशैँअघिनै जिल्ला अधिवेशन सकिनुपर्ने हो। तर, कतिपय जिल्लामा वडाअधिवेशन नै नसकिएकाले महाधिवेशन तालिका प्रभावित भएको हो। प्रभावित कार्यतालिकाले तिहार र छठपछि मात्रै निरन्तरता पाउने नेताहरु बताउँछन्।

दशैंअघि सबै स्थानीय तह र २२ ओटा जिल्लाको अधिवेशनहरू गरिसक्ने तालिका थियो। त्यसअनुसार काम हुन नसकेपछि छठ पछिको लागि सारिएको हो। दशैँसम्म कांग्रेसले ५१ जिल्लामा मात्रै स्थानीय तहको अधिवेशन गर्न सकेको छ। दशैंअघि २१ जिल्लामा अधिवेशन सक्ने भनिए पनि आधामा मात्र सकियो। जम्मा ११ हिमाली जिल्लामा मात्रै अधिवेशन भए। १३ जिल्लामा त कांग्रेसले वडा अधिवेशन नै शुुरु गर्न सकेन। सोही कारण कांग्रेसको अन्य कार्यतालिका समेत प्रभावित बनेको नेताहरु बताउँछन्।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले अधिवेशनका बाँकी कामलाई छठपछि मात्रै निरन्तरता दिने गरी गृहकार्य चलिरहेको बताए। प्रदेश तहको अधिवेशन १० देखि १२ कात्तिकसम्मका लागि तय भएपनि नहुने देखिन्छ। वडा अधिवेशन शुरु नभएको १३ जिल्ला मध्ये रसुवा, रौतहट र बारा जिल्लाको क्रियाशील सदस्यताको नामावली समेत सार्वजनिक भएको छैन।

शुरुदेखि नै लफडा

१८ भदौमा वडाअधिवेशन नै एकै साथ गर्न नसकेपछि महाधिवेशन कार्यतालिका प्रभावित भएको हो। क्रियाशिल सदस्यताको विवादका कारण देखाउँदै वडाअधिवेशन एक साथ गर्न नसकेपछि त्यसलाई मिलाउन दुुई–दुई ओटा समिति नै बनाइए। तर, अहिलेसम्म कांग्रेसको क्रियाशील सदस्यता विवाद सल्टिएको छैन।

निर्धारित कार्यतालिका अनुसार प्रदेश अधिवेशन हुन तीन मात्रै बाँकी रहँदा पनि कांग्रेसले औपचारिक रुपमा यसबारे केही बोलेको छैन। सोमबार बस्ने निर्वाचन समितिको बैठकले नयाँ कार्यतालिका बारेमा छलफल गरेर पार्टीको शीर्ष नेतृत्वलाई दिने तयारी भइरहेको निर्वाचन समितिका संयोजक महादेव यादवले बताए।

“तल्लो तहबाटै अधिवेशनहरू पूर्णरुपमा हुन सकेन” यादवले नेपालभ्यूजसँग भने, “केन्द्र महाधिवेशन पनि अब निर्धारित ९ मङ्सिरको मितिमा नहुने देखियो।”

उनले बाँकी अधिवेशनका कामहरू छठपछि शुरु गरेर लगातार अधिवेशनहरू गर्नेगरी गृहकार्य चलिरहेको बताए। “बाँकी १३ जिल्लाको वडाअधिवेशन गर्न कम्तीमा १० दिन लाग्ने र त्यसको एक सातामा स्थानीय तहको अधिवेशनहरू गरेर जिल्ला अधिवेशन गर्न सकिन्छ” यादवले भने “जिल्ला अधिवेशन गरेपछि १० दिनमा प्रदेश अधिवेशन र त्यसपछिको १५ दिनमा केन्द्रीय महाधिवेशन गर्न सकिन्छ।”

छठपछि लगातार अधिवेशनहरू गर्ने कार्ययोजना बनाएको कांग्रेसको निर्वाचन समितिले भनेर अनुसार लगातार काम भएमा १५ पुसभित्र केन्द्रीय महाधिवेशन हुनसक्ने अवस्था छ। “हामीले मङ्सिरको अन्तिमसम्म नै वा पुसको पहिलो हप्ता सम्ममा गर्न लागेका छौ” निर्वाचन समितिका संयोजक यादव भन्छन्।

निर्वाचन समितिले यसो भने पनि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवादेखि पार्टीका अरू पदाधिकारीहरूको भूमिका महत्त्वपूर्ण हुनेछ। १४ औँ महाधिवेशनमा पुन: सभापति दोहोरिन खोजेका देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला, पूर्वउपसभापति प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य शेखर कोइरालाको सभापतिको दाबेदारीले पनि महाधिवेशन पेचिलो बन्दै गएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved