प्रिय पात्र

यति धेरै पात्र भएर बाँचिसकेँ, मलाई आफ्नै जीवन हलुंगो लाग्छ

म बाँचेको कुनै पात्र जीवनभर बाँचिरहूँ भन्ने लागेन। ती सबै पात्र बाँचेकी पूर्ण म नै मलाई मन पर्छ। अरुको चरित्रलाई व्यक्त गर्नमै आनन्द छ। अभिनय गर्नु र बाँच्नुमा धेरै फरक छ।

यति धेरै पात्र भएर बाँचिसकेँ, मलाई आफ्नै जीवन हलुंगो लाग्छ

पात्रको कुरा गनुपर्दा सबै पात्रको आफ्नै आफ्नै विशेषता हुन्छ। कसैको एउटा पक्ष सशक्त हुन्छ भने कसैको अर्कै पक्ष। मलाई मैले पढेका धेरै पात्रहरु मन पर्छन्। तीमध्ये पनि आफैले भूमिका गर्न पाएका पात्रसँग अझ बढी निकटको साइनो हुने रहेछ।

मैले आफैले भूमिका गर्न पाएर एकदमै मन परेकी पात्र ‘पल्लो घरको झ्याल’की ‘मिसरी’ हो। योगमाया पनि हो। रंगमञ्चमा मुनामदनको मुना भएर काम गरेँ, चलचित्रमा दिदी भएर। ती दुवै पात्र पनि मलाई मन परेका पात्र हुन्। मुटुको व्यथाको म पात्रसँग पनि मेरो उत्तिकै लगाव छ।

म थुप्रै पात्र भएर बाँचेँ। पात्रसँग बाँच्दा निकै आनन्द आउँछ। मलाई असाध्यै मन नपरीकन भूमिका गर्दै गर्दिनँ। त्यसमा एउटा रोज्नुपर्दा म सक्दै सक्दिनँ। मैले पढेपछि एकदमै मन परेर मात्र ती पात्रको भूमिका निभाएकी छु। म पात्र भएर बाँचेकी छु। सबै पात्र उत्तिकै मन पर्छन्। पछिल्लो समय योगमाया चढेको जस्तो अनुभूति हुन्छ आफैंलाई।

यस्तो मजा आउँछ पात्रसँग। चलचित्र, रंगमञ्च, नृत्यमा देवीको कालीको नाटक गरेँ। मुकुण्डो। यति धेरै पात्रहरुसँग बाँचिसकेँ कि मलाई आफ्नै जीवन हलुंगो लाग्छ। कहिलेकाहीँ ती पात्रमा हराएर मिथिला शर्मालाई खोज्नपर्छ। ती पात्रमध्ये धेरै फरक चाहिँ छ मिथिला शर्मा।

सम्पदा मल्लको कठपुतली चलचित्र दर्शकसामु आइसकेको छैन। त्यो पात्र भएर बाँच्दा म त्यो युगमा पुगेँ भन्ने लागेको थियो। दीपेन्द्र के खनालको चलचित्र आमामा आमाको भूमिका निभाउँदाको अनुभूति त्यत्तिकै महत्वपूर्ण छ।

मुकुण्डो चलचित्रको काम सकिएपछिका तीन दिनसम्म म र गौरी पात्रबाट बाहिर निस्किनै सकेका थिएनौँ। ती पात्र हामीबीच जकडिएर बसेका थिए।

म पात्रमा डुबीकन भूमिका निभाउँदा त्यही पात्र भएर बाँच्ने भएकाले सबै पात्र कहीँ न कहीँ जीवनको हिस्सा बनेका छन्। तीमध्ये पल्ला घरको झ्यालकी मिसरीको भूमिका निभाउँदा एकदमै उकुसमुकुस भएको थियो।

मध्यमवर्गीय नेवार समुदायकी यो समाजकी आदर्श बुहारी मिसरी, जो आफ्नो लोग्नेलाई एकदमै ज्यादा प्रेम गर्छे पनि। तर लोग्नेको निकै बढी सोझोपनाले उसको अतृप्त मानसिकताका कारण पल्ला घरको झ्यालको नयाँ पुरुषले जुन किसिमको मनोवैज्ञानिक कथा बुनिएको छ, त्यो आज पनि असाध्यै स्मरणीय र पोल्ने खालको छ। परपीडन र परपीडकको जुन मनोवैज्ञानिक प्रवित्तिको विकास उसमा छ, त्यसले मलाई निकै छोएको हो।

पहिलो पटक थियटरमा केही दिनको रिहर्सलपछि त्यो भूमिका मैले गरेकी थिएँ। रंगमञ्चमा मैले त्यो पात्रलाई नबुझीकनै भूमिका गरेकी थिएँ। अरुले हेर्दा राम्रो भनिदिए पनि आफूलाई त्यो पात्रले भित्रैबाट छोएको भने थिएन। मैले त्यो पात्रलाई अनुभूति गर्न सकेकी थिइनँ।

तर पछि टेलिचलचित्रमा पनि त्यही पात्रको भूमिका निभाएँ। टेलिचलचित्रमा गरेपछि मात्रै मैले त्यो पात्रलाई बुझ्न सकेँ। आफूलाई मिसरीमा ढाल्न सकेँ जस्तो लाग्छ। त्यसले मलाई एकदमै असहज बनायो।

मिथिला शर्मा र मिसरी पूर्ण रुपमा फरक हो। मिसरीसँग कुनै पनि भाव मिल्दैन मेरो। तर त्यो भाव बोकेका नारीहरु समाजमा पाउँछु। जब म त्यस्ता नारीहरु भेट्छु, तब मिसरीलाई सम्झन्छु। मिसरी भएर बाँच्दा मलाई एकदमै छटपटी भएको थियो। पड्किन लागेको मकै जस्तो छटपटी।

म यति धेरै पात्रसँग बाँचिसकेँ कि मलाई आफ्नै जीवन हलुंगो लाग्छ। कहिलेकाहीं गह्रुंगो पनि लाग्छ। तर मलाई मेरै जीवन असाध्यै मन पर्छ।

म बाँचेको कुनै पात्र जीवनभर बाँचिरहूँ भन्ने लागेन। ती सबै पात्र बाँचेकी पूर्ण म नै मलाई मन पर्छ। अरुको चरित्रलाई व्यक्त गर्नमै आनन्द छ। अभिनय गर्नु र बाँच्नुमा धेरै फरक छ। ती चरित्र बाँचिरहँदा कतै ओहो यस्तो नि हुँदो रहेछ भन्ने लाग्छ। कतै दया लाग्छ, कतै खुशी।

(नेपालभ्यूजकर्मी काशीराम बजगाईँले कलाकार शर्मासँग गरेको कुराकानीमा आधारित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved