टी-ट्वान्टी विश्वकप क्रिकेट

श्रीलंका र नामिबिया सुपर १२ मा

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंका र नामिबियाले सुपर १२ मा स्थान सुरक्षित गरेका छन्।

नेपालभ्युज

श्रीलंका र नामिबिया सुपर १२ मा

काठमाडौं। ओमान र यूएईमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंका र नामिबियाले सुपर १२ मा स्थान सुरक्षित गरेका छन्। गएराति भएको आफ्नो खेलमा जित निकाल्दै दुवै टोलीले सुपर १२ मा स्थान पक्का गरेका हुन्।

शारजाह क्रिकेट रंगशालामा गएराति भएको खेलमा नामिबियाले आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै सुपर १२ मा पुग्यो। समूह ए को दोस्रो स्थानमा रहँदै उसले सुपर १२ मा स्थान बनाएको हो।

शारजाहमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको आयरल्याण्डले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १२५ रन बनायो। उसका लागि पल स्टर्लिङले ३८, केभिन ओब्राइनले २५ तथा कप्तान एण्डी बालब्रिनीले २१ रन बनाए।

नामिबियाका लागि जान फ्राइलिन्कले ३ तथा डेभिड वाइसले २ विकेट लिए।

१२६ रनको विजयी लक्ष्य बोकेर जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले १८ ओभर ३ बलमा मात्र २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। उसका लागि जेरार्ड इरास्मसले नटआउट ५३ रनको योगदान दिए।

यस्तै, डेभिड वाइसले २८ तथा जाने ग्रिनले २४ रन बनाए। आयरल्याण्डका कर्टिस च्याम्परले २ विकेट लिए।

यता समूह ए को विजेता बनेको श्रीलंकाले नेदरल्याण्डलाई ८ विकेटले पन्छायो। शारजाहमा टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्याण्डल १० ओभरमा अलआउट हुँदै मात्र ४४ रनमा समेटियो। उसका लागि कोलिन अकरम्यानले ११ रन बनाउँदा अन्य खेलाडीले दोहारो अंक छोएनन्।

नेदरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका लाहिरु कुमारा र वानिन्दु डे सिल्भाले तीन तीन तथा महेश थीक्सानाले २ विकेट लिए।

४५ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको श्रीलंकाले ७ ओभर १ बलमा मात्र २ विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि कुशल परेराले ३३ रन बनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved