सन् १९९७ देखि २००२ सम्म अफगानिस्तानको शासन आफ्नो हातमा लिँदा तालिबानले महिलालाई विद्यालय जान प्रतिवन्ध लगाएको थियो। यस पटक चाहिँ उनीहरूले महिलालाई विद्यालय जान दिने बताइरहेका छन्, तर इस्लाम धर्मको सिमाभित्र रहेर। धर्मको सिमाभित्र रहेर ? यसको अर्थ के हो ? कसैलाई पनि थाहा छैन। अफगानी महिलाहरू खराब दिनहरूदेखि त्रसित छन्।
काबुलमा बन्दुक बोकेका तालिबानहरू महिलालाई विद्यालय जान अनुमति दिनु जायज हो कि होइन भन्ने बहसमा छन्।
यस विषयमा छलफल गर्न जरुरी छ। विकाशविद्हरू महिलालाई शिक्षा दिनाले समाजका कुरीतिहरू बढारिनेमा विश्वस्त छन् (पुरुष शिक्षाको पनि धेरै महत्व छ, तर महिलालाई अझ बढी जरुरत छ।) महिलाहरूले साक्षर भए दीर्घ र स्वस्थकर जीवन बाँच्न सक्छन्। बालविवाहमा कमी आई किशोरीमै बच्चा जन्माउने र घरेलु हिँसाको शिकार हुने सम्भावना कम हुन्छ। सबै महिलाले प्राथमिक शिक्षा लिने हो भने मातृ मृत्युदरमा दुई तिहाइले कमी आउँछ।
महिलालाई शिक्षित बनाउनु गरीबी न्यूनीकरणको अर्को उपयुक्त उपाय पनि हो। आधा आकाश मानिने महिलाहरू पढ्नबाट बञ्चित हुँदा उनीहरू कहिल्यै पनि राम्रो आम्दानी गर्न सक्दैनन्। यसमा स्पष्ट हुनुपर्छ। सामान्यतया माध्यामिक तह पास गरेकी महिलाले निरक्षर महिलाभन्दा दोब्बर र सोभन्दा पनि बढी कमाउँछन्। डिग्रीसँगै प्राप्त हुने वित्तीय स्वतन्त्रताले उनीहरूलाई बुवा, भाइ र श्रीमानसँग टक्कर दिने गरी सम्झौता गर्न सिकाउँछ। शिक्षित महिलाको रोजाइ सानो परिवार नै हुन्छ। सन् १९६० मा पाँच रहेको प्रजनन दर अहिले २.५ हुनु यही नै मुख्य कारण हो।
गरीब मुलुकका महिलाले धेरै बच्चा जन्माउने कारण मुख्यत: अशिक्षा नै हो। धेरै बच्चा भए जवान हुँदै केही मरे पनि केही बुढेसकालसम्मको सहारा बन्छन्, काम गर्ने हात बढेर आम्दानी बढ्छ भन्ने सोचाइ उनीहरूमा हुन्छ। धेरै सन्तानलाई उनीहरू सम्पत्तिको रुपमा लिन्छन्। तर महिला शिक्षित महिलाले कम बच्चा जन्माउँछन् र तिनलाई राम्रो शिक्षा दिन सक्छन्। शिक्षाले महिलालाई समृद्ध, स्वस्थ र स्वतन्त्र बनाउँछ र यसबाट तिनका सन्ततिहरू पनि लाभान्वित हुन्छन्।
शिक्षित महिलाका सन्तानहरूले खोप लगाउन पाउँछन् र नहुर्किँदै मर्ने सम्भावना पनि न्यून हुन्छ। सबै महिलाले माध्यामिक तहसम्मको शिक्षा हासिल गर्ने हो भने बालमृत्युदर आधाले घट्छ, १ करोड २० लाख बच्चा कुपोषणको शिकारबाट बच्छन्। शिक्षित महिलाबाट जन्मिएका बच्चाले पनि राम्रो शिक्षा हासिल गरी भविष्यमा राम्रो जागिर पाउने सम्भावना उच्च हुन्छ। यो फाइदाको चक्र हो।
सिटी ग्रुप र प्लान इन्टरनेशनलले संयुक्त रुपमा आठ उदयमान अर्थव्यवस्थाको अध्ययन गरेकोमा उक्त अध्ययनले सबै महिलाले माध्यामिक तहसम्मको शिक्षा हासिल गरे एक दशकभित्र जीडीपी दर १० प्रतिशतसम्म वृद्धि हुने निश्कर्ष निकालेको छ। राजनीतिमा आवद्ध धेरै महिलालाई शिक्षित महिलाले प्रतिस्थापन गरी परिवर्तित सरकारको निर्माण गर्न सक्छन्। महिला विधायकहरू सामान्यतया ठूलो सैन्य अखडाभन्दा बढी स्वास्थ्य र शिक्षाका क्षेत्रमा धेरै बजेट विनियोजन गर्छन्।
यतिका धेरै फाइदाका बाबजुद अझैं पनि थुप्रै देशहरूमा महिला शिक्षामाथि उपेक्षा यथावत छ। केही त तालिबान समूह जस्तो छन्, जसको चेतना किताब बोक्ने महिलाको अनुहारमा एसिड फ्याक्नुपर्छ भन्ने छ। यस्तै चिन्तनका कारण हो कि गरीब मुलुकका आधारभूत विद्यालयमा महिलाको संख्या एकदमै न्यून छ।
महामारीले यस अवस्थालाई अझैं बिगारेको छ। धेरै देशमा विद्यालय महीनौँसम्म बन्द भएका छन्। लाखौँ बालिकाहरूको शिक्षा फेरि कहिल्यै विद्यालय फर्किन नसक्ने गरी अवरुद्ध भएको छ। महिलाका लागि थुप्रै सम्भावनाहरू खेर जाँदै गरेको अफगानिस्तानमा मात्रै होइन, विश्वभरी नै यो समस्या बढ्दो छ।
(‘द इकोनोमिस्ट‘ मा १९ अगस्टमा प्रकाशित यस लेखलाई नेपालीमा काशीराम बजगाईले अनुवाद गरेका हुन्।)
Facebook Comment
Comment