मनसुनपछिको वर्षाले निम्त्याउन सक्छ खाद्य संकट

मनसुनपछि परेको वर्षाले देशैभर विपद्‍‍‍‍‍‍मात्र निम्त्याएको छैन लगभग २५ प्रतिशत धानबाली नष्ट पारेको छ। नेपालले धेरै धान आयात गर्ने भारतमा पनि उस्तै क्षति पुर्‍याएकाले खाद्य संकट निम्तिन सक्ने खतरा छ।

मनसुनपछिको वर्षाले निम्त्याउन सक्छ खाद्य संकट

काठमाडौं। लगातार परेको पानीका कारण देशका विभिन्न भागमा धानबालीमा ठूलो क्षति पुगेको छ। धान काट्ने बेलामा अचानक भएको वर्षाका कारण धान खेतमा डुबेका छन् भने काटिसकेका धान नष्ट भएका छन्।

बेमौसमी वर्षाको प्रभावले देशको प्रमुख खाद्यान्न धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ। अर्कोतर्फ नेपालले धान/चामल आयात गर्ने प्रमुख देश भारतमा पनि बेमौसमी वर्षाका कारण धानबालीमा निकै क्षति पुगेको छ। यसले नेपालमा खाद्य संकट त निम्त्याउने होइन प्रश्न उब्जिएको छ।

कति भयो क्षति?

नेपालमा सुदूरपश्चिमबाट शुरु भएको वर्षा देशैभर फैलिँदा किसानको बारीका काटेर राखिएको धानबाली नष्ट भएको हो। निरन्तर परेको पानीका कारण सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र प्रदेश १ को सुनसरीको धानबालीमा अत्याधिक क्षति पुगेको छ।

यस वर्ष सुदूरपश्चिम प्रदेशमा कूल एक लाख ८१ हजार तीन सय ९६ हेक्टरमा धान लगाइएको थियो। जसमध्ये कैलालीमा ७२ हजार ५ सय हेक्टरमा र कञ्चनपुरमा ४८ हजार चार सय ९० हेक्टरमा धान लगाइएको थियो। त्यस्तै पहाडी क्षेत्रका डोटी, डडेलधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुलामा गरी झण्डै ६० हजार हेक्टरमा धान खेती गरिएको थियो। यी सबैजसो स्थानको धानबालीमा क्षति पुगेको छ।

यस्तै बेमौसमी पानीका कारण चितवनमा कुल धान खेतीको १३ प्रतिशत धान पूर्ण क्षति भएको छ। कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख युवराज पाण्डेका अनुसार चितवनमा २२ हजार नौ सय २७ हेक्टरमा धान लगाइएको थियो। जसमध्ये हालसम्म चार हजार ६ सय ७९ हेक्टरको धान काटिएको छ।

“काटिएको धानमध्ये दुई हजार नौ सय ६९ हेक्टरको धान पूर्ण क्षति भएको छ,” नेपालभ्यूजसँग कुरा गर्दै प्रमुख पाण्डेले भने, “दुई हजार पाँच सय १७ हेक्टरको धान नकाटिएको अवस्थामा ढलेको छ भने १३ हजार पाँच सय १८ हेक्टरको धान अझै काट्न बाँकी रहेको छ।”

गत वर्ष चितवनमा प्रति हेक्टर ३.८ मेट्रिक टन उत्पादन भएको थियो। त्यो हिसाबले हेर्ने हो भने यो वर्ष चितवनमा मात्रै ८७ हजार एक सय २२ मेट्रिक टन धान उत्पादन हुनुपर्छ। तर यो वर्षाले चितवनमा मात्रै ११ हजार दुई सय ८२ मेट्रिक टन धान उत्पादनमा कमी आउने देखिन्छ।

चितवनलाई उदाहरण लिने हो भने देशैभर धानबालीमा ठूलो मात्रामा क्षति पुगेको अनुमान गर्न सकिन्छ। यद्यपि देशैभर धानबालीमा क्षति पुगेको यकिन विवरण तयार नभइसकेको कृषि विभागका अधिकारी बताउँछन्।

कृषि विभागकी उपमहानिर्देशक जानुका पण्डित तथ्यांक संकलन भइरहेको बताउँछिन्।

“लगातार परेको पानीका कारण देशैभरको धानबालीमा क्षति पुगेको जानकारी प्राप्त भए पनि यकिन तथ्यांक भने प्राप्त भइसकेको छैन,” उपमहानिर्देशक पण्डितले भनिन्। यद्यपि कञ्चनपुर, कैलाली र सुनसरीमा गरी करीब ३० प्रतिशत धानबाली नष्ट भएको समाचारहरू प्रकाशित भएका छ। भने चितवनमा कूल धानखेतीको १३ प्रतिशत क्षति भएको छ। अनौपचारिक तथ्यांकमा आधारित रहेर देशैभर कूल धानखेतीको २५ प्रतिशत क्षति भएको अनुमान गरिएको छ।

समयमै मौसमको पूर्वानुमानबारे कृषकसम्म सूचना नपुग्दा यति ठूलो क्षति भएको हो। कृषि अनुसन्धान परिषद् काठमाडौंका कार्यालय प्रमुख टीकाराम चापागाई भन्छन्, “हामीले एक साताअघि नै मौसमको पूर्वनुमान गर्दै कृषकलाई सचेत रहन जानकारी दिएका थियौँ, तर, सम्बन्धित स्थानमा सूचनाको पहुँच नहुँदा ठूलो मात्रामा क्षति भएको छ।”

होला त खाद्य संकट ?

पर्याप्त मनसुनका कारण यो वर्ष धानखेती राम्रो हुने अनुमान कृषि अनुसन्धान केन्द्रले गरेको थियो। तर, धानबाली भित्र्याउने बेलामा आएको पानीका कारण यो वर्ष अनुमान गरिएभन्दा निकै कम धान मात्रै भित्र्याउन सकिने अवस्था छ।

नेपालमा धान उत्पादनमा कमी आएको अवस्थामा आयात नै विकल्प हो। नेपालमा खपत हुने कूल धान/चामलको २५ प्रतिशत आयात हुने व्यापार निर्यात प्रवद्र्धन केन्द्रका तथ्यांक विश्लेषक कृष्णराज बजगाई बताउँछन्। अन्य सामग्री जस्तै  धान/चामल आयात गर्ने प्रमुख देश भारत हो।

नेपालले आर्थिक वर्ष २०७७/७८ मा  ५० अर्ब ७९ करोडको धान/चामल आयात गरेको थियो। प्रत्येक वर्ष यो आकडा बढ्दो क्रममा रहेको व्यापार निर्यात प्रवर्द्धन केन्द्रका तथ्यांक विश्लेषक बजगाई बताउँछन्।

विडम्बना, मनसुनपछिको वर्षाले नेपालमा मात्रै होइन भारतमा पनि धानबालीमा निकै क्षति पुगेको छ। पश्चिमी वायु प्रणालीका कारण भएको वर्षाका कारण नेपाल लगायत भारतमा पनि त्यसले ठूलो क्षति पुर्याएको हो।

भारतमा पनि अहिलेसम्म धानबालीमा कति क्षति भयो भन्ने तथ्यांक सार्वजनिक भइसकेको छैन। भारतमा सबैभन्दा बढी धान उत्पादन हुने सूचीको दोस्रो र नवौँ स्थानमा रहेको उत्तर प्रदेश र बिहार लगायतका राज्यमा निरन्तर परेको पानीका कारण धानबालीमा अत्याधिक क्षति पुगेको बताइएको छ।

आयात हुने धान/चालममा नेपाल भारतमा निर्भर रहेको पाइन्छ। भारतमै धान उत्पादनमा कमी आएको अवस्थामा त्यसको असर स्वतः नेपालको आयात गर्ने धान/चामलमा पर्नेछ।

२५ प्रतिशत नेपाली आयात गरेको चामल लगायतका खाद्यान्नमा निर्भर रहेको अवस्थामा यहाँको खाद्य प्रणालीलाई त्यसले निकै ठूलो समस्या पार्नसक्ने कृषि तथा खाद्य सुरक्षाविज्ञ कृष्ण पौडेल बताउँछन्। भन्छन्, “नेपालको खाद्य प्रणाली भारतमा निर्भर छ। पछिल्लोपटक परेको पानीका कारण भारतको धानबालीमा परेको असर नेपालको आगामी वर्षको खाद्य प्रणालीमा देखिनेछ।”

खाद्य गुणस्तर तथा प्रविधि विभागका एक अधिकारी भने नेपालमा खाद्य सुरक्षाको अवस्था चिन्ताजनक अवस्थामा रहेको स्वीकार गर्दैनन्। धान भित्र्याउने समयमा परेको पानीका कारण धान उत्पादनमा केही कमी आए पनि त्यति मात्रैले खाद्य संकट नआउने उनको दाबी छ।

“मानिसले आफ्नो चाहनाअनुसार खाद्यान्न बाहिरी देशबाट मगाएको विषयलाई खाद्य सुरक्षासँग जोड्न मिल्दैन,” उनको तर्क छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved