यी हुन् जंक फुडले स्वास्थ्यमा पार्ने असर

दालमोट, चिप्सहरू, भुजिया, पापड आदिमा नुनको मात्रा चाहिनेभन्दा बढी हुन्छ। शरीरमा नुनको मात्रा चाहिने भन्दा बढी भएमा उच्च रक्तचाप हुन्छ। रक्तचाप वृद्धि भए मुटुलाई असर गर्छ। साथै मिर्गौलामा समस्या, मस्तिष्क घात हुने सम्भावना बढ्छ।

यी हुन् जंक फुडले स्वास्थ्यमा पार्ने असर
सांकेतिक तस्वीर

शरीरलाई आवश्यक पर्ने प्रोटिन, भिटामिन, खनिज पदार्थ नभएको वा अति कम भएको तर चिनी, चिल्लो पदार्थजस्ता क्यालोरीयुक्त तत्वको मात्रा अत्यधिक भएको खाद्य वस्तुलाई जंक फुड भनिन्छ।

सन् १९७२ मा अमेरिकाबाट जंक फुड प्रचलनमा आएको हो। अहिले विश्वभर जंक फुड उत्पादकहरूले बजार विस्तार गरिरहेका छन्। यी खाद्य वस्तु स्वास्थ्यका दृष्टिले महत्वहीन हुन्।

जंक फुड खाद्य वस्तुलाई कसरी बनाइएको छ भन्नेमा भर पर्छ। एउटै वस्तुबाट बनाइएका परिकार कुनै जंक फुड हुन्छ भने कुनै नहुन सक्छ। आलुलाई उसिनेर खाँदा पोषिलो हुन्छ तर आलुलाई तेलमा तारेर त्यसमा भिटामिन, मिनरल बाँकि रहँदैन त्यसैले यो जंक फुड हो। त्यस्तै फ्राइड चिकेन, केक, चिजबल, चाउचाउ आदि पनि जंक फुड नै हुन्।

जंक फुड बनाउँदा पोषणभन्दा स्वादिष्ट बनाउनुमा बढी ध्यान दिइएको हुन्छ। रेसादार पदार्थ (फाइबर)को मात्रा कम भएका, क्यालोरी बढी भएका, चिल्लो बढी भएका तथा गुलियो बढी भएका, तेलमा डुबाएर तारिएका र स्वाद वृद्धिमा बढी ध्यान दिएर पकाइएका खानाहरू जंक फुडहरू हुन्।

यी खाद्य वस्तुले शरीरलाई मोटो बनाउने, मधुमेह, रक्तचाप, कोलेष्टेरोल बढाउने जस्ता समस्याहरू उत्पन्न गर्न सक्छन्। जंक फुडहरूमा रेशादार पदार्थ नै नहुने हुनाले यसले कब्जियत गराउन सक्छ। रेशादार पदार्थको अभावले अन्य थुप्रै समस्या हुन्छ।

जंक फुडबाट हुने प्रमुख स्वास्थ्य समस्या

जंक फुडमा प्रशस्त चिनी मिसाइने भएकाले यस्ता खाना धेरै खाँदा मधुमेह हुने संभावन निकै बढ्छ। शरीरको तौल बढ्ने, आलस्यता बढ्ने, फुर्ति हराउने, खुट्टाहरू दुख्ने जस्ता समस्या शुरु हुन्छ। साथै तौल बढेपछि रक्तचाप हुने, मुटु, मस्तिष्क, मिर्गौलामा पनि समस्या उत्पन्न हुने हुन्छ।

गुलियोको बढी खानाले दाँत किराले खाई दाँत झर्ने, भाँच्चिने, प्वाल पर्ने जस्ता समस्या देखा पर्छन। जंक फुड खानाले बालबालिकाको दाँतमा नराम्रो असर पुर्‍याएको पाइन्छ। बालबालिकाको दूधे दाँत पछिको दाँतलाई पनि व्यायाम चाहिन्छ। चिउरा, रोटी, मकै, भटमास, काँक्रो, गाजर, मुला चपाउँदा दाँतलाई व्यायाम हुन्छ।

अहिले बालबालिकाले चाउचाउ, चिजबल, केक जस्ता जंक फुड खाँदा गुलियो पदार्थले दाँतमा व्याक्टेरिया र एसिड उत्पादन गर्न मद्दत गर्छ। जसले दाँतको इनामेललाई नस्ट गर्न सघाउँछ।

जंक फुडको स्वाद बढाउनका लागि अत्यधिक मात्रामा चिल्लो प्रयोग गरिएको हुन्छ। चिल्लो पदार्थ बढी भएका खाना खाँदा शरीरमा बोसोको मात्रा बढ्छ। यसबाट खराब कोलेस्टेरोल बढेर रक्तसञ्चार प्रणालीमा असर गर्न सक्छ। यसबाट हृदयघात हुने खतरा बढ्छ।

शरीरमा कोलेस्ट्राेल वृद्धि मुटु रोगको प्रमुख कारण मानिएको छ। साथै चिल्लो पदार्थले शरीरको पाचन प्रणालीमा पनि प्रत्यक्ष असर गर्छ। यसले एसिडिटी बढेर समस्या उत्पन्न गराउँछ। चिल्लोले शरीरको तौल, रक्तचाप, मधुमेह हुन सक्छ। बोसो बढ्दै गएमा कलेजोले पनि राम्रोसँग काम गर्न सक्दैन।

दालमोट, चिप्सहरू, भुजिया, पापड आदिमा नुनको मात्रा चाहिनेभन्दा बढी हुन्छ। शरीरमा नुनको मात्रा चाहिने भन्दा बढी भएमा उच्च रक्तचाप हुन्छ। रक्तचाप वृद्धि भए मुटुलाई असर गर्छ। साथै मिर्गौलामा समस्या, मस्तिष्क घात हुने सम्भावना बढ्छ।

किशोरावस्थामा शरीरमा अनेक किसिमका हार्मोनसम्बन्धी परिवर्तन हुन्छ। यसलाई सन्तुलन गर्न सन्तुलित आहार खानु पर्छ। तर बारम्बार जंक फुड खानाले शरीरलाई आवश्यक पौष्टिक तत्व पुग्दैन।

जसका कारण किशोरकिशोरीमा चिडचिडाहट हुने, मन उदास हुने, डिप्रेसन हुने लगायतका विभिन्न मानसिक समस्या उत्पन्न हुन्छ। मानसिक समस्याले कुनै न कुनै रुपमा मुटु र मस्तिष्कलाई पनि असर पुर्‍याउँछ।

जंक फुड धेरै खाँदा कुपोषणको समस्या हुने गरेको पाइएको छ। यस्ता खाना खाने बानी परेपछि घरमा बनाइएका अरु खाना खान मन नलाग्ने हुन्छ। कतिपय बालबालिकालाई लत नै लागेको हुन्छ।

जंक फुडको बढी सेवनले कुपोषण भई विभिन्न रोगले आक्रमण गर्छ। जंक फुडमा क्यालोरी बढी हुने भएकाले बालबालिका सानैदेखि मोटाउन थाल्छन्। यो मोटोपन भविष्यमा विभिन्न रोगको कारक बन्न पुग्छ।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved