१२ वर्षपछिको दोस्रो ठूलो वर्षाले देशैंभर तहसनहस

बंगालको खाडी र मध्य भारतमा रहेका न्यूनचापीय प्रणाली उत्तरतर्फ सर्दै गर्दा पश्चिमी वायुको प्रभाव समेत मिसिएपछि यस वर्ष पोष्ट मनसुन बलियो भएको हो। ३० असोज यता हावाहुरी र मेघ गर्जनसहितको वर्षा जारी छ।

१२ वर्षपछिको दोस्रो ठूलो वर्षाले देशैंभर तहसनहस
तस्वीर : रासस

काठमाडौं। घटस्थापनापछि पनि फाट्टफुट्ट वर्षा जारी रहँदा धेरैको आशंका थियो, दशैं हिले हुने भयो। ढुक्कले दशैं मान्न पाइने नपाइने आशंकालाई चिर्दै यसपटकको मनसुन गत २५ असोजमा विदा भयो। त्यसैले शुरुवातका दिनमा दशैं हिले भएन।

दशैंको रहलपहल बाँकी रहेकै बेला फेरि वर्षा र बाढीले दुःख दिएको छ। मनसुन उत्तरार्द्ध (पोस्ट मनसुन)मा मध्य वर्षाझै हरेक दिन झरी दोहोरिएको छ। धान, कोदो लगायतका अन्न बालीमा क्षति पुर्‍याएको छ। बाढी र पहिरोले अधिकांश ठाउँको जनजीवन अस्तव्यस्त भएको छ।

बंगालको खाडी र मध्य भारतमा रहेका न्यूनचापीय प्रणाली उत्तरतर्फ सर्दै गर्दा पश्चिमी वायुको प्रभाव समेत मिसिएपछि यस वर्ष पोष्ट मनसुन बलियो भएको हो। ३० असोज यता हावाहुरी र मेघ गर्जनसहितको वर्षा जारी छ।

कार्तिकको भारी वर्षालाई धेरैले आश्चर्य मानिरहँदा जल तथा मौसम विज्ञान विभागले स्वाभाविक ठानेको छ। विगत २४ घण्टामा डडेलधुराको साहुखर्क जलाधार क्षेत्रमा ३६१ मिलिमिटर वर्षा भएको छ। अहिलेको वर्षा १२ वर्षयताको दोस्रो ठूलो भएको विभागले जनाएको छ। यसअघि सन् २००९को अक्टोबर महीनामा अहिलेसम्मकै ठूलो वर्षा भएको विभागको तथ्यांक छ।

सो वर्षको अक्टोबर ७ तारिखमा बझाङमा ४०४.२ मिलिमिटर वर्षा भएको थियो। सोही मितिमा कास्की र कैलालीमा क्रमशः ३८०.६ र ३६१.३ मिलिमिटर वर्षा भएको थियो। सन् १९५१ यताको पोस्ट मनसुनको तथ्यांक विश्लेषण गर्दा सन् २००९मा अहिलेको भन्दा बढी वर्षा भएको पाइएको विभागकी सिनियर डिभिजनल मेट्रोलोजिष्ट डा. इन्दिरा कँडेलले बताइन्।

“मनसुनपछिका अक्टोबर र नोभेम्बर महीना सुक्खा समय मान्ने गरिए पनि वर्षा हुनु स्वाभाविक हो, तर केही ठाउँमा अति भारी भएकाले अस्वाभाविकजस्तो लागेको हो”, उनले नेपालभ्यूजसँग भनिन्।

सन् २००९ अघि पनि मनसुन बिदा भएपछि धेरै ठाउँमा भारी वर्षा भएकाले अहिलेको मौसमी प्रणालीलाई जलवायु परिवर्तनको असर भनेर विश्लेषण गर्न हतार हुने कँडेल बताउँछिन्।

यसअघि सन् १९९८ अक्टोबर ३० मा कास्कीको पदमपुरमा ३१५.९ मिलिमिटर, सन् १९८५ अक्टोबर १८ मा इलामको कन्याममा ३५२ र सन् २००९को अक्टोबर १२ तारिखमा मनाङको गोगामा ३०१ मिलिमिटर वर्षा भएको थियो।

त्यसैगरी, सन् १९७९ अक्टोबर ५ तारिखमा संखुवासभाको नुममा ३५० मिलिमिटर, सन् १९६३ अक्टोबर ३ मा भोजपुरमा २५०.३, सन् १९७३ अक्टोबर १३ मा लम्जुङको कुन्चामा २५९ मिलिमिटर वर्षा भएको विभागको तथ्यांक छ।

एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, ६ घण्टामा एक सय, १२ घण्टामा एक सय २० र २४ घण्टामा १ सय ४० मिलिमिटर वा सो भन्दा बढी वर्षा भएमा ‘भारी वर्षा’का रुपमा बुझ्ने गरिन्छ। २४ घण्टामा दुई सय मिलिमिटर भन्दा बढी वर्षा भएमा ‘अति भारी’ मान्ने गरिन्छ।

मंगलबार साँझसम्म कञ्चनपुर, बैतडी, डडेलधुरा, डोटी, बाजुरा, सुनसरी, धनुषा, सप्तरी, धनकुटा, मोरङ, झापा, इलामका विभिन्न ३० वटा जलमापन स्टेसनमा भारी वर्षा भएको छ। अहिले बंगालको खाडीको प्रभावसँगै गत साता बिदा भएको मनसुनको आंशिक असर पोस्ट मनसुनको शुरुवातमा देखिएको विज्ञहरुको बुझाइ छ।

मनसुनमा औसतभन्दा १५ प्रतिशत बढी वर्षा भएको विभागले जनाएको छ। बंगालको खाडी र भू–मध्य सागरको वायुले नेपालको पोस्ट मनसुन र हिउँदयामको मौसम प्रभावित हुने गर्छ।

अहिले बंगालको खाडीको असर अन्यत्रको तुलनामा सुदूरपश्चिमका भेगमा देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहीबारदेखि मौसममा क्रमिक सुधार आउनेछ।

बुधबार प्रदेश १, २ र बागमती प्रदेशको पूर्व र उत्तरतर्फको भेग र गण्डकी प्रदेशको पश्चिमतर्फको भेगमा भारी वर्षा हुने महाशाखाको प्रक्षेपण छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved