फेरि सर्दै कांग्रेस महाधिवेशन

वडा तहकै अधिवेशन एकसाथ सबै जिल्लामा गर्न नसकेपछि कांग्रेसको अन्य कार्यतालिका पुनः प्रभावित हुन थालेका छन्। दशैं अगाडि सकाउने भनिएका सबै स्थानीय तहको अधिवेशन नहुँदा मंसीरको घोषित मिति पनि प्रभावित हुने कांग्रेस नेताहरू बताउँछन्।

फेरि सर्दै कांग्रेस महाधिवेशन

काठमाडौं। नेपाली कांग्रेसको १४ महाधिवेशन घोषित मितिमा पनि नहुने देखिएको छ। यो सँगै कांग्रेसले पाँचौं कार्यतालिका ल्याउनुपर्ने हुन्छ। ९ मंसिरदेखि १३ सम्म काठमाडौंमा गर्ने गरिको चौथौ कार्यतालिका अहिले छ।

तर, १३ जिल्लाको वडा अधिवेशन नै अहिलेसम्म शुरु नभएकाले निर्धारित मितिमा महाधिवेशन सम्भव छैन। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसबारे चाँडै बस्ने पार्टी बैठकले छलफल गर्ने बताए। “समयको चाप हामीसँग आएकै हो”, प्रवक्ता शर्माले नेपालभ्यूजसँग भने, “तर यसबारे के/कसरी निर्णय हुन्छ त्यो अहिले नै भन्न सकिन्न।”

यद्यपि सभापति शेरबहादुर देउवानिकट स्रोतका अनुसार ९ मंसीर हुने महाधिवेशनलाई पुसको पहिलो हप्तासम्म सार्ने तयारी भइरहेको छ। दशैंअघि नै स्थानीय तह र हिमाली भेगका २१ जिल्लाको अधिवेशन गर्ने घोषणा गरेको कांग्रेसले त्यसअनुसार गर्न सकेको छैन।

रौतहट, बारा र रसुवाको अहिलेसम्म क्रियाशील सदस्यता सूचीसमेत सार्वजनिक भएको छैन। सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँकेमा वडाअधिवेशन कहिले गर्ने टुंगोसम्म लागेको छैन। पार्टीको निर्वाचन समितिले रसुवा, रौतहट र बाराको कियाशील सदस्यता सूची सार्वजनिक भएपछि मात्रै यी १३ ओटा जिल्लाको कार्यसूची एकैचोटी बनाउने बताएको छ।

कांग्रेस प्रवक्ता पार्टीले क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मा केही नेतालाई दिएको र ती नेताहरूले चाडै नै बाँकी तीन ओटा जिल्लाको सूची ल्याउने आशा व्यक्त गरे।

“उहाँहरूले रौतहट, बारा र रसुवाको सूची चाँडै ल्याउनुहोला भन्ने मेरो विश्वास छ”, शर्माले भने।

कांग्रेसले अब पुनः महाधिवेशन मिति परिवर्तन गर्दा त्यो पाँचौं पटक हुनेछ। पहिलो पटक २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन आयोजना गर्ने निर्णय कांग्रेसले गरेको थियो। उक्त मितिमा गर्न नसकिने भन्दै ०७८ को भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने निर्णय गरियो तर त्यसमा पनि कांग्रेसले महाधिवेशन गर्न सकेन।

त्यसलाई पुनः १६ भदौ देखि १९ सम्म गर्ने भनियो तर त्यसमा पनि कांग्रेस टिक्न सकेन। क्रियाशील सदस्यता विवाद चर्किएपछि गत साउन ३० मा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति ९ मंसीर ९ देखि १३ सम्म गर्ने निर्णय गर्‍यो।

तर, वडा तहकै अधिवेशन एकसाथ सबै जिल्लामा गर्न नसकेपछि कांग्रेसको अन्य कार्यतालिका पुनः प्रभावित हुन थालेका छन्। दशैं अगाडि सकाउने भनिएका सबै स्थानीय तहको अधिवेशन नहुँदा मंसीरको घोषित मिति पनि प्रभावित हुने कांग्रेस नेताहरू बताउँछन्।

सभापति देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्माले पार्टीको शीर्ष तहमा यसबारे छलफल शुरु भइसकेको र पार्टीले त्यसबारे चाँडै निर्णय हुने दाबी गरे। “सभापति, वरिष्ठ नेतासहित पदाधिकारी र पूर्वपदाधिकारी तहमा यसबारे दशैं अगाडि नै छलफल शुरु भएको हो”, विश्वकर्माले भने, “अब चाँडै बस्ने बैठकले सम्भवतः निर्णय गर्छ।”

नेता विश्वकर्माले पार्टीको क्रियाशील सदस्यतामा विवाद र कोरानाका कारण महाधिवेशन प्रभावित भइरहेको दाबी गरे। “समय पनि त्यस्तै भयो”, उनले भने, “कोभिडको समयमा पनि हामी मिलाएर बढिरहेकै छौं।”

अहिलेको कार्यतालिकाअनुसार कात्तिकको १० देखि १२ सम्म प्रदेश अधिवेशन गर्नुपर्ने हुन्छ। तर त्यो पनि अब सम्भव छैन। नेताहरूका अनुसार १० कात्तिकको प्रदेश अधिवेशन अगावै महाधिवेशनको नयाँ मितिबारे निर्णय लिनुपर्ने हुन्छ।

प्रदेश अधिवेशनको घोषित मिति आउनै लाग्दा १३ जिल्लाको वडा अधिवेशनसमेत शुरु भएको छैन भने बाँकी जिल्ला अधिवेशन पनि भएको छैन। ५४ ओटा जिल्लामा स्थानीय तहमा अधिवेशन भएको छ भने १३ ओटा जिल्लामा अहिले अधिवेशन सम्पन भएको कांग्रेसले जनाएको छ।

निर्धारित मितिमा कांग्रेसको अधिवेशन नहुनुमा मुख्य कारण क्रियाशील सदस्यता विवाद देखिएको छ। पाँच लाख क्रियाशील सदस्यतालाई १४ औं महाधिवेशनबाट कांग्रेसले ८ लाख पुर्‍याउँदै छ।

क्रियाशील सदस्यतामा विवाद समाधान गर्न कांग्रेसले नेता रमेश लेखकको नेतृत्वमा समिति नै बनाएको थियो। उक्त समितिले प्रतिवेदन नै पार्टीलाई बुझाए पनि केही जिल्लाको विवाद समाधान नभएपछि पार्टीले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित शीर्ष नेतालाई समेत उक्त विवाद समाधान गर्न जिम्मा लगाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved