नकुन्नी र निर्मलाका आन्दोलनरत परिवारलाई सरकारले सहमतिका लागि बोलायो

गृह मन्त्रालय स्रोतका अनुसार आन्दोलनरत पक्षको मागअनुसार नै बाँकेका दुई महिलाको शंकास्पद मृत्युबारे उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ।

नेपालभ्युज

नकुन्नी र निर्मलाका आन्दोलनरत परिवारलाई सरकारले सहमतिका लागि बोलायो
फाइल तस्वीर

काठमाडौं। बाँकेका दुई महिलाको शंकास्पद मृत्युबारे छानबिनको माग लिएर आन्दोलन गर्दै आएका पीडित परिवार र सरकारबीच सहमति हुने भएको छ।

गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पाखेरेलका अनुसार आज अपराह्न २ बजे उनीहरूलाई सहमतिका लागि मन्त्रालय बोलाइएको छ। सरकार र आन्दोलनरत पक्षबीच हुने सहमतिको खाका भने बताइएको छैन।

तर गृह मन्त्रालय स्रोतका अनुसार आन्दोलनरत पक्षको मागअनुसार नै बाँकेका दुई महिलाको शंकास्पद मृत्युबारे उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ।

सहमतिअनुसार छानबिनका लागि नेपाल प्रहरीका एक अधिकारी र पीडितका तर्फबाट एक सदस्य रहने व्यवस्था गरिएको छ। घटना छानबिनका लागि दबाब दिन २० हिँडेर बाँकेबाट ५२० किलोमिटरको पैदलयात्रा गरी काठमाडौं आइपुगेका स्थानीयले माइतीघरमा धर्ना दिइरहेका छन्।

बाँकेकी नकुन्नी धोबीको हत्या र बेपत्ता पारिएकी निर्मला कुर्मीको अवस्थाबारे अनुसन्धान गरी दोषीलाई कारबाही मागसहित २० दिन हिँडेर काठमाडौं आएका १६ जनामध्ये १४ जनालाई गएको शुक्रबार प्रहरीले पक्राउ गरेको थियो।

सार्वजनिक स्थानमा खाना खाएको आरोपमा पक्राउ परेका उनीहरूमध्ये अरूलाई शनिबार छाडिएकोमा रुबिलाई भने नेपालगञ्ज पुर्‍याइएको थियो। ८ वर्षअघि मोहम्मद शेरबागवानसँग बिहे गरेकी रुबिमाथि प्रहरीले बहुविवाहको मुद्दा चलाएको छ।

यद्यपि, उनका पति शेरबागवान भने आफूले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेको बताइरहेका छन्। शेरबागवानकी पहिलो श्रीमतीले नभई तेस्रो पक्षले रुबिविरुद्ध मुद्दा दर्ता गरेको खुलेकोमा पक्राउको पछाडिको कारण आन्दोलन दबाउनुबाहेक केही नभएको नागरिक अभियन्ता सञ्जीव उप्रेती बताउँछन्। ‘‘उनीहरु आतंककारी होइनन्, बम बोकेर आएका थिएनन्, सार्वजनिक स्थानमा खाना खाँदा राज्यलाई के खतरा भयो र पक्राउ गरियो,’’ उप्रेती प्रश्न गर्छन्, ‘‘न्यायका लागि बोलिरहेकाको आवाज थुनेर सरकार कसलाई बचाउन खोजिरहेको छ?’’

रुबिलाई गत २८ असोजमा सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो।

उनीहरू लामो समयसम्म दाइजो नल्याएको आरोपमा घरेलु हिँसा भोग्दै आएकी बाँके नेवाजीकी नकुन्नी धोबी र जग्गा हडपेर बेपत्ता पारिएकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौं आएका थिए।

नकुन्नीको शव गत ५ साउनमा आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो। आत्महत्या भनी प्रहरीले मुद्दा टुंगाएकोमा चित्तबुझ्दो अनुसन्धान नभएको भन्दै बाँकेका ११ महिलासहित १६ जना गत असोज १ गते न्यायका लागि पैदलै हिँडेर काठमाडौं आएका थिए। बाँकेका एसपी अधिकारी भने नकुन्नीको पोष्टमाटम रिपोर्टमा आत्महत्या पुष्टि भएको बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved