दशैंमा ३२ ओटा रिलवाला क्यामेराले फोटो खिचिन्थ्यो

राजधानी पसेपछि समय मिलाउन नसक्दा दशैंमा पोखरा गएको छैन।

दशैंमा ३२ ओटा रिलवाला क्यामेराले फोटो खिचिन्थ्यो

काठमाडौं। अहिलेको लोकनाथ नगरपालिका (त्यतिबेला शिशुवा गाविस)मा २०३८ साल फागुनमा जन्मिएँ। १३ वर्ष अर्थात एसएलसीसम्म मेरो बालापन त्यहीँ बित्यो।

बुबाआमा सरकारी कर्मचारी भएकाले दशैंमा उँहाहरूसँग भेट हुने भएकाले कहिले दशैं आउला जस्तो लाग्यो।

नेपालमा शिक्षा शुरु हुनु पहिला नै हजुरबुबाले गाउँ(गाउँमा पढाउने गएर अक्षर चिनाउने गर्नुहुन्थ्यो। त्यसकारण सबैले बुढा मास्टर भन्थे र गाउँमा उखानै थियो बुढा मास्टरको घरका गोरुले पनि पढ्छन् भनेर।

हजुरबुबाले त्यो समयमा नै शिक्षामा क्रान्ति ल्याइसक्नु भएको थियो। त्यसेले घरमा अहिले सबै शिक्षित छौं।

हजुरबुबाले गाउँ(गाउँमा गएर पढाउने भएकाले दशैंमा गाउँभरका मानिस टीका लगाउन हाम्रो घर आउँथे। आज पनि सम्झँदा निकै रमाइलो लाग्छ त्यसरी आँगनभरी कोचाकोच गरेर मानिसहरू टीका थाप्न पालो कुरेर बस्थे।

त्यस्तै दशैं भनेपछि सेलरोटी खाने, खसि काट्ने, पिङ खेल्ने अनि पैसा कसको घरमा धेरै दिन्छन् भनेर ढुकेर बस्ने गरिन्थ्यो। धेरै पैसा दिनेको घरमा बढी जानेगर्थ्यौँ।

दशैंमा नयाँ लुगा लगाउन पाइन्छ भनेर म खुशी हुन्थेँ। दाइ र मेरो बीचमा दुई वर्षको मात्र फरक भएकाले हामी दुई भाइका लागि जहिले पनि एउटै किसिमका लुगा हुन्थे, लुगा मात्र होइन जुत्ता पनि एउटै हुन्थे। अहिले सम्झँदा त्यो चाहिँ निकै रमाइलो लाग्छ।

अघिपछि नभएपनि दशैंमा नयाँ लुगा लगाउन पाइथ्यो। नयाँ लुगाको त्यो बास्ना सँगै दिन जान्थ्यो। राति सुत्दा त लुगा नयाँ जस्तै लाग्थेन। पूरै रातैरातो टीकाको दाग मात्र हुन्थ्यो।

खासगरी त्यो समयमा जिन्स लगाउने चलन आएकाले खुबै लगाउन राम्रो लाग्थ्यो। कतिपटक त कपडा किनेर सिलाएर पनि दशैं मनाएको छु।

त्यस्तै दशैंमा पाइने नयाँ नोटसँग मलाई खुबै माया थियो। ती नोटहरु मिलाउँदै राख्थेँ।

सानोमा केहीको जिम्मेवारी नभएकाले के कसरी काम गरौंला भन्ने हुन्थेन। केबल रमाइलो भन्ने मात्र हुन्थ्यो तर अहिले ठूलो भइयो। पहिले दशैं मात्र हुथ्यो अहिले व्यवस्थापन गर्नपर्छ घरै जान पनि।

सोचभन्दा बढी रमाइलो थियो। कुनै तनाव नै थिएन बाल्यकालको त्यो दशैंमा।

दशैंमा मात्र लामो बिदा पाउने भएकाले झोलाभरी दशैं बिदामा पढ्ने भन्दै किताब राखिन्थ्यो। तर फर्किने बेलासम्म किताब जस्तो लिएर गएको हुन्थेँ फर्किदा पनि उस्तै नै हुन्थ्यो। झोला खोलिएकै हुन्थेन।

दशैंमा ३२ ओटा रिलवाला क्यामेराले फोटो खिचिन्थ्यो। त्यो निकै रमाइलो लाग्थ्यो।

सानोमा बाहिर गएका मानिस दशैं कहिले आउला र घर आउँछन् लाग्थ्यो, कलेज पढ्ने समयमा दशैं कहिले आउला अनि  घर जान पाइएला हुन्थ्यो। तर अहिले न दशैं कहिले आउला गाउँमा मानिस आउलान् हुन्छ न त घर कहिले जान पाइला भन्दै दिन नै गनिन्छ। अहिले परिवार र अस्पतालको जिम्मेवारीले दशैंका सारा खुशीयाली बाँधेको छ।

राजधानी पसेपछि समय मिलाउन नसक्दा दशैंमा पोखरा गएको छैन।

(बास्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक बास्तोलासँग नेपालभ्यूजकर्मी समृद्धा केसीले गरेको कुराकानीमा आधारित।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved