दशैं आसपास १२ सय ७२ दुर्घटनामा १५९ ले गुमाए ज्यान

सरकार र व्यवसायीबीच आरोप-प्रत्यारोप

चाडपर्वमा ‘कमाउने बेलामा कमाउनुपर्छ’ भन्दै सवारीमा साधन धनी तथा चालकले क्षमताभन्दा धेरै यात्रु राख्दा दुर्घटना बढेको यातायात व्यवस्था विभाग बताउँछ। धेरै स्थानमा सम्बन्धित निकायका इन्जिनियरले अधिकांश गाडीको अवस्था परीक्षण गरे पनि रोक्न नसकिएको विभागको तर्क छ।

दशैं आसपास १२ सय ७२ दुर्घटनामा १५९ ले गुमाए ज्यान
सांकेतिक तस्वीर

काठमाडौं। नेपालीको महत्त्वपूर्ण चाड दशैँ सकिनै लागेको छ। चाडपर्वमा प्रत्येक वर्ष सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ। रमाइलो गर्ने चाडको मुखमा सालैपिच्छे दुःखद सवारी दुर्घटना भइरहन्छन्।

नेपाल प्रहरीको तथ्यांकअनुसार हरेक वर्ष घटस्थापनादेखि पूर्णिमासम्म साना ठूला गरी १ हजार हाराहारीमा सडक तथा सवारी दुर्घटना भइरहेका छन्। जसमा प्रत्येक वर्ष सय जनाभन्दा बढीले ज्यान गुमाउँछन्।

यो दशैंमा पनि निकै सानाठूला दुर्घटना नभएका दिनै भएनन्। दशैं मनाउन गन्तव्यमा पुग्न हतारिएका धेरै यात्रुले अकालमै मृत्युवरण गर्न पुगे। कयौं अंगभंग भए। कैयौं जीवनभर अपांग भए।

  • नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायानाथ रारा यातायात प्रालिद्वारा सञ्चालित भे १ख ३१६७ नम्बरको यात्रुबहाक बस गत मंगलबार जुम्ला–मुगु सडक खण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना भयो  जहाँ सवार हुनेमध्ये ३२ जनाभन्दा बढीको मृत्यु भयो। कैयौं घाइते भए। 
  • गत बिहीबार साँझ डडेलधुरामा भएको बस दुर्घटनामा पनि १६ जनाको मृत्यु भयो। १० जनाको घटनास्थलमै तथा ६ जनाको अस्पताल पुर्‍याएपछि मृत्यु भयो। कम्तीमा २७ जना घाइते भए।
  • गत सोमबार कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भयो, एक जना घाइते भएका छन्। पोखराको नयाँ पुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग१ज ६९०० नम्बरको जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो। 
  • यस्तै, गुल्मी, सिन्धुपाल्चोक, नुवाकोटलगायत विभिन्न जिल्लामा दुर्घटना भयो। यी दुर्घटनामा पनि मानवीय क्षति भयो। धेरै जना घाइते भए।
मुगुमा भएको बस दुर्घटना। 

यस वर्षको दशैँको त्रयोदशी अर्थात् सोमबारसम्म देशभर भएका १२ सय ७२ सडक दुर्घटनामा १५९ जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ। अघिल्लो दशैंको तुलनामा यस वर्ष ४५ जना बढीको मृत्युको जनाइएको छ। अघिल्लो साल दशैंभर ११ सय ६० दुर्घटनामा ११४ जनाको मृत्यु भएको थियो।

नेपाल प्रहरीको ८ वटा क्षेत्रीय कार्यालयले तयार गरेको तथ्यांकअनुसार १२ सय ८७ जना घाइते भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका अनुसार काठमाडौं उपत्यकामा खासै दुर्घटना नभए पनि अरू जिल्लामा ५११ दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। २१० जना घाइते भएका छन्।

तर प्रदेश १ मा २३७ दुर्घटनामा १६ जनाको मृत्यु भएको छ। २९८ जना घाइते भएका छन्। यस्तै प्रदेश २ मा ३१५ दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ। २१३ घाइते भएका छन्।

यस्तै दशैँभर मुग्लिन आसपासमा १०६ दुर्घटनामा १७ जनाको मृत्यु भएको छ। २३३ जना घाइते भएका छन्। यस्तै गण्डकी प्रदेशमा सबैभन्दा थोरै दुर्घटना भएको छ। १४ वटा दुर्घटनामा १४ जनाको मृत्यु र ३७ घाइते भएको नेपाल प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेशमा ५४ दुर्घटनामा २२ जनाको मृत्यु भएको छ।

घटनामा ६४ जना घाइते भएका छन्। यस्तै कर्णाली प्रदेश र लुम्बिनी पश्चिम क्षेत्र (बाँकेलगायत क्षेत्रमा) दशैंभर १६ दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ। ४५ जना घाइते भएका छन्। यस्तै प्रदेश सुदूरपश्चिम प्रदेशमा भएको १९ दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेशको मृतक संख्या अरू प्रदेशको तुलनामा सबैभन्दा थोरै हो।

यस वर्षको दशैँ (२०७८)मा भएको सवारी दुर्घटनाको विवरण

सरकार र व्यवसायीबीच आरोप-प्रत्यारोप

सडक दुर्घटनाको प्रमुख कारण ‘चालकको लापरबाही’ भनिँदै आए पनि धेरैजसो ठाउँमा सडककै कारण दुर्घटना भएको यातायात व्यवसायीको भनाइ छ।

यो दशैंमा भएको मुगुमा भएको दुर्घटनामा चालकको लापरबाही देखिएको बताइए पनि अरू क्षेत्रमा भने सरकारी निकाय दोषी देखिएको व्यवसायीको आरोप छ। मुगुमा चालकले बसमा छतमा समेत यात्रु राखेकाले दुर्घटना भएको अनुमान गरिएपनि अरू स्थानमा सरकारले चेकचाँच नगरेकाले र सडक स्तारोन्नति नगरेकाले दुर्घना भएको व्यवसायीको निष्कर्ष छ।

भरत नेपाल, महासचिव, सार्वजनिक यातायात केन्द्रीय महासंघ

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपाल भन्छन्, ‘‘सरकारले सवारीको अवस्थाबारे चेकजाँच गरेर, मापसे मात्र नभई पार्टपुर्जा  चेकतर्फ ध्यान दिएन।”

दशैसम्म पानी पर्दा धेरै ठाउँमा सडक राम्रो नभएको र सरकारले सडक मर्मतमा ध्यान नदिँदा पनि यो दशैंमा धेरै दुर्घटना भएको उनको ठम्याइ छ।

यो दशैंमा भएका दुर्घटना विश्लेषण गर्दा मुख्य राजमार्गमा दुर्घटना कम भएको देखिएको छ। काठमाडौं उपत्यकामा सामान्य दुर्घटनाबाहेक ठूला दुर्घटना भएका देखिएका छैनन्। “पहाडी जिल्लामा बढी र ठूला दुर्घटना भएका छन्। यो भनेको सडकको अवस्था खराब भएका क्षेत्रमा दुर्घटना भएको देखिन्छ। यसमा सरकार दोषी छ,’’ नेपाल तथ्यांकसहित तर्क गर्छन्।

काठमाडौंमा सवारी चलाएका चालकले पहाडी बाटोमा गाडी लैजाँदा दुर्घटना बढी भएको महासचिव नेपाल तर्क गर्छन्। भन्छन्, ‘‘सधैँ गाडी चलाइरहनेलाई कहाँ खाल्डो र अप्ठ्यारो छ भन्ने कुराको हेक्का हुन्छ। नयाँ रुटमा गाडी चलाउने चालकलाई त्यो कुरा थाहा नहुन सक्छ। यसैले नयाँ ठाउँमा गाडी चलाउँदा धेरै दुर्घटना भएको छ।’’

सडकहरू वैज्ञानिक ढंगबाट निर्माण नभएको र सडक चिह्न नै नभएकाले समेत दुर्घटना बढी भएको व्यवसायीको तर्क छ। उनीहरू भन्छन्, ‘‘दुर्घटना हुने सम्भावित ठाउँमा चिह्न र ट्राफिक लाइट राखिएका छैनन्। वर्षाले भत्किएको हिलाम्मे सडक मर्मत भएको छैन। पहाडी बाटोमा निकै साँघुरा सडक छन्। देशभरिका सडक अस्तव्यस्त छन्। यसले पनि दुर्घटना बढाएको छ।’’

दुर्घटना रोक्न सकिएन : यातायात व्यवस्था विभाग

स्थानीयदेखि प्रदेशस्तरसम्म सबैतिरका यातायात अनुगमन गरिरहे पनि दुर्घटना कम गर्न नसकिएको यातायात व्यवस्था विभागले जनाएको छ। चाडपर्वमा ‘कमाउने बेलामा कमाउनुपर्छ’ भन्दै सवारीमा साधन धनी तथा चालकले क्षमताभन्दा धेरै यात्रु राख्दा दुर्घटना बढेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे बताउँछन्। धेरै स्थानमा सम्बन्धित निकायका इन्जिनियरले अधिकांश गाडीको अवस्था परीक्षण गरे पनि रोक्न नसकिएको उनको तर्क छ।

नमराज घिमिरे, महानिर्देशक, यातायात व्यवस्था विभाग

उनले थपे, ‘‘यो वर्ष दशैँमा सवारी दुर्घटना धेरै कम गर्ने अपेक्षा थियो। तर लक्ष्य पूरा हुन सकेन। चालकले मदिरा सेवन गरी सवारी नचलाउने, सवारीको अवस्थाबारे ध्यान दिने, सिट क्षमताभन्दा बढी यात्रु नचढाउने, तीव्र गतिमा सवारी नहाँक्नेजस्ता कुरालाई हामीले विशेष ध्यान दिए पनि त्यो पालना नहुँदा दुर्घटना भयो।’’ सवारी चालक र व्यवसायीले क्षमताभन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको विभागका अधिकारीहरू बताउँछन्।

दशैंलाई यातायात यातायात व्यवसायीले उच्च आम्दानी गर्ने रुपमा लिने र क्षमताभन्दा बढी यात्रु बोक्ने कारण दुर्घटना बढ्ने जानकारहरू बताउँछन्।

उनीहरू भन्छन्, ‘‘सवारीभित्र गुन्द्रुकजस्तो यात्रु खाँद्ने, छतमा पनि यात्रु राख्ने, चालकले मदिरापान गर्ने, तथा सडकको दुरावस्थाले दुर्घटना बढेको देखिन्छ। साथै सवारी साधनको उच्च गतिले पनि दुर्घटना बढेको छ। लामो दूरीको सवारीमा चालक निदाउँदा पनि दुर्घटना भएको छ।’’

 

अघिल्लो दशैँ (२०७७) मा भएको सवारी दुर्घटनाको विवरण

 

२०७६ दशैँमा भएको सवारी दुर्घटनाको विवरण

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved