सहज र सुलभ छ पाठेघरको मुखको क्यान्सर परीक्षण, तर सरकारी उदासिनताले बढ्दो छ संक्रमण

तीन दिने तालिमप्राप्त स्वास्थ्यकर्मीले पनि पाठेघरको मुखको क्यान्सर भए/नभएको परीक्षण गर्न सक्छन् । तर सबै स्थानीय तहमा यो सुविधा दिने उद्धेश्य राखिए पनि व्यवहारमा छैन।

सहज र सुलभ छ पाठेघरको मुखको क्यान्सर परीक्षण, तर सरकारी उदासिनताले बढ्दो छ संक्रमण

काठमाडौं। टीकापुरकी इन्द्रमायाको जीवन राम्रै चल्दै थियो। तीन सन्तान र श्रीमानसहितको उनको जीवन सुखद नै थियो। तर एक दिन एक्कासी पिसाबमा सेतो पानी बगेको देखिन् उनले। शुरुमा त खासै पिर गरिनन्। केही दिनमा निको होला भनेर घरमै बसिन्। सोचेजस्तो भएन। नजिकैको अस्पतालमा गइन्। अस्पतालमा खासै समस्या छैन, औषधी लिएपछि ठीक हुन्छ भनियो। उनी खुशी हुँदै औषधी लिएर फर्किन्।

औषधी खाएको केहि दिन त निको भयो। तर एक, दुई महीनापछि समस्या झनै बल्झियो। पिसाबमा सेतो पानी बग्ने मात्रै होइन गन्हाउन पनि थाल्यो। यौनसम्पर्क राख्दा दुख्ने, रगत आउने, ढाड दुख्ने हुनथाल्यो। तौल पनि घट्दै गयो। उनी फेरी त्यही अस्पताल पुगिन्। यसपाली भने अस्पतालले औषधी होइन् स्त्री रोग विशेषज्ञसँग जाँच गराउनुपर्ने सुझाव दियो।

उनी स्त्री रोग विशेषज्ञकहाँ पुगिन्। त्यहाँ उनको अन्य जाँचसँगै पाप स्मेयर परीक्षण पनि गरियो। त्यो परीक्षणले पाठेघरको मुखको क्यान्सर भएको सम्भावना देखायो। अनि बायोप्सी गरियो। बायोप्सीबाट थाहा भयो, क्यान्सर त तेस्रो चरणमा पुगिसकेको रहेछ।

उनी काठमाडौं शिक्षण अस्पताल आइपुगिन्। त्यहाँबाट काठमाडौं क्यान्सर सेन्टर पुगिन्। १८ महीना पहिला उनको क्यान्सरको उपचार भयो। पाठेघर फालियो। उनी निको भएर घर पुगिन्।

६ महीनापछि फेरी उनको स्वास्थ्य अवस्था बिग्रँदै गयो। मिर्गौलामा समस्या भएको भन्दै उनलाई काठमाडौं पठाइयो। काठमाडौं आएर जाँच गराउँदा मिर्गौलानेर ससाना गीर्खा देखिए। बायोप्सी गराउँदा त्यहाँ पनि क्यान्सर चौथो चरणमा पुगिसकेको रहेछ।

पहिले पनि क्यान्सर जितिसकेकाले इन्द्रमायालाई फेरी पनि जितिन्छ भन्ने आँट थियो। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार शुरु भयो। ६ महीनासम्म केमोथेरापी गरिने भएपछि उनी श्रीमान्सँगै आउनेजाने गरिरहेकी थिइन्। तीनवटा केमो थेरापीसम्म उनको स्वास्थ्य ठीक नै थियो। तर त्यसपछि भने स्वास्थ्य बिग्रँदै गयो।

“अस्पताल आउन ढिलो गरेकाले उनको क्यान्सर आन्द्रा र फोक्सोसम्म फैलिसकेको थियो”, उनको उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही भन्छन्, “त्यसैले उनलाई बचाउन सकिएन। उपचार शुरु भएको ६ महीनामा उनको निधन भयो।”

पाठेघरको मुखबाट शुरु भएको क्यान्सर शरीरका अन्य अंगसम्म फैलिँदै गएपछि इन्द्रमायाले ज्यान नै गुमाउनुप¥यो।
इन्द्रमाया मात्र होइन पाठेघरको मुखको क्यान्सरबाट वर्षेनी सयौं महिलाले ज्यान गुमाउनुपर्छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार संसारैभरी हरेक वर्ष पाँच लाख जति महिलालाई पाठेघरको मुखको क्यान्सर हुनेगर्छ। तीमध्ये दुई लाखले जीवन गुमाउँछन्। विश्वभरमा महिलामा सबैभन्दा बढी हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर तेस्रो स्थानमा पर्छ।

नेपालमा भने महिलालाई सबैभन्दा बढी हुने क्यान्सर नै पाठेघरको मुखको क्यान्सर हो। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० मा मात्र नेपालमा दुई हजार दुई सय ४४ जना महिलालाई पाठेघरको क्यान्सर पुष्टि भएको थियो। पाठेघरको मुखको क्यान्सर हुनेमध्ये बढीजसो ४० देखि ६० वर्ष बीचका छन्।

के हो पाठेघरको मुखको क्यान्सर ?

पाठेघरको मुखको क्यान्सर मूलतः ह्युमन प्यापिलोमाभाइरस (एचपीभी)को संक्रमणबाट यो क्यान्सर हुन्छ।

स्त्री क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सर हुनेमध्ये ९५ प्रतिशतलाई यही भाइरसको संक्रमण भएको पाइएको छ। शारीरिक सम्बन्धमा सक्रिय हुने २० देखि २५ वर्षको उमेर समूहका महिलामा यो भाइरस अत्याधिक पाइने उनी बताउँछिन्। ३० वर्षको उमेर कटेपछि भने ८० प्रतिशत महिलामा यो भाइरस हराउँदै जान्छ।

‘‘३० वर्ष नाघिसक्दा पनि ह्युमन प्यापिलामा भाइरस रहिरहेका महिला धूमपान, मद्यपान गर्छन् र धेरैसँग यौन सम्बन्धमा गाँसिन्छन् भने उनीहरुलाई पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ”, डा. घिमिरे भन्छिन्।

डा. घिमीरेका अनुसार ह्युमन प्यापिलोमा भाइरस यौन सम्बन्धको माध्यमबाट एक अर्कामा सजिलै सर्न सक्छ। भन्छिन्, “सानै उमेरबाट यौन सम्बन्धमा गाँसिएका, कलिलै उमेरमा बिहे गरेका र पुरुष पार्टनरले धेरै जनासँग यौन सम्बन्ध राखेमा पनि क्यान्सरको सम्भावना बढाउँछ।”

कसरी पत्ता लगाउने ?

समयमै परीक्षण गर्ने हो भने १०, १५ वर्ष पहिला नै पाठेघरको मुखको क्यान्सर भए, नभएको थाहा पाउन सकिन्छ।
डा. सरिता घिमिरेका अनुसार सबैभन्दा भरपर्दो माध्यम त एचपीभीडीएनए स्क्रिनिङ हो।

“भाइरस पत्ता लगाउने भरपर्दो माध्यमका रुपमा एचपीभीडीएनए स्क्रीनिङलाई लिन सकिन्छ। पाठेघरको मुखमा ह्युमेन पापिलोमा भाइरसको सङ्क्रमण छ, छैन भनेर हेर्न मोलिक्युलर ल्याबमा परीक्षण गर्नुपर्छ। तर यो मंहगो पर्ने भइएकाले नेपालमा त्यति प्रयोगमा ल्याइएको छैन”, डा. घिमिरे भन्छिन्।

एचपीभीडीएनए परीक्षण त्यति प्रयोगमा नल्याए पनि नेपालमा पाप स्मेयर र भीआइए परीक्षण भने गरिन्छ।

पाप स्मेयर परीक्षणका लागि पाठेघरको मुखबाट बगिरहेको थोरै पानी निकाली विभिन्न विधि अपनाएर जाँच गरिन्छ। तर यसको प्रभावकारिता भने प्रश्नरहित छैन।

डा. घिमिरेका अनुसार पाप स्मेयरका लागि पानी निकाल्दा खराब कोषिका पर्ने सम्भावना धेरै कम हुने गर्दछ र नतिजा आउने बेला सम्ममा धेरै ठाउँमा जाँच गर्नु पर्ने भएकाले सामान्य ध्यान दिइनएन भने पनि यसको नतिजा सहि नआउनसक्छ।

“एक दुई–पटक क्यान्सर पुष्टि भइसकेका महिलामा यो परीक्षण गर्दा क्यान्सर नदेखिएकाले हामी सँग भएका पूर्वाधारहरुले पाप स्मेयर परीक्षणलाई भरपर्दा मान्न सकिने अवस्था छैन”, उनी भन्छिन्।

यो भन्दा पनि सहज र सर्वसुलभ परीक्षण हो, भीआइए परीक्षण।

एकदमै साधारण र तीनदिने तालिमप्राप्त स्वास्थ्यकर्मीले हेल्थ सेन्टरमै बिना प्रयोगशाला पनि यो परीक्षण गर्न सक्छन्।
एसेटिक एसिडलाई डिस्टिल वाटरमा मिसाएर कपासमा भिजाई पाठेघरको मुखमा लगाएर सेतो दाग छ, छैन भनेर हेर्ने विधि हो यो। “यसमा मुख्यतः सेतो दाग देखियो, देखिएन भनेर हेर्न सक्षम बनाएपुग्छ”, डा. घिमिरे भन्छिन्।

परीक्षण गर्दा देखिने सेता टिकाजस्ता दाग देखिए भने क्यान्सर हुनसक्ने सम्भावना देखिन्छ। त्यस्तो सम्भावना भएका महिलाको बायोप्सी लगायतका परीक्षणबाट क्यान्सर भए, नभएको सुनिश्चित गरिन्छ।

जनशक्ति पनि त्यति नचाहिने, तत्काल नतिजा आउने र सर्वसुलभ भएकाले विकासोन्मुख देशमा भीआइए परीक्षण एकदमै प्रभावकारी मानिएको बताउँछिन् डा. घिमिरे।

“भीआइए टेस्टका लागि प्रविधियुक्त ल्याब नचाहिने भएकाले जस्तोसुकै दुर्गममा पनि जाँच गर्न सकिन्छ तर यसका पनि केहि अवगुण भने अवश्य पनि छन्। परीक्षण गर्नेले राम्रोसँग ध्यान दिन सकेन भने रोग पहिचान गर्न सकिँदैन”, उनी भन्छिन्।

कस्तो छ सरकारको भूमिका ?

नेपाल सरकारले सन् २०१० मा ‘पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रण’ भनेर मापदण्ड बनाई सन् २०११ बाट नर्सहरुलाई भीआइए परीक्षण तालिम दिएको थियो।

स्वास्थ्य सेवा विभाग अन्तरग रहेको परिवार कल्याण महाशाखाले २०१० देखि नै सचेतना फैलाउन थालेको थियो। तर सन् २०१६ बाट सक्रियता अझै बढ्यो।

गत आर्थिक वर्षको बजेटमा नै सरकारले सातै प्रदेशका स्थानीय तहमा लागू हुने गरी ३० देखि ६० वर्षका महिलाहरुको स्तन क्यान्सर र पाठेघर मुखको क्यान्सरको स्क्रीनिङ वर्षमा एक पटक निःशुल्क परीक्षण गर्ने घोषणा गरेको छ ।

त्यस्तै आगामी वर्ष तीन प्रदेशका ९ जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप (एचपीभी) कार्यक्रम संञ्चालन गरिने सरकारले घोषणा गरेको छ । एचपीभी खोपले ७० देखि ८० प्रतिशत हृयुमन प्यापिलोमा भाइरसको जोखिम कम गर्ने क्यान्सर विज्ञहरु बताउँछन्।

सुदूरपश्चिममा एउटा स्थानीय तहका तीनवटा स्वास्थ्य संस्थाबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण सेवा उपलब्ध गराएको परिवार कल्याण महाशाखाकी नर्सिङ प्रशासक कबिता अर्याल बताउँछिन्। भन्छिन्, “सरकारले तय गरे अनुसार सबै स्वास्थ्य संस्थाहरुबाट सेवा उपलब्ध गराउनुपर्ने हो तर तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा कर्णाली प्रदेश लगायत केही ठाउँमा यो सेवा नियमित गर्न सकिएको छैन् तर शिविर मार्फत भने सेवा दिरहेका छौं।”

भीआइए परीक्षण गर्दा क्यान्सर भएको सम्भावना देखियो भने थप परीक्षणका लागि प्रादेशिक अस्पतालमा पठाइने गरिएको छ।

परीक्षणको चुनौती

सरकारले देशभर सबै स्वास्थ्य संस्थाबाट भीआइए परीक्षण गर्ने लक्ष्य राखे पनि व्यवहारमा लागू हुन सकेको छैन।

“७७ वटै जिल्लाका प्रत्येक स्वास्थ्य संस्थाबाट भीआइए जाँच सेवा प्रदान गर्ने लक्ष्य हो तर समायोजनपछि तालिम दिएका स्वास्थ्यकर्मीहरु विभिन्न ठाउँमा .गए। पुनः तालिम सञ्चालन गरिएको छैन जसले गर्दा जनशक्तिको निकै अभाव देखिएको छ। तर कम्तिमा एउटा स्थानीय तहको एउटा स्वास्थ्य संस्थामा भए पनि सेवा संचालन गर्ने योजना रहेको छ”, अर्याल भन्छिन्।

आवश्यकता अनुसार तालिम केन्द्र नहुँदा पनि परीक्षण व्यापक हुन नसकेको उनको तर्क छ।
अर्को कारण हो, जनचेतनाको कमी। “भीआइए परीक्षण शुरु भएका स्वास्थ्य संस्थामा पनि महिलाहरु परीक्षणका लागि आउने गरेका छैनन्”, अर्याल भन्छिन्।

उनी भन्छिन् ‘‘पाठेघर मुखको क्यान्सरबाट बच्न ३० देखि ६० वर्षका महिलाहरुले नजिकैको स्वास्थ्य संस्थामा गएर परीक्षण गर्न आवश्यक छ। यदि त्यहाँ सेवा छैन भने अर्को संस्थामा उनिहरुले पठाउने गर्छन। एक पटक गरेपछि पाँच वर्ष पछि फेरी गर्नुपर्छ।”

भीआइए परीक्षणको दायरा बढाउनका लागि परिवार कल्याण महाशाखाले प्रत्येक स्थानीय तहबाट पहिलो चरणमा कम्तिमा एक जनाका दरले तालिम दिने र बिस्तारै बढाउँदै लैजाने रणनीति बनाएको उनले बताइन्।

“तालिम दिएर पनि सेवा नदिने जनशक्ति भेटिएको छ अब भने सेवा प्रदायकहरुलाई मात्र तालिममा छनोट गर्न निर्देशिकामा लेखिएको छ”, उनले भनिन्।

हालसम्म कतिले परीक्षण गराए र कतिमा क्यान्सर पुष्टि भयो भन्ने तथ्यांक नभए तापनि परीक्षण गराएकामध्ये पाँच प्रतिशत जतिमा क्यान्सर देखिएको उनको अनुमान छ।

पाठेघको मुखको क्यान्सरबाट रोक्न १० देखि १४ वर्षका बालिकालाई ह्युमन प्यापिलोमा भाइरसविरुद्धको खोप लगाउने कार्यक्रम पनि उत्तिकै आवश्यक छ। यो वर्षसम्ममा सातै प्रदेशका तीन–तीन जिल्लामा लागू गरिने तयारी भइरहेको महाशाखाका खोप प्रमुख सागर दाहाल बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved