चिनियाँ र नेपालीको मिलीजुली दशैं (फोटो फिचर)

नेपालीसँग बिहे गरेका चिनियाँ बुहारीहरू सारी तथा कुर्ता सुरुवालमा चिटिक्क परेर आएका थिए भने चिनियाँ ज्वाइँ नेपाली ढाकाटोपीमा गमक्क परेर टीका लगाउँदै थिए।

चिनियाँ र नेपालीको मिलीजुली दशैं (फोटो फिचर)

बेइजिङ। काठमाडौं रामकोटकी ५८ वर्षीय सीतामाया बुढाथोकी शुक्रबार निकै व्यस्त रहिन्। दुई वर्षदेखि चीनमा बस्दै आएकी बुढाथोकीले दशैंका अवसरमा ६५ जनालाई टीका लगाइ दिएकाले व्यस्त भएकी हुन्। उनले नेपालीलाई मात्र होइन झण्डै एक दर्जन चिनियाँलाई पनि दशैंको टीका लगाइ दिइन्।

सँधैँ नाति खेलाएर बस्ने उनी टीकाको दिन चाहिँ ६५ जनाको अभिभावक बनिन्। उनले टीका लगाइदिएका कयौँ व्यक्तिहरूलाई पहिले कहिल्यै देखेकी पनि थिइनन्।
चीनको चच्याङ प्रान्तको यिऊमा छोराबुहारीसँग बस्तै आएकी सीतामायाले सो क्षेत्रमा बसोबास गर्ने नेपालीहरूमा सबैभन्दा जेष्ठताका हैसियतमा नेपाली र चिनियाँलाई टीका लगाइ दिएकी हुन्। टीका लगाउने चिनियाँहरूमा आठजना चिनियाँ बुहारी थिए भने एकजना चिनियाँ ज्वाइँ थिए।

नेपालीसँग बिहे गरेका चिनियाँ बुहारीहरू सारी तथा कुर्ता सुरुवालमा चिटिक्क परेर आएका थिए भने चिनियाँ ज्वाइँ नेपाली ढाकाटोपीमा गमक्क परेर टीका लगाउँदै थिए। नेपाली र चिनियाँहरू पङ्तिबद्ध भएर पालैपालो टीका र जमरा लगाएर सामूहिक फोटो खिचाउन पनि व्यस्त देखिन्थे।

यिऊमा बसोबास गर्ने आठजना भन्दा बढी नेपाली पुरुषले चिनियाँसँग बिहे गरेका छन्। कसैले दश बर्ष अगाडि नै बिहे गरेका हुन् भने कसैले चार वर्ष अगाडि मात्र। चिनियाँ युवती बिहे गरेका नेपालीहरूका बालबच्चा पनि छन्। ती बालबच्चासँगै दम्पतिहरूले सामूहिक रुपमा टीका लगाएर दशैं मनाएका हुन्।

दशैं मनाउने समूहमा एकजना चिनियाँ ज्वाइँ पनि मिसिएका थिए। चच्याङ प्रान्तकै निङ्पोमा बसोबास गर्ने चिनियाँ ज्वाइँले दश वर्ष अगाडि माया मगरले बिहे गरेका हुन्।

सिन्धुपाल्चोककी माया मगरले पनि चिनियाँसँग प्रेम गरेर सन् २०११ मा बिहे गरेकी हुन्। उनका एक छोरा र एक छोरी छन्। यसभन्दा अगाडि उनी दशैंमा कि नेपालमा हुन्थिन् कि नेपालबाट आमालाई यत्तै बोलाउने गर्थिन्। गत वर्षको दशैंमा भने मायाका अगाडि कोरोना भिलेन बनेर उभियो। उनले आमालाई नेपालबाट बोलाउन पाइनन् र आफू नेपाल जान पाइनन्। पोहोरको दशैं न्यास्रो भए पनि यसपटक ठूलो समूहमा दशैं मनाउन पाउँदा दङ्ग परेकी छन् माया। छोराछोरी पनि खुशी भएको उनले सुनाइन्।

नेपालीहरूसँग दशैं मनाउनकै लागि मायाले शुक्रबार आफ्ना छोराछोरीलाई स्कुलबाट बिदा मिलाएकी थिइन्। चीनमा कोरोना महामारीका कारण निकै कडा नियम लागू गरिएको छ। एक प्रान्तबाट अर्को प्रान्तमा गएमा फर्किएपछि पिसिआर परीक्षण गर्नुपर्ने हुन्छ। माया चच्याङ प्रान्तकै निङ्पोमा बस्ने र यिऊ पनि चच्याङ प्रान्तमै पर्ने भएकाले विद्यालयले छोराछोरीलाई दशैं मनाउनका लागि विदा दिएको उनले बताइन्। यदि अन्य प्रान्तमा जानु पर्ने भएको भए विद्यालयले बालबालिकालाई जान अनुमति दिने थिएन।

चिनियाँ र नेपालीहरूसँग मिलेर दशैं मनाउँदै प्रत्यक्ष रुपमा शुभकामना आदानप्रदान गर्दा आफूलाई नेपाल पुगे जस्तै रमाइलो लागेको मायाले नेपाल भ्युजलाई बताइन्।
शुक्रबार यिऊमा गैर आवासीय नेपाली संघ चीन, गैर आवासीय नेपाली संघ यिऊ शाखा र नेपाल चेम्बर अफ कमर्स यिऊ शाखाले संयुक्त रुपमा दशैंको टीका लगाउने कार्यक्रमको आयोजना गरेको हो। नेपाली किचन एभरेष्ट रेष्टुरेन्टमा आयोजित दशैंको टीका लगाउने कार्यक्रममा चिनियाँ र नेपालीले मिलिजुली दशैं मनाएका हुन्।
टीका लगाएपछि सहभागीहरूले नेपाली खाना खाएर नाचनाग गरेको आयोजक विष्णुप्रसाद दुमरुले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved