को हुन् नेपाली फुटबलका ‘गेमचेन्जर’ अब्दुल्ला अलमुताइरी?

उनले लेखेका थिए, ‘म बाहिरिएँ, राजनीतिले नै काम गरोस्।’

को हुन् नेपाली फुटबलका ‘गेमचेन्जर’ अब्दुल्ला अलमुताइरी?

काठमाडौं। नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। बुधबार माल्दिभ्समा भएको खेलमा बंगलादेशसँग बराबरी खेल्दै नेपाल पहिलोपटक साफको फाइनलमा पुगेको हो। यसको क्रेडिट नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीलाई जान्छ।

उनले विशेषगरी नेपालको सदाबहार समस्या स्ट्राइकिङ–लाइनअपको समाधान गरे। नेपाली खेल प्रशंसकले विशेषतः अलमुताइरीको नेतृत्वलाई एकदमै रुचाएका छन्।

तर बंगलादेशसँगको खेललगत्तै उनले फाइनलपछि नेपाल नफर्किने र आफूले साफ अगाडि नै राजीनामा दिइसकेको खुलाए। यसले नेपाली फुटबलप्रेमीलाई दुखित बनाएको छ। को हुन् त फुटबलप्रेमीले एकदमै रुचाएका नेपाली फुटबलका ‘गेमचेन्जर’ अलमुताइरी?

अलमुताइरीले गत वर्ष २२ चैतदेखि नेपालको राष्ट्रिय टिमको कोचको नेतृत्व सम्हालेका थिए। एसियन फुटबल संघ (एएफसी) को पेशेवर लाइसेन्स होल्डर उनी कुवेतका नागरिक हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक वर्षका लागि उनलाई प्रशिक्षकका रुपमा अनुबन्ध गरेको थियो।

एन्फाको अनुरोधमा एएफसी लाइसेन्स भएका उनलाई नेपाली टिम सम्हाल्न कतारको फुटबल संघले पठाएको थियो।

नेपाल आउनुअघि कुवेत र साउदी अरेबियाको कोचको भूमिका उनले निभाएका थिए। त्यसैगरी उनले कीर्गिस्तान यू–१६ टिमलाई २०१९ देखि २०२० सम्म एक वर्ष कोच गरेका थिए।

उनी कोच भएपछि हालसम्म नेपालले १० अन्तर्राष्ट्रिय खेल खेल्यो, जसमा तीन जित, दुई बराबरी र पाँच हार व्यहाेर्नुपर्याे।

नेपाली टिम सम्हालेलगत्तै इराक सँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको थियो।

यसपछि विश्वकप छनोट खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको नेपालले जोर्डन र अस्ट्रेलिया दुवै देशसँग ३–० गोलको हार व्यहोर्नुपर्यो। खेल हारेपनि नेपालभन्दा धेरै बलिया यी टिमसँग अलमुताइरीको प्रशिक्षणमा नेपालले पहिलेको भन्दा सुधारिएको फरक शैलीको खेल देखाएको थियो।

विशेषगरी फ्रन्टलाइन नचल्नु अर्थात् गोलको मौकालाई सदुपयोग गर्न नसक्नु नेपालकाे सदाबहार समस्या थियो। अलमुताइरी आएपछि यो समस्यालाई इंकित गर्दै धेरै सुधारको संकेत देखाएका थिए।

त्यस्तै उनले टिममा रहेका बढी उमेरका पुराना अनुहारका खेलाडीको ठाउँमा नयाँ जोशिला युवा खेलाडीलाई प्रतिस्थापन गरेका थिए। सेप्टेम्बर २ र ५ मा नेपालमा नै भएको भारतसँगको मैत्रीपूर्ण खेलमा अलमुताइरीले एघारजना नै नयाँ अनुहारलाई मैदानमा उतारेका थिए।

जारी साफको तयारीका रुपमा खेलिएको उक्त मैत्रीपूर्ण खेलमा पहिलो खेलमा नेपालले भारतसँग १–१ गोलको बराबरी खेलेको थियो भने अर्को खेलमा २–१ ले पराजित गरेको थियो।

नेपालभन्दा धेरै बलियो मानिएको भारतसँग नेपालले घरेलु मैदान दशरथ रंगशालमा राम्रो प्रदर्शन देखाउँदै नेपाली फ्यानको मन जितेको थियो। सोही मैत्रीपूर्ण खेलले अलमुताइरीलाई नेपाली फुटबल समर्थकमाझ निकै चर्चित बनाएको थियो।

त्यसैगरी मैदान सँगसँगै समाजिक सञ्जालमा पनि सक्रिय अलमुताइरी फ्यानहरुसँग नजिक थिए। उनका हरेक स्टाटसहरु भाइरल हुने गर्थे।

यसैबीच गत साउनमा उनले सामाजिक सञ्जालमा आफूले कोचबाट राजीनामा दिन लागेको जसको मुख्य कारण एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ्ग रहेको स्टाटस राखे। जुन स्टाटसले नेपाली फुटबलमा तरंग ल्याइदियो त्यसपछि नेम्वाङ्गले आफ्नो नाम विनाकारण जोडिएको भन्दै निष्पक्ष छानबिनको माग गरेका थिए।

त्यसपछि राष्ट्रिय खेलकुद परिषद्ले बनाएको छानबिन समितिले अलमुताइरीलाई आचरण सुधार गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो।

यो विवादमा घुमाउरो शैलीमा आफै दोषी देखिएपछि अलमुताइरीले १ महीनामा दोस्रो पटक नेपाली टिम छाड्ने घोषणा गरे। उनले लेखेका थिए, ‘म बाहिरिएँ, राजनीतिले नै काम गरोस्।’

यसपछि अलमुताइरी माल्दिभ्समा हुने साफमा केन्द्रित भएका थिए। भारतसँगको दुई मैत्रीपूर्ण खेलपछि साफको तयारीका लागि नेपाली टिम बन्द प्रशिक्षणका लागि कतार गएको थियो। त्यहाँ करीब दुई हप्ताको प्रशिक्षणपछि नेपाली टिम साफको लागि माल्दिभ्स पुगेको थियो।

माल्दिभ्समा नेपाललाई पहिलोपटक नेपाल पहिलोपटक साफको फाइनलमा पुगेपछि उनले दुखी हुँदै नेपाल छाड्ने बताएका हुन्।

याे पनि हेर्नुहाेस्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved