काठमाडाैं। नेपाल राष्ट्रिय फुटबल टिम पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
माल्दिभ्समा जारी प्रतियोगिताको लिग चरणको अन्तीम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल ईतिहास रच्न सफल भएको हो। खेलसँगै रमाएका नेपाली फुटबलप्रेमीहरू त्यसपछि लगत्तै दुखी भएका छन्। कारण हो एकदमै रुचाइएका नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्ला अलमुताइरीको राजीनामा।
बंगलादेशसँगको खेलपछि आज अलमुताइरीले पत्रकार सम्मेलनमा राजीनामा दिने निर्णय गरेका हुन्। यस्तो छ खेलपछि उनले गरेको सम्बोधन:
शुरुआतमा धन्यवाद बंगलादेश राष्ट्रिय टोलीलाई, उनीहरूले आफ्नो देशको लागि निकै मिहिनेत गरे। आज गोलरक्षकले रातो कार्ड खानु नै खेल बदल्ने क्षण बन्यो। आज भाग्य हाम्रो पक्षमा थियो। म भगवानलाई धन्यवाद भन्न चाहन्छु। आज मैले भगवानको कारण नै विश्वको सबैभन्दा खुसी मान्छे बन्न पाएको छु।
पछिल्लो तीन दिन मेरो लागि निकै कठिन समय थियो। उनीहरूले मेरो बारेमा धेरै बोलेका थिए। मान्छेहरूलाई मेरो बारेमा नराम्रो बोल्न ठाउँ दिने प्रयास गरेका थिए। हिजो हाम्रो ३ बजे प्रशिक्षण थियो। त्यस कारण सहायक प्रशिक्षक र अर्का खेलाडीले पत्रकार सम्मेलनमा आएका थिए। तर एक मिडियाले त्यसबारे पनि नराम्रो लेख्यो। प्रशिक्षकको सम्मान गरेन।
हामी पनि मानिस हौं। हाम्रो पनि परिवार छ। म यहाँ तपाईहरूलाई सोध्छु, के तपाईंहरू अन्य मान्छेले म्याच फिक्सिङ गर्यो लेख्दा खुसी हुनुहुन्छ ? मलाई मेरो ११ वर्षको छोराले यसबारे सोध्यो। मैले उसलाई के जवाफ दिनु ? यो राम्रो पत्रकारिता भएन।
मैले नेपालमा आएको पहिलो पत्रकार सम्मेलनमा भनेको थिएँ। हामी साफको फाइनल पुगेर इतिहास रच्नेछौं। हामी एसियन कपको तेस्रो चरण पुग्नेछौं। र नेपाललाई गर्व गर्न लायक टोली बनाउनेछौं भनेको थिएँ। तर आज नेपाल मात्र होइन, दक्षिण एसिया हामीलाई देखेर गर्व गर्नेछ।
र साफ च्याम्पियनसिपको फाइनल खेल मेरो लागि नेपाली राष्ट्रिय फुटबल टोलीका लागि अन्तिम खेल हुनेछ। म खेलपछि फेरि नेपाल फर्केर जाने छैन। मेरो नाम प्रयोग गरेर पैसा कमाउने मिडियाले नै राष्ट्रिय टोली चलाओस्।
मैले तीन दिनदेखि केही खाएको छैन, सुत्न पाएको छैन। आज मलाई अन्य केही प्रश्न नगर्नुहुन अनुरोध गर्दछु। म आफ्नो परिवारसँग बोल्न चाहन्छु।
मैले प्रतियोगिता शुरु हुनुअघि नै राजीनामा दिएको थिएँ। साफ च्याम्पियनसिप सकिएपछि मात्र राजीनामा लागु हुने बताएको थिएँ।
भारत र माल्दिभ्स दुवै राम्रो टोली हो। मैले को आउँछ भन्न सक्दिन। दुवै साफको इतिहासका राम्रो टोली हो। जो आएपनि हामीले खेल्नेछौं। र हामी तयार हुनेछौं।