जनकपुर। दशैंको घटस्थापनको दिनदेखि मिथिलाका बस्तीहरुमा बज्ने ‘ढोल’ संस्कृति देखिन छाडेका छन्। यस्तै नवरात्री अवधिभर मिथिलानी (मिथिलाका नारी) हरुले दृष्टात्मा भगाउन खेल्ने ‘झिझिया नृत्य पनि पछिल्लो समय हराउँदै गरेको छ।
मिथिला क्षेत्रमा दशैंलाई ‘दशहरा’ भन्ने लोक परम्परा रहेको छ। दशहरा भन्ने शब्द बाहेक लोकपरम्पराका अन्य संस्कृति भने हराउँदै जाँदा स्थानीय परम्परा नै लोप हुने खतरा बढ्दै गएको हो।
लोकरीति हराउँदै जाँदा मिथिलाका पाका पुस्तालाई दशैं पर्व आएको महशुस नै कम भएको पाइन्छ। “कतै ढोल बजेको सुनिदैन, न झिझिया नाच नै देखिन्छ, दशैं आएको जस्तो कसरी महशुस गर्ने,” भङ्गाहा नगरपालिका–४ का ८५ वर्षिय रामनन्दन महत्तो भन्छन्।
दशैं आएको महशुस नगर्ने महत्तो एक मात्रै व्यक्ति भने होइनन्। उनीसँगै सोही स्थानमा भेटिएका अन्य व्यक्तिहरुले पनि लोकपरम्परा हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका छन्। मिथिलामा दशैंको नवरात्री शुरु भएसँगै टोल–टोलमा ‘दशैं के ढोल’ भन्दै चमार नाइकेले ढोल बजाउने चलन थियो। भने, महिला समुह झिझिया नृत्यमा मंग्न हुने गर्थे।
जलेश्वर नगरपालिका–५ चौडिया बस्तीकी दानादेवी नेपाली भन्छन्, “पुराना परम्परा हराउँदै जाँदा चिन्ता लाग्छ, हाम्रो परम्परा नै नरहँदा पहिचना के रहला।” परम्परासँग आफ्नो अतित्व जोडिने हुँदा परम्परा हराउँदा आफ्नो अस्तित्व नै खतरामा पर्ने हो कि भन्ने चिन्ता उनमा देखिन्छ।
“ढोल बज्दा साना बच्चाहरु रमाउँदै अघिपछि जुम्मिन्थे, अनी पो दशैं आएको जस्तो लाग्थियो,” मिथिला क्षेत्रका स्थानीय भन्छन्, “अब यी सबै दन्त्यकथा जस्तै भएका छन्।” लोकपरम्परासँगै मिथिला संस्कृति नै खतरामा पर्ने डर स्थानीयलाई छ।
यहाँको ढोल संस्कृतिसँग जातिय परम्परा जोडिदाँ पनि समस्या देखिएको हो। चमार जातिले बजाउने ढोल नयाँ पुस्ताका चमार युवाको रुचिमा पर्दैन भने बुढा पुस्ता ढोल बजाएर हिड्न सक्दैनन्।
दलित समुदायभित्र पर्ने चमार जातिका नयाँ पुस्ताका युवाहरु रोजगारीका लागि भारत र अन्य अरब देश जान थालेपछि पुख्र्यौली रितिथिती जोगाउन गाह्रो भएको स्थानिय चमार समुदायका अगुवा व्यक्तिहरु बताउँछन्।
Facebook Comment
Comment