…अनि कृष्ण दाइले बन्दुक पड्काउनुभयो

गंगाजीको किनारमा भट्टराई दाजुको होटल थियो। त्यो दक्षिणाले हामी चुकाउनी र बम्बैसैन मिठाइ खान्थ्यौं। कुराउनी घोट्दा घोट्दा रातो मिठाइ बन्थ्यो, त्यही हो बम्बैसैन मिठाइ। त्यतिबेला बम्बैसैन निकै प्रख्यात थियो।

…अनि कृष्ण दाइले बन्दुक पड्काउनुभयो

रिडी सानो नेवारहरूको बाहुल्यता भएको बजार। धार्मिकस्थलहरू भएको ठाउँ। गंगाजी (कालीगण्डकी नदी) पनि त्यहीँ बग्ने। शालिग्राम पाइने पवित्र धर्मस्थल। त्यसैले पनि धार्मिक आस्था अत्यन्तै हुने।

दशैं लागि सकेपछि आमाहरूको चटारो हुन्थ्यो। दशैँभरी दलित समुदायका केही घर घर पुगेर उत्कृष्ट कलाकारिताका साथ मालसी बजाउने गर्थे। मालसी जगाउने गरिन्थ्यो। दशैं आउनेबित्तिकै बिहानै घर घर पुगेर मालसी बजाएर जगाउने भन्ने हुन्थ्यो। मालसीसँगै बजाइन्थ्यो बाँसुरी। त्यो धून एकदमै मिठो हुन्थ्यो। हामी सानै भएपनि चाँडै उठ्ने गथ्यौं त्यो दिन। नुहाइधुवाइ गरेर आउँथ्यौँ।

दशैँका बेला जमरा राखिन्थ्यो। मन्दिरै मन्दिर छ रिडीमा। घटस्थापनापछि पूजा राखिन्थ्यो। चामलको पिठोले थाली सजाइदिनुहुन्थ्यो आमाले, हामी मन्दिरमा गएर पूजा गथ्यौं।

सबैभन्दा रमाइलो टीका लगाउने भयो। टीका लगाउँदा नेवारमा समुदायमा भोज खुवाउने चलन छ। आमाहरूले सालको पात टिपेर ल्याएर टपरी लगाउनुहुन्थ्यो। हामी रहर मानेर हेथ्यौं। हामीलाई टपरी लगाउन सिकाउनुहुन्थ्यो। टीका लगाएपछि दक्षिण पाउँथ्यौँ। त्यतिबेला दक्षिणा कति नै हुन्थ्यो र ! बढी दिए एक मोहर दिने चलन थियो। गंगाजीको किनारमा भट्टराई दाजुको होटल थियो। त्यो दक्षिणाले हामी चुकाउनी र बम्बैसैन मिठाइ खान्थ्यौं। कुराउनी घोट्दा घोट्दा रातो मिठाइ बन्थ्यो, त्यही हो बम्बैसैन मिठाइ। त्यतिबेला बम्बैसैन निकै प्रख्यात थियो।

चाडपर्वमा भोजमा खसी काट्ने चलन थियो। टीका लगाउन जाँदाखेरी बजैले धेरै चिउरा नखानु धेरै धेरै मासु खाएर आउनु भन्नुहुन्थ्यो। त्यो म कहिल्यै बिर्सिन्न।

सबैभन्दा रमाइलो त दशैंको बेला बजारमा कौडा खेल्थे। नोटको चलन थिएन मोहर हुन्थ्यो। हामी जितौरीका लागि वरिपरि ढुकेर बस्थ्यौं र जित्नेसँग जितौरी माग्थ्यौं। जित्नेले एक मोहर दिन्थे। त्यै एक मोहरको चारओटा अण्डा आउँथ्यो त्यतिबेला। त्यति शक्तिशाली थियो एक मोहर।  जित्नेले खालबाट ठूलो पैसा सोहर्थे। हामी वरिपरि घेरेर हात अगाडि पसार्थ्यौं, सबैको हातमा एक एक मोहर राखिदिन्थे। एक मोहर पाउँदा त स्वर्गै पाए जस्तै हुन्थ्यो। हामी भट्टराई दाजुको पसलमा गइहाल्थ्यौं।

दशैंको बेला नयाँ लुगा पाइन्थ्यौं। नयाँ लुगा पाउँदा खुशीको सिमै हुन्थेनँ।

मन्दिरमा नवमीका दिन राँगा बलि दिने चलन थियो। हामी साथीहरू मिलेर राँगा काटेको हेर्ने योजना बनयौँ। पौवामा राँगो काटेको हेर्नेको भिड थियो। मोटो न मोटो राँगो बाँधिएको थियो। हेर्दै डरलाग्दो राँगो। सबै बलि दिन्छ बलि दिन्छ भनेर उत्साहित भएर बसेका थिए। कृष्ण दाइ, पछि उहाँ बित्नुभयो। उहाँ बन्दुक चलाउनमा कालिगढ। हामी टन्नै बसेका थियौँ। डरलाग्दो राँगो बाँधिएको थियो। अनि कृष्ण दाइले बन्दुक पड्काउनुभयो। परैबाट बन्दुकको गोली राँगाको निधारमा लाग्यो, रगतको भल बग्यो। त्यो दृश्य कहिल्यै पनि बिर्सिन सक्दिनँ। त्यो एकदमै नरमाइलो लागेको क्षण थियो। त्यसपछि म कहिल्यै बलि दिने ठाउँमा गइनँ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved