काठमाडौं। देशको राजधानीको केन्द्रविन्दूमा अवस्थित असन बजार। भन्छन्, राजधानीको मुटु हो यो। इतिहासदेखि नै व्यापारको केन्द्र रहिआएको छ यो। के पाइँदैन यहाँ ? नुनदेखि सुनसम्म सबथोक। र, यहीँ भेटिएका थिए, डेकबहादुर श्रेष्ठ। उमेर ५१। घर रामेछाप।
खुट्टामा मोजा र चप्पल थियो। त्यो पनि एउटा गोडाको च्यातिएको मोजा। जिउमा निलो रङको ट्रयाकसुट।
करिब दश मिनेट हिँडेपछि उनको गन्तव्य आइपुग्यो। भारी बिसाए। धुलो लागेको ट्रयाक, पसिनाले भिजेको टिसर्ट, भारी बोकेर थकित शरीर। त्यो पनि बिसाए। थाकेका थिए। अनुहारको पसिना पुछे। नाम्लो झिकेर पुनः अर्को खेप गर्न लागे।
दशैकौंदेखि यसरी नै असनमा भारी बोकेर उनको गुजारा चलिरहेछ।
काठमाडौं कहिले आए ? समयसाल त उनलाई पनि सम्झना छैन। “भयो होला २० वर्षजति”, भन्छन् उनी।
काठमाडौं आएपछि काम खोज्दै पुगे गलैंचा कारखाना। गलैंचा बुन्न सिके। निकै समय लाग्यो काम सिक्न। मेहनत पनि उस्तै। तैपनि हिम्मत गरे। सिकिछोडे। उनको अनुभव बढ्दै थियो तर गलैंचा कारखाना नै बन्द भए। काठमाडौंका गलैंचा कारखानाहरू बन्द भएर बेरोजगार हुनेमध्ये डेकबहादुर पनि एक थिए।
“गरिखाने रोजिरोटी बन्द भएपछि म जस्तै धेरै मानिसहरू कामको खोजिमा भौतारिए। पढेको भए काम गर्ने अवसर पाउँथे हुँला। पढाई नभएका कारण काम पाउन निकै मुश्किल भयो। बचत भएको पैसा पनि काम खोज्दै गर्दा सकिन लाग्यो। त्यसपछि जस्तो हुन्छ त्यस्तै काम गर्छु भन्ने अठोट गरे”, त्यतिबेला काम नपाउनुको सास्ती अझै सम्झिन्छन् उनी।
“निदाउन खोज्दा सोच्छु बुढेसकालमा बिरामी परे कसले हेर्ला ? काम गर्न नसक्ने गरी थला परेपछि को सहारा बन्ला ? मनमा अनेक प्रश्न खेलिरहन्छन् ।”
अन्ततः भारी बोक्न आइपुगे उनी। बिस्तारै असनका साहुहरूसँग चिनजान बढ्दै गयो। काम पर्दा उनीहरूले बोलाउन थाले।
“मेहनत बढी पर्ने भए पनि त्यसबेला भारी बोक्ने बाहेक अरू काम पाइएन। भारी बोक्ने बित्तिकै हातमा पैसा पर्ने भएकाले यो काम पनि ठीक छ भन्ने लाग्यो”, सुनाउँछन् उनी।
त्यसपछि वर्षौं बिते। अब त उनका पैतालाले पनि असनका ईट्टा चिन्न थालिसकेका छन्। तर सहज छैन भरियाको जीवन। मेहनत जति कमाई छैन। धुलोमैलो हुनुपर्ने। कमाई कम। कमायो कमायो खान ठिक्क। बचत छैन।
“भविष्यका लागी अहिलेसम्म बचत गर्न सक्या छैन। महिनामा चार हजार डेरा भाडा र होटलमा खाना खाँदा महिनामा कमाएको महिनालाई नै ठिक हुन्छ”, भन्छन् उनी।
प्रकोपले थपेको पीर
बचत नहुनुको मार उनले दुईवटा प्रकोपमा नराम्ररी खेपे। पहिलो भुकम्प। अनि कोभिड।
“भुकम्पमा त ज्यान जोगाउनै नै कठिन भयो। टहरोमा बसेका कारण कोठाबाट उम्कन त पाएँ। तर भुकम्प फर्कने डरले असन आउन पाइला नै सरेनन्”, सुनाउँछन् उनी, “खाना पनि पाउन गाह्रो भयो।”
त्यो भन्दा पनि सकस त कोभिड महामारीको बेलामा पर्यो उनलाई।
“लकडाउन भएपछि गरिखाने बाटो बन्द भयो। कोठामा बसेर दुई छाक खान नै मुश्किल पर्याे। कमाएपछि तिर्छु भनेर उधारो माग्दा सामान सकिएको छ भन्थे। धेरै ठाउँमा गएर बुझेपछि मात्र खानेकुरा पाइयो”, उनी सास्ती सुनाउँछन्।
अहिले उनी काठमाडौंस्थित किलाघरमा टहरामा डेरा लिएर बसेका छन्। भन्छन, “ढलान घरमा पैसा तिर्न सके पो, महगो भन्छ, टाउको लुकाउने ठाउँ चाहिएको हो त्यसैले टहरोमै बस्छुु। पानी पर्ने सिजनमा छानाबाट पानी चुहिएर निदाउन सकिँदैन। चिसोमा जस्ताबाट शीत चुहिएर हैरान हुन्छु।”
पाइएन सुख
डेढ वर्ष हुँदा डेकबहादुरले बुबा गुमाइसकेका थिए। आमाले कष्ट गरेरै दुई छोरी र दुई छोरालाई हुर्काइन्। तर चारैजनाले पढ्ने अवसर पाएनन्।
“परिवारको आर्थिक अवस्था निकै कमजोर थियो। त्यसैले हामी चार जना छोरा छोरी कसैले पनि पढेनौं”, उनी सुनाउँछन्, “त्यतिबेला अहिलेको जस्तो स्कुल जानुपर्छ, पढ्नुपर्छ भन्ने सोच एकदमै कम मानिसमा थियो। घरमा गाईवस्तु धेरै थिए। आमालाई सहयोग गर्न घाँस दाउमा काट्न जान्थे।”
खेतबारी खासै थिएनन्। भएकामा अन्न कम उब्जिन्थ्यो। गाउँमा जीवन नचल्ने देखेरै उनी सुख खोज्न काठमाडौं छिरे।
“सानै देखि दुःख काटेको मान्छे दुःखले कहिल्यै साथ छोडेन”, उनी भन्छन्, “काठमाडौं गएर पैसा कमाउँ मेरो पनि सुखका दिन आउँछ भन्ने सपना देखेर काठमाडौं छिरेको २० वर्ष हुँदा पनि अवस्था उस्तै छ।”
“कुनै दिन काम पाइन्छ, कुनै दिन खान पुग्ने काम पनि हुदैँन” उनले थपे, “चिनेका साहूले काम भए फोन गरेर बोलाउँछन् नभए त्यसै दिन बिताउनुपर्छ।”
बढ्दो एक्लोपन
डेकबहादुर सानो छँदा नै दिदीहरूको विवाह भइसकेको थियो। दाइले पनि घरजम गरिसकेका थिए।
“त्यतिबेला विहे गर्न मन लागेन, अहिले त उमेर पनि गइसक्यो”, उनी सुनाउँछन्।
जीवनसाथी, परिवार कोही नहुँदा उनको एक्लोपन उमेरसँगै बढ्दै छ। र थपिँदै छ चिन्ता पनि।
“कहिलेकाहिँ निदाउन खोज्दा सोच्छु बुढेसकालमा बिरामी परे कसले हेर्ला। अहिले त काम गर्न सक्छु कुनै दिन काम गर्न नसक्ने गरी थला परे कसले हेर्ला। मनमा केके प्रश्न खेलिरहन्छन्”, दुखेसो पोख्छन् उनी।
एक्लोपन कति सकसपूर्ण छ भने उनी खाने साथी पाउनकै लागि होटलमा जान्छन्। भन्छन्, “एक्लै पकाएर खान जाँगर लाग्दैन बल्लतल्ल पकायो एक्लै दुइ गाँस खानै मुश्किल पर्छ। होटलको खाना त्यत्ति मिठो त लाग्दैन त्यहि पनि यता उता मान्छेको अनुहार हेरेर खाँदा खाना बढि रुच्छ भनेर होटलमा खाना खान्छु।”