ब्राजिल बराबरीमा रोकिँदा अर्जेन्टिनाले भने उरुग्वेमाथि शानदार जित निकालेको छ। फिफा विश्वकप २०२२ छनोटअन्तर्गत आज बिहान कोलम्बियाको मैदानमा भएको खेलमा ब्राजिल बराबरीमा रोकिएको हो।
विश्वकप २०२२ को छनोट चरणका खेलमा ब्राजिलको यो पहिलो बराबरी हो। उसले १० खेलमा ९ मा जित निकाल्दै अपराजित छ। शीर्ष स्थानमा रहेको उसको २८ अंक छ। त्यसैगरी आज बिहान नै भएको अर्को खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिनाले उरुग्वेमाथि जित दर्ता गरेको छ।
अर्जेन्टिनाका कप्तान खेलको ३८ मिनेटमा खाता खोलेका थिए। त्यस्तै रोड्रिगो डि पउलले ४४ मिनेटमा दोस्रो गोल गरे। पहिलो हाफमा २-० को नतिजा निकालेको अर्जेन्टिनाका लागि लौटेरो मार्टिनेजले गोल थप्दै ३-० को जित दिलाए। उनले ६२ मिनेटमा गोल गरे।
जितसँगै १० खेलमा ६ जित र ४ बराबरीसँगै अर्जेन्टिना दोस्रो स्थानमा छ। उसको २२ अंक छ। उरुग्वेले भने ११ खेलमा ४ जित ४ बराबरी र ३ हार बेहोरेको छ।
त्यस्तै राति नै भएका अन्य खेलहरूमा चिलीले पाराग्वेलाई २-० ले, बोलिभियाले पेरूलाई १-० ले र भेनेजुवेलाले इक्वेडरलाई २-१ गोल अन्तरले हराएको छ।