उपेन्द्रको ‘यादव’ मोह

शुक्रबार जसपाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा राजेन्द्र श्रेष्ठ नेतृत्वमा रेणु यादव, महेन्द्र यादव र रामसहाय यादवलाइ मन्त्री बनाएको थियो। जसपाका चारमध्ये तीन मन्त्री यादव थरकै भएपछि अध्यक्ष उपेन्द्रमाथि प्रश्न तेर्सिएको छ।

उपेन्द्रको ‘यादव’ मोह
फाइल तस्वीर

काठमाडौं। मन्त्रिपरिषद् विस्तारसँगै जसपा नेपालमा तीव्र असन्तुष्टि देखिएको छ। अध्यक्ष उपेन्द्र यादवविरुद्ध जसपाका स्थानीय नेता-कार्यकर्ताले  वीरगन्जमा शुक्रबार र शनिबार प्रदर्शन मात्रै होइन,उनको पुतला नै जलाए।

एक दर्जनभन्दा बढी नेताहरूले पनि समाजिक सञ्जालमा खुलेर जसपामा मन्त्री चयनको विषयप्रति प्रश्न उठाएका छन्। उनीहरूले जसपाबाट संघीय सरकारमा पठाइएका मन्त्री असमावेशी तवरले भएको र अध्यक्ष उपेन्द्रले आफ्नो तजबिजमा चयन गरेको आरोप लगाएका छन्।

पूर्वराजपाबाट आएका नेताहरूले आफूहरूलाई पार्टीको अधिकारिकताका लागि मात्र प्रयोग गरेको भन्दै पनि समाजिक सञ्जालबाट गुनासो पोखे। शुक्रबार जसपाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा राजेन्द्र श्रेष्ठ नेतृत्वमा रेणु यादव, महेन्द्र यादव र रामसहाय यादवलाइ मन्त्री बनाएको थियो। जसपाका चारमध्ये तीन मन्त्री यादव थरकै भएपछि अध्यक्ष उपेन्द्रमाथि प्रश्न तेर्सिएको छ।

अध्यक्ष यादवले अहिलेसम्म यसबारेमा मुख खोलेका छैनन्। जसपा कार्यकारणी र संसद बैठकले अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भटराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मा दिएका थिए। संसदीय दल र कार्यकारणी दुवै बैठकमा नेताहरूले यसअघि पार्टीको तर्फबाट अवसर पाइसकेका नेताहरू नपठाउन नेतृत्वलाई सुझाव दिएका थिए।

तर मन्त्री चयनको क्रममा त्यो पालना नभएको नेताहरूले बताएका छन। मन्त्री चयनलगत्तै जसपा नेता मोहम्मद इस्तियाक राईले प्रदेश २ बाट तीन जना र बागमतीबाट एक जना मन्त्री बनाएको र अन्य प्रदेशको प्रतिनिधत्व नगराएको भन्दै असन्तुष्टि जनाए। उनले पार्टीको राम्रो पकड रहेको लुम्बिनी प्रदेशबाट एक जना पनि मन्त्री नबन्नुलाई दुर्भाग्यपूर्ण भने।

स्वयं अध्यक्ष यादवका छोरा अमरेन्द्रले मन्त्रिपरिषद् विस्तारबारे जसपाको निर्णयप्रति असन्तुष्टि जनाएका थिए। अमरेन्द्रले समाजिक सन्जालमा पार्टीले चयन गरेको मन्त्रीमध्ये राजेन्द्र श्रेष्ठ र रामसहाय यादवलाई मात्र बधाई दिन सक्ने भन्दै मन्त्री चयनले आफूलाई दुःखी तुल्याएको उल्लेख गरे। अमरेन्द्र विरागटनगर बसेर जसपाको स्थानीय कमिटीको नेतृत्व गर्दै राजनीतिमै सक्रिय छन्।

किन तीन यादव मात्रै ?

जसपाले मन्त्री चयन गर्न तीन जना शीर्ष नेताहरू (उपेन्द्र यादव, बाबुराम भटराई र अशोक राई)लाई अन्तिम निर्णय लिने जिम्मा दिएको थियो। तर मन्त्री चयन पूर्ण रूपमा यादवको तजबिजमा भएको थियो।

वरिष्ठ नेता राई काठमाडौंबाहिर कार्यक्रममा रहेकाले उनको मन्त्री चयनमा कुनै भूमिका नरहेको नेताहरू बताउने गर्छन्। बाबुराम भटराईसँग यादवले छलफल गरे पनि उनको सल्लाहअनुसार निर्णय नभएको नेताहरूको भनाई छ। भट्टराईले समावेशी ढंगले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी मन्त्री चयन गर्न सुझाएका थिए। तर यादवले आफूअनुकूल तीनै जना यादव थरकै मन्त्री बनाए।

अध्यक्ष यादवको यो कदमप्रति चौतर्फी प्रश्न उठेको छ। मन्त्रीहरू चयन हुनेबित्तिकै जनकपुरमा स्थानीय जसपा नेता उमेश साहले जसपा परित्याग गरेको घोषणा समाजिक सञ्जालमार्फत गरे।

धेरै नेताहरूले समाजिक सञ्जालमार्फत उपेन्द्रको विरोध गरे। पर्सामा त उनको पुतला नै जलाउने काम भयो। मन्त्री चयनबारे जसपाकै नेता रामरिझन यादवले तराई मधेशमा यादव मात्रै नभएका भन्दै पार्टीको निर्णय तत्काल सच्याउन पार्टी नेतृत्वलाई समाजिक सञ्जालबाटै आग्रह गरे। उनले यो निर्णयमा पुनर्विचर नभए पार्टीलाई गम्भीर क्षति हुने चेतावनी दिए। तर अध्यक्ष यादवले त्यसलाई खासै वास्ता गरेनन्।

जसपाका एक शीर्ष नेता भन्छन्, “मन्त्री चयनमा पूर्वप्रधानमन्त्री भट्टराईको सल्लाहलाई समेत अध्यक्ष उपेन्द्र यादवले बेवास्ता गरे। अरू नेता/कार्यकर्ताका गुनासा सम्बोधन गर्लान् भन्ने कुनै ठाउँ छैन।”

अध्यक्ष यादवनिकट नेताहरूका अनुसार उपेन्द्रले मन्त्रीमा पनि यादवबाहेक अन्यले अवसर नपाउने सन्देश दिएको जिकिर गर्छन्। रामरिझन भन्छन्, “यो आत्मघाती साबित हुन सक्छ।”

यद्यपि उपेन्द्र यादवमाथि मधेशी जनअधिकार फोरम हुँदा देखिको यो आरोप हो। पहिलो संविधानसभाबाट संसदीय राजनीति शुरु गरेका यादव तत्कालीन फोरममा केन्द्रदेखि जिल्लासम्म वर्चश्व राख्ने नेता हुन्। त्यहाँ पनि उनको प्रश्न उठेको थियो।

फोरम पटक पटक फुट्नुको तत्कालीन एक कारण नेताहरूले यसलाई पनि जोडेका थिए। पटक पटकको फुटपछि यादव कमजोर भए। उनले अशोक राईसँग पार्टी एकता गरेर पार्टीलाई मधेशको ‘ट्याग’ लाग्नबाट हटाएका थिए।

त्यतिबेला मधेशमा यादवको चर्को आलोचना भयो। तर उनले मधेशको ‘यादव’ क्लस्टरलाई मात्र समातेर राष्ट्रिय राजनीतिमा आफ्नो स्पेश बढाउन चाहेको सन्देश दिए। आलोचना हुन थालेपछि यादवले त्यसलाई खण्डन गरे र व्यावहारमा त्यही प्रकट भइरह्यो।

बाबुराम भटराईको नयाँ शक्तिसँग एकीकरण गरेपछि पनि यादवकै प्रभाव रहिरह्यो। जसपा बनेर फुट्न लागेको बेला त्यो झनै प्रकट भयो। यादवको पक्षमा र महन्थ ठाकुरको विपक्षमा यादव पक्षका केन्द्रदेखि तल्लो तहसम्मका यादवहरू उनको पक्षमा खुलेर समाजिक सन्जालमा प्रकट भए। ठाकुर पक्षको विरोधमा उत्रिए।

उपेन्द्र यादवनिकट नेताहरूका अनुसार बेलाबखत कमजोर पर्दा यादवकै साथ मात्र आफूलाई रहने गरेको उपेनद्रको अन्तिम निष्कर्ष रहेको बुझिइएको छ। त्यही भएर एक महिनाअघि मात्रै पार्टी अधिकारितामा त्यत्रो सहयोग गरेका पूर्वराजपा पक्षलाई ‘साइड’ लगाउँदै आफ्ना पुराना तीन यादव सहकर्मीलाई उपेन्द्रले मन्त्री बनाएका नेताहरू बताउने गर्छन्।

पहिलो संविधानसभाको कार्यकालमा पनि उपेन्द्रले नेतृ रेणु यादवलाई मन्त्री बनाएका थिए।

असन्तुष्ट पक्ष बलियो

मन्त्री चयन पश्चात जसपामा अहिले रँडाको मच्चिएको छ। पूर्वराजपादेखि यादवकै पूर्वपार्टीको एउटा समूह अध्यक्ष उपेन्द्रको विरोधमा देखिएको छ। उनीप्रति पूर्व राजपा समूह र नेता इस्तियाक राईको समूह असन्तुष्ट देखिएपछि यादवलाई अगामी दिन पार्टी व्यवस्थापनामा चुनौती पर्ने देखिन सक्छ।

यद्यपि यादवले प्रदेश २ मा केही नेताहरूको व्यवस्थापन गरेर पूर्वराजपा पक्षलाई मत्थर पार्न खोज्दै छन् भने अन्यलाई पेलेर जाने राणनीतिमा छन्। अहिले देखिएको असन्तुष्टि कता र कसरी बढ्छ भन्ने अहिले नै प्रस्ट भएको छैन। मन्त्री चयनपश्चात् ल‍गातार सम्पर्क र अनौपचारिक छलफलमा रहेको यो समूहले दशैं बिदापछि आफ्नो आगामी रणनीति तय गर्ने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved