बाल्यकालीन दशैं

औपचारिकतामा आत्मीयता हराएको छ

औपचारिकतामा आत्मीयता हराएको छ

मेरो जन्म २००० सालमा काठमाडौंको नक्साल नारायणचौरमा भएको थियो। मेरो सम्झनाको पहिलो पृष्ठमा ब्रतबन्धपछिको पहिलो दशैं छ।

ब्रतबन्ध पाँच वर्षमा भएको थियो। दशैं आउन थालेको सूचना जनैपूर्णेले दिन्थ्यो। जनैपूर्णेपछि पर्वहरूको लाम लाग्न थाल्छ। पारिवारिक परम्पराअनुसार ब्रतबन्ध गरेका सबैले कपाल खौरिनुपर्थ्यो। जनैपूर्णेको सबेरै बिहान नारायणचौरबाट बागमतीमा नुहाउन पशुपति जानुपर्थ्यो।

परिवेश

काठमाडौंमा बस प्रवेश नै गरेको थिएन। नारायणचौर नक्साल र कमलपोखरीमा जम्मा एउटा ट्याक्सी जिप थियो। विशेष आपत नपरी कोही ट्याक्सी चढ्दैनथिए। पशुपतिसम्मको बाटो कच्ची, डम्म कुहिरोले ढाकेको हुन्थ्यो। पातलो बस्ती, साना घरहरू, नर्कटको बाक्लो भर्‍याङ थियो। बागमती र धोबीखोला गहिरा थिए। पानी निर्मल हुन्थ्यो। स्थानीय बासिन्दा त्यही पानी पिउँथे। जारको पानीको सभ्यता काठमाडौंमा प्रवेश गरेकै थिएन। प्रकृतिलाई ‘क्रंक्रिटको जंगल’ले प्रतिस्थापित गरेको थिएन।

दशैंसँगै नयाँ लुगा लगाउने, मासु खाने र पिङ चढ्ने अवसर जोडिएर आउँथ्यो। तयारी पोशाकको जमाना थिएन। टोल टोलमा सूचिकार भए पनि कपडा पसल नयाँ सडकमा र जुत्ता पसल ठहिटिमा मात्रै थिए। सानाको पहिरन भोटो, सुरुवाल र ठूलाको लबेदा, सुरुवाल, कोट, टोपी प्रचलित थिए। अग्ला मोटा बाँस गाडेर प्रत्येक टोलमा पिङ हालिन्थ्यो।

हामी सानाहरू दाइहरूले काखमा राखेर पिङ खेलाउने आशामा हुन्थ्यौं। ठूलाहरू भने पिङ मच्चाएर आकाश छुने कोशिस गर्थे। त्यतिबेला काठमाडौंमा माछा खाने चलन थिएन। बाहुनहरूले हाँस, कुखुरा खाँदैन थिए। बिरामीबाट तंग्रिन थप प्रोटिनका लागि मात्रै बजारबाट मासु किनेर ल्याइन्थ्यो। अन्यथा अधिकांश परिवारमा दुई, तीन महिनामा एकपटक खसीको मासु खाने चलन थियो। टोलका केही घरहरू मिलेर खसी काट्थे अनि मासु भाग लगाएर लिन्थे। तर दशैंमा भने अधिकांश घरमा बोकाको बलि चढाइन्थ्यो।

दशैं आउन थालेको सूचना जनैपूर्णेले दिन्थ्यो। जनैपूर्णेपछि पर्वहरूको लाम लाग्न थाल्छ। पारिवारिक परम्पराअनुसार ब्रतबन्ध गरेका सबैले कपाल खौरिनुपर्थ्यो। जनैपूर्णेको सबेरै बिहान नारायणचौरबाट बागमतीमा नुहाउन पशुपति जानुपर्थ्यो।

दशैंमा तिब्बतबाट च्याङ्ग्रा, भेडा लिएर तिब्बती व्यापारीहरू आउँथे। उनीहरूलाई भोटे र तिब्बतलाई भोट भनिन्थ्यो। तीनधारा पाठशाला अगाडिको चउर तथा घण्टाघर र रानीपोखरी बीचको ठाउँमा भोटबाट ल्याइएका भेडा, च्याङ्ग्रा बिक्री हुन्थ्यो। सप्तमी, अष्टमी र नवमीका तीन दिन काठमाडौंमा बोकाहरूको ‘म्याम्या’ र भेडा च्याङ्ग्राहरूको आर्तनाद मात्रै सुनिन्थ्यो। नेपाली रुपैयाँको क्रयशक्ति कस्तो थियो भने सय रुपैयाँमा भेडा च्याङ्ग्रा पाइन्थ्यो।

दशैं शुरु भएपछि भगवतीका मन्दिरहरूमा मानिसहरूको घुँइचो लाग्थ्यो। हातमा पूजा सामग्री, अनुहारमा भक्ति हुन्थ्यो। मन्दिरहरूमा निरन्तर बजिरहेका घण्टाको मिठो आवाजले वातावरण नै धार्मिक हुन्थ्यो। मन्दिरमा नोट चढाइँदैन थियो। पाँच पैसादेखि एक रुपैयाँको सिक्का चढाइन्थ्यो।

परिवार

मेरो बाल्यकाल संयुक्त परिवारमा हुर्किएको हो। संयुक्त परिवारमा माया, देखरेख, शिक्षा, संस्कारको खानी हुन्छ। अहिले हराइसकेको ठूलालाई आदर, सानालाई हेरविचार, खाना खान बस्ने संस्कृतिको अभ्यास मेरो बाल्यकालमा बिहान उठेदेखि राति सुत्ने बेलासम्म दोहरिरहन्थ्यो।
विजयादशमीमा टीका लगाउँदाको मेरो सम्झना अविस्मरणीय छ। बाक्लो ठूलो चकलामा बाबा (बुवालाई म बाबा भन्थे) सामुन्ने टीका जमरा र छेउमा टल्किने एक रुपैयाँका डबलहरूको थुप्रो लिएर बस्नुहुन्थ्यो। उमेर अनुसारको क्रममा लाम लागेकाहरू हुन्थे। मन्त्र वाचनसहित टीका लगाउने अनि सिंगो नरिवल अथवा एक रुपैयाँको डबल राखेर खुट्टामा ढोग्ने क्रम चल्थ्यो।

वर्षमा एकदिन देखिने यो दृश्य रमाइलो लाग्थ्यो। तर एउटा कुरा मलाई खट्किन्थ्यो। मेरा बहिनीहरूले रुपैयाँ पनि पाउँथे। उनीहरूको खुट्टामा बाबाले ढोग्नु पनि हुन्थ्यो। अरुबेला सबैले बढी माया गर्ने, मेरो इच्छा पूरा गर्न तलमाथि नगर्ने मैले भने दशैंको टीका लगाउँदा रुपैयाँ पाउँदिन थिएँ। घरभरिका सबैलाई मैले खुट्टामा नै ढोग्नुपर्थ्यो।

दशैंसँगै नयाँ लुगा लगाउने, मासु खाने र पिङ चढ्ने अवसर जोडिएर आउँथ्यो। तयारी पोशाकको जमाना थिएन। टोल टोलमा सूचिकार भए पनि कपडा पसल नयाँ सडकमा र जुत्ता पसल ठहिटिमा मात्रै थिए। सानाको पहिरन भोटो, सुरुवाल र ठूलाको लबेदा, सुरुवाल, कोट, टोपी प्रचलित थिए। अग्ला मोटा बाँस गाडेर प्रत्येक टोलमा पिङ हालिन्थ्यो।

परिवर्तन

द्रुतगतिमा समय परिवर्तन भयो। जाडो कम हुन थाल्यो। बागमतीको पानी पनि नहुाउन उपयुक्त रहेन। यातायातको सुविधाले नारायणचौरबाट पशुपतिसम्म हिँडेर जाने कुरा अनपत्यारिलो भयो। घरछेउमा नै मासु पसल खुले। बलि प्रथाका विरोधीहरूको संख्या बढ्न थाल्यो। सँगसँगै मासुको खपत बढेर मासुको व्यापार पनि चम्किन थाल्यो। बलि चढाउनु क्रूरता भन्नेहरू खसी बजारमा जाँदैनन्। नवरात्रि शुरु हुनेबित्तिकै सक्रिय हुने जनावरप्रेमीहरू भगवतीलाई नचढाएर सोझै मासु खान खसी, च्याङ्ग्रा, भेडा, राँगा काट्नुलाई अन्यथा ठान्दैनन्।

अष्ट्रेलिया न्यूजिल्याण्ड र कोरियाबाट मासुको आयात हुन थाल्यो। सिक्काहरू हराए। एक र दुईका नोटहरू पनि हराए। पाँचको नोट पनि हराउन थालेको छ। त्यसबेला हजारको नोट हुँदैन थियो, सयको मात्रै हुन्थ्यो। अहिलेको सयको नोटको क्रयशक्ति त्यसबेलाको डबल (एक रुपैयाँ) जति अथवा अझै कम छ।

आँखा चिम्लिएर वर्तमानमा उभिएर दूर अतीतलाई हेर्दा अचम्मको अनुभूति हुन्छ। स्वःस्फूर्त रूपमा मुखबाट ‘ओहो’ शब्द निस्किन्छ (नेपाली समाज कहाँबाट कहाँ आइपुग्यो १ समाजको बनोट, बासिन्दाहरू बीचको सम्बन्ध, रहनसहन, खानपिन अनि टोलमा अतिनिकटता आजको सन्दर्भमा रोमाञ्चकारी लाग्छ।

अहिले त औपचारिकतामा आत्मियता हराइसकेको छ। व्यस्तताले छिमेक पनि परदेश भएको छ। छिमेकीलाई झ्यालबाट बोलाउने भावनात्मक निकटता फेसबुक मेसेन्जरले प्रतिस्थापित गरेको छ। मुखभन्दा औंला बढी चल्न थालेको छ।

हो, भावनात्मक सामीप्यतालाई यन्त्रवतको व्यवहारले विस्थापित गरेको छ। पारिवारिक निकटतामा समेत समयको दौडले दूरी बढाएको छ। सामाजिक दायित्वलाई फेसबुक, ट्वीटर, ह्वाट्सएपले पूरा गर्न थालेका छन्। मानिसहरू नजिकिँदै टाढा, झन्झन् टाढा भएका छन्।

हाम्रा पर्व

संस्कृति र सामाजिक परम्परा आपसमा जोडिएका हुन्छन्। दुवैको सम्बन्ध इतिहास र भूगोलसँग हुन्छ। यसमा जातीय पहिचान प्रतिबिम्बित हुन्छ। नेपालमा बर्सेनि मनाइने दुई वटा पर्वहरू नेपालीको पहिचान र नेपालको इतिहाससँग जोडिएका छन्।

दशैंमा सेनाले भगवतीको नाममा बडाईं गर्छ। प्रत्येक कोतमा रहेका आफ्नो निसानमा बलि चढाउँछ। महाशिवरात्रिमा राष्ट्रदेव पशुपतिनाथको नाममा सेनाले बडाईं गर्छ। युद्धकालीन जमानाको आवश्यकताअनुसार हतियार तयार राख्नु नेपालको गौरवशाली इतिहासको सांस्कृतिक निरन्तरता हो।

दुवै पर्वहरूमा टुँडिखेलमा सेनाले गर्ने बडाइँका गर्जनहरू राष्ट्रिय सुरक्षाको वर्णमाला हुन्। यिनमा मानव इतिहासमा सधैं स्वतन्त्र रहेको नेपालको गौरवशाली परम्परा, प्रेरणादायी संस्कृति र आत्मविश्वासको मुहान जोडिएका छन्। यसको महत्त्व नेपाली संस्कारले बुझेको छ। यसैले राष्ट्रिय संस्कृति र परम्परालाई यसको थालनी र विकासक्रमबाट पृथक् रित्तो वर्तमानको आँखाले हेर्नु र त्यसलाई अपभ्रंश गर्न अग्रसर हुनु उचित होइन।

दशैंमा बलि चढाएर मासु खाने संस्कृतिमा धार्मिक, सांस्कृतिक र राजनीतिक मान्यताहरू जोडिएका छन्। यसैगरी तिहारमा महालक्ष्मीको पूजा हुन्छ। महालक्ष्मी शाकाहारी हुनुहुन्छ।

महाकाली मांसाहारी र महालक्ष्मी शाकाहारी हुनुको दार्शनिक पक्ष निकै सबल र सम्पन्न छ। दशैं, तिहार शिवरात्रिलगायत सबै पर्वहरू धार्मिक र सांस्कृतिक पक्षसँगै नेपालको सिङ्गो इतिहाससँग पनि घनिष्ट रुपमा जोडिएका छन्।

नेपालको पहिचानसँग यी पर्वहरू, यसका विधिहरू, अनुशासन र मान्यताहरू आबद्ध छन्। यसैले संस्कृति र इतिहासको शृंखलाले सधैँ निरन्तरता पाउनैपर्छ।

आफ्ना दुवै छिमेकीहरूबाट पृथक् र विशिष्ट पहिचान नेपालको छ। यसलाई सुरक्षित राख्नु प्रत्येक पुस्ताको दायित्व हो। यो ज्ञान र गर्वको अनुभूतिलाई परिवारमा, समाजमा र राष्ट्रमा सदैव जीवन्त राख्न राज्य पछि पर्नुहुँदैन। वैचारिक प्रशिक्षणको यो शृंखला अटूट रहनुपर्छ।

नेपालको सुरक्षाको मुख्य कवच नेपालीहरू बीचको एकता हो। पूरै दक्षिण एशियालाई उपनिवेश बनाएको त्यसबेलाको महाशक्तिबाट नेपालको स्वतन्त्रताको झण्डालाई सबै जात र भागका नेपालीहरूको संयुक्त समर्पणले जोगाएर राखेको हो। यो गर्विलो इतिहासबाट प्रेरित र पोषित नेपाली समाजिक व्यवस्था अहिले कमजोर हुन थालेको छ।

आर्थिक र वृत्ति विकासको दबाबले संयुक्त परिवार व्यवस्था भंग हुँदै छ। एक्लो अभिभावक परिवार, अविवाहित दम्पत्ती व्यवस्था, वृद्ध बाबुआमालाई वृद्धाश्रममा पठाएर यूरोप अमेरिका जानेहरूको लर्कोमा नेपालको भविष्य चिन्तित छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved