प्रिय पात्र

उनीसँग कतै भेटे अँगालो हालेर रूने थिएँ

फ्रान्चेस्का र रोबर्टबीच मात्र चार दिनको सम्बन्ध हुन्छ। तर ती चार दिनको प्रेम कसरी मरणोपरान्त पनि सफल हुन्छ भन्ने उपन्यासको प्रस्तुति निकै मार्मिक छ।

उनीसँग कतै भेटे अँगालो हालेर रूने थिएँ

आख्यान र गैरआख्यान धेरै पढेँ। पढ्दै गर्दा सयौँ पात्र मन परे। तर ती सबै सधैँभरी मनमा बसिरहँदैनन्। गैरआख्यानमा बढी रूचि भएकाले लेखक आफै वा कसैको जिवनीले बढी प्रभाव पार्छ। त्यसैगरी आख्यानमा पनि केही प्रिय पात्र छन्।

मेरा प्रिय पात्र एकभन्दा बढी छन्।

हार्पर लीको उपन्यास ‘टू किल अ मकिङ बर्ड’ का पात्रहरू एटिकस फिन्च, बू रेडली र टम रोबिन्सन साह्रै प्रिय लाग्छन्। त्यस्तै गुरूचरण दासले ‘द डिफिकल्टी अफ बिइङ्ग गुड’मा जसरी महाभारतका पात्रहरूको निर्माण गरेका छन् तिनले मेरो मनमा निकै गहिरो छाप छाडेका छन्। खासगरी कर्णलाई उनले जसरी प्रस्तुत गरेका छन्, त्यो सबैभन्दा बढी प्रिय छ।

बुद्धिसागरको उपन्यास ‘फिरफिरे’का पवन, बसन्त, जुठी आमै र चिलगाडी पनि मलाई खुबै मन परेका पात्र हुन्।

मिच आलबोमको प्रोफेसर मोरी र ‘रिडिङ लोलिता इन तेहरान’ का प्रोफेसर अजहर नफिसी पनि मेरा प्रिय पात्र हुन्। म आफै पनि अध्यापक भएकाले उनीहरूलाई मैले मन पराएकी हुँ सायद । त्यो किन पनि भने सही मार्गदर्शनले विद्यार्थीको जीवनमा आउनसक्ने परिवर्तनको सम्भावनाबारे म धेरै सचेत छु।

मलाई यी सबै पात्र प्रिय लाग्छन्। यति हुँदाहुँदै पनि रोबर्ट जेम्स वलरको उपन्यास ‘ब्रिजेस अफ मेडिसन काउन्टी’ की मुख्य पात्र फ्रान्चेस्का जोनसन अहिलेसम्मकै प्रिय पात्र बन्न पुगेकी छन्।

यस उपन्यासका सबै प्रमुख पात्रहरू जीवनमा सबै थोक भएर पनि एक्लो छन्। सन् १९६० को दशकको अमेरिकास्थित सानो गाउँको परिवेशमा बुनिएको यसको कथानक दुई वयस्कबीचको प्रेमसम्बन्धमा आधारित छ। एकल पुरुषलाई जीवन साथीको अभाव प्रश्न चिन्ह बनेर समाजमा उठ्दैन, तर एउटा विवाहित महिला प्रेममा पर्नु भनेको स्वीकार्य निश्चय नै हुँदैन। यस्तोमा ती महिलाले कस्तो निर्णय लिन्छिन्? यही प्रश्नको वरिपरि उपन्यासको कथा घुमेको छ। र,  यो कथा कालातीत छ।

पश्चिमी समाजमा मात्र नभई हामीले आफ्नै वरपर पनि यस्ता विषयवस्तु देखे भोगेका हुन्छौं। महिलाले आफ्नो जीवनभरी वहन गर्नुपर्ने दायित्वको कुनै सीमा हुँदैन। आफ्नो घर, परिवार र चार दिवारभित्र उनको संसार सीमित रहेको हुन्छ। र यही दायित्वको भारमुनी उनका अनेक इच्छा आकांक्षा दबिएर, पुरिएर बसेका हुन्छन्। फ्रान्चेस्का र रोबर्टबीच मात्र चार दिनको सम्बन्ध हुन्छ तर ती चार दिनको प्रेम कसरी मरणोपरान्त पनि सफल हुन्छ भन्ने उपन्यासको प्रस्तुति निकै मार्मिक छ।

रोबर्ट जेम्स वलरले फ्रान्चेस्कालाई जरूर नै न्याय गरेका छन् किनभने हामी महिला वास्तवमा त्यस्तै नै हुन्छौं, मायामा हारेर जित्ने।

पाठकलाई ऊसँग रिस नउठ्ने हैन किनकी सायद कुनै पनि महिलाले रोबर्ट जस्तै सौम्य अनि माया गर्ने जीवनसाथी चाहन्छन् होला। तर फ्रान्चेस्काले भने रोबर्टलाई मात्र होइन आफूलाई पनि सबैभन्दा अन्याय गर्छिन्, आफ्नो परिवारप्रति समर्पित रहेर। तर उनको माया आजीवन रहिरहन्छ।

कतिपय अवस्थामा म फ्रान्चेस्कामा आफूलाई नै पाउँछु। ठ्याक्कै ऐना अगाडि उभिएसरी। र, सोच्छु, कहीँकतै उनीसँग भेट भए गम्लङ्ग अंगालो हालेर भक्कानिएर रूने थिएँ।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

One thought on “उनीसँग कतै भेटे अँगालो हालेर रूने थिएँ

  1. कति मिठो लेख ,,,हुन् पनि जब पाठक लाई पात्र ले मोहित पार्छ ,,त्यो पात्र पाठक को वरिपरि घुमिरहेको भान हुँदो रहेछ ,,,,मलाई पनि कुनै कुनै कथा, तथा उपन्यास को पात्र हरु ले दिमाग मा सधैं आसन जमाएर बसेको भान हुन्छं ,,, “कहीँकतै उनीसँग भेट भए गम्लङ्ग अंगालो हालेर भक्कानिएर रूने थिएँ,,,”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved