काठमाडौं। आजै हुन्छ, भरै हुन्छ भनेर दाबी गरिए पनि गठबन्धनका दलहरूले नाम टुंगो नलगाउँदा मन्त्रिपरिषद् विस्तार अझै हुन सकेको छैन।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बिहान मात्रै एक कार्यक्रममा साँझसम्म मन्त्रिपरिषद् विस्तारको तयारी रहेको जनाएका थिए। यसअघि बुधबार कांग्रेस नेताहरूले पनि मन्त्रिपरिषद् विस्तारको मिति बिहीबार हुने जनाउ गरेका थिए।
बुधबार कांग्रेस पदाधिकारी बैठकमा स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि मन्त्रिपरिषद् विस्तार गर्न लागेको जानकारी पार्टी नेताहरूलाई गराएका थिए।
तर, बिहीबार पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन। मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको शीर्ष नेताहरूको बैठक बोलाइए पनि नेताहरू एकछिन बसेर उठेका थिए।
जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरूको नाम छान्न नसकेपछि बिहीबारको बालुवाटार बैठक खासै लामो नभएको नेताहरूले बताएका छन्। यद्यपि माओवादी केन्द्रले बुधबार नै पार्टीको स्थायी कमिटीबाट मन्त्रीहरूको नाम छानिसकेको छ। बिहीबारको बालुवाटार बैठकमा आफ्नो पार्टीको तर्फबाट मन्त्री हुनेहरूको नाम प्रचण्डले प्रधानमन्त्री देउवालाई बुझाएका हुन्।
तर जसपा, नेकपा (एस) र कांग्रेसले बिहीबार साँझसम्म आफ्नो पार्टीको तर्फबाट बन्ने मन्त्रीहरूको अन्तिम टुंगो लगाउन सकेका छैनन्। कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूहको भागबण्डाका कारण प्रधानमन्त्री देउवालाई अप्ठ्यारो परेको छ।
यता नेकपा (एस)को बिहीबार बसेको बैठकले अध्यक्ष माधव नेपाललाई मन्त्री छान्ने जिम्मा दिएको छ। यद्यपि बिहीबार साँझसम्म नेपाल आन्तरिक परामर्शमै छन्।
त्यसैगरी जसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले पाएका थिए। बालुवाटारको शीर्ष नेता बैठकमा जानुपूर्व पनि यादव र भट्टराई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केही अन्य नेताहरूसँग छलफल गरेका थिए। यद्यपि कुनै ठोस निर्णय सार्वजनिक भएको छैन।
यसरी मन्त्री छान्नका लागि बिहीबार दिनभर बैठक गरेका नेताहरूले शुक्रबार भने मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन्।
यो पनि पढ्नुहोस्