बाल्यकालीन दशैं

नयाँ लुगा नहुँदा मामाघर गइनँ

म केटाकेटी छँदा हाम्रो ठाउँमा तरकारी किनबेच नै हुँदैनथ्यो। नेवारहरू चाहिँ छ्यापी, लसुन, प्याज र अर्को पनि हुन्थ्यो मसला जातको, त्यस्ता चिज बेचेर आम्दानी गर्थे। हाम्रो गाउँमा सानो केराउ छर्ने चलन हुन्थ्यो।

नयाँ लुगा नहुँदा मामाघर गइनँ

परिवेश

२९ साउन १९८५ सालमा भक्तपुरको गुण्डुमा जन्मिएँ म । गुण्डु एउटा ठूलो गाउँ हो । त्यहाँको तिथलीमा जन्मेको हुँ म । धेरै मानिस तिथली र ताथलीमा झुक्किन्छन् । ताथली बेग्लै ठाउँ हो । मेरा मावली भने ताथलीका ढुंगाना हुन्।

मेरो बुवाको बा, आमा चाँडै बित्नुभएको रै’छ। बाजे पण्डित हुनुहुँदोरहेछ। सानैमा बा–आमा वितेपछि बुवाले सबै अंश जेठा बालाई बुझाएर उतै भतुवा लागेर बस्नुभएछ। बुवाले पढ्न पाउनु भएन । अथवा पढ्ने मन पनि गर्नुभएन।

मेरा बाले काठमाडौंको फर्पिङमा पहिलो बिहे गर्नुभएको रहेछ । तर बिहे भएको दुई वर्षपछि दशैंमा माइत जाँदा जेठी आमा उतै बित्नुभएछ । त्यसपछि मेरी आमासँग बिहे गर्नुभएको रहेछ । म लगभग तीन वर्ष र भाइ त्यो भन्दा सानो हुँदा हाम्री आमा पनि झाडाबान्ताले बित्नुभयो।

आमालाई झाडाबान्ता लागेका बेला भक्तपुरमा अस्पताल खुलिसकेको थियो । वीर अस्पताल पनि थियो तर उहाँको स्वास्थ्य राम्रो हुँदैन भनेर अस्पताल नलगी सोझै पशुपति आर्यघाट लगिएछ। दुई/दुई वटी श्रीमति बितेपछि विरक्तिएर बाले जोगी हुन्छु भन्न थाल्नुभएछ। बुबा पुरेत्याँई गर्नुहुन्थ्यो। जजमानहरूले ‘तँ जोगी न हो, बरु बसाइँ सरेर दधिकोट आइज’ भनेपछि बसाइँ सर्नुभयो।

बासँगै हामी पनि दधिकोट सर्‍यौँ । तिथलीमै म हुर्किएको भए मेरो पढाई हुँदैनथ्यो। पाठशाला भनेको लुभु, भक्तपुर र ठिमीमा मात्रै थियो। यी तीनै ठाउँ तिथलीबाट टाढा थिए। पछि बसाइँ सरेपछि मलाई ललितपुरको लुभु पढ्न जान सजिलो भयो, त्यहाँको भाषा पाठशालामा आठ कक्षासम्म पढेपछि काठमाडौंको तीनधाराको संस्कृत पाठशालामा पढेँ।

यही पृष्ठभूमीमा मेरो बाल्यकाल बितेको हो ।

दशैं स्मृति

हामी आर्थिक रुपमा निम्नमध्यम वर्गीय परिवारका थियौँ। दशैंमा चिउरा खाने चलन हुन्थ्यो। चिउरा ढिकीमा कुटेर तयार हुन्थ्यो। दशैंको नौरथा लागेपछि घरमै धान उसिनिथ्यो अनि चिउरा कुट्न चित्तपोल जाने चलन थियो ।

घरमा ल्याएको चिउरा भने ननिफनिकन राखिन्थ्यो। निफनेपछि केटाकेटी र अरूले चोरेर खान्छन् भनेर नकेलाइकन राखिन्थ्यो। दशैंको फूलपातीको बढाई नहुन्जेल हामी केटाकेटी चिउरा होइन, चिउराको बास्ना खान्थ्यौं। फूलपातीको बढाई भएको बेलुकादेखि आमाहरूले चिउरा दिनुहुन्थ्यो। अष्टमीको दिनमा भोलिपल्ट बिहानै घरमा खसी वा चाङ्ग्रो काट्ने चलन थियो। रक्ति र चिउरा मस्त खाइन्थ्यो। रक्ति चिउरा खाएपछि खसी, चाङ्ग्राको आन्द्राभुँडी धुन कुलोमा जानुपर्थ्यो।

त्यो बेलाको अधिकांशको आर्थिक अवस्था कमजोर हुन्थ्यो । दशैंमा लुगा सिउन बालीघरे सूजीकारकोमा जानुपर्थ्यो । एकजना सूजीकारले सबैका लुगा सिउन भ्याउँदैनथ्यो। भन्न चाहिँ सबैको बनाउन भ्याउँछु भन्थ्यो तर पैसा र पहुँचवालाको मात्रै लुगा तयार हुन्थ्यो। लुगा सिउन पाएको वर्ष मामाघर गइन्थ्यो नभए गइन्थेन । एकदुई पटक त नयाँ लुगा नहुँदा म दशैंमा मामाघर गइनँ।

सम्भव भएसम्म टिकाको दिनमा नत्र भोलि वा पर्सी मामाघर गइन्थ्यो। कम्तिमा एक रात बसिन्थ्यो। मेरा मामाहरू तीन जना भए पनि सबैजना एउटै घरमा बस्नुहुन्थ्यो। दशैंमा मात्रै होइन, फुर्सद भएपछि अघिपछि पनि मामाघर गइन्थ्यो। मामाघरमा गिर्रा निकै खेलिन्थ्यो। गिर्रा भन्या फुटबल जस्तो, थोत्रा झुम्राको बनायो भने हलुका र कमजोर हुन्थ्यो। बासका जराको डल्ला बनाएर खेल्ने चलन थियो। गिर्खाले जिउमा लाग्यो भने रुने गरी दुख्थ्यो।

मामाघरकी आमै (आमाकी आमा) ले हामी दाजु भाइलाई निकै माया गर्नुहुन्थ्यो। हाम्री आमा नभएकाले आमैले घरकालाई भन्दा हामीलाई माया गर्नुहुन्थ्यो। हामीले उपद्रो गर्‍यौँ भने पनि पिटाइ मामाहरूले खानुहुन्थ्यो। जे होस दशैंमा चिउरा, मासुभात टन्नै खान पाइन्थ्यो। अहिले जस्तो जुनबेला म लाग्यो त्यो बेला मासु नपाइने त्यतिबेला वर्षको तीन, चारपटक मात्रै मासु खाइन्थ्यो ।

बडादशैं, माघे संक्रान्ती, चैते दशैं र साउने संक्रान्तिमा मात्रै मासु खाने मौका मिल्थ्यो। तीनपटक पेटभरी खान नपाए पनि दशैंमा चाहिँ मासु धेरै खाइन्थ्यो। त्यो बेलाको अर्थतन्त्र र सामाजिक परिवेशले गर्दा पनि त्यस्तो भएको हो।

नियमित आम्दानी हुनेहरू भने प्रशस्त मासु खान्थे । मेरा गाउँका धेरै मानिस किसान थिए । एकपटक मैले एकजना नेवार किसानलाई सोधेको थिएँ, “ए, साल्दाई हप्तामा कति पटक मासु खान्छौ ?” साल्दाइले भने, “सात दिनमा दुई पटक खाइन्छ। एक दिन भैंसी (राँगा)को, एक दिन खसीको।”

उनीहरूले नियमित मासु खाने आधार भनेको तरकारी खेती थियो, तरकारी बेच्थे।

म केटाकेटी छँदा हाम्रो ठाउँमा तरकारी किनबेच नै हुँदैनथ्यो। नेवारहरू चाहिँ छ्यापी, लसुन, प्याज र अर्को पनि हुन्थ्यो मसला जातको, त्यस्ता चिज बेचेर आम्दानी गर्थे। हाम्रो गाउँमा सानो केराउ छर्ने चलन हुन्थ्यो। केराउको साग दुई पटक टिप्ने चलन थियो। एक पटक सानै मुना भएको बेला र अर्को पटक बोट अलि ठूलो भएपछि। केराउको साग (तिउन) सुकाएर राखिन्थ्यो, हिउँदमा पिठोसँग मिलाएर खाइन्थ्यो। दाल पनि त्यही, तरकारी पनि त्यही।

दशैंमा मामाघरको दक्षिणा निकै महत्वपूर्ण हुन्थ्यो। एक पैसा, दुई पैसा, पाँच पैसे ढ्याक, तिरन्नी, पचन्नी, मोहोर र डबल रुपैयाँ हुन्थ्यो। त्यो बेला पैसा सबै चाँदीको हुन्थ्यो। पाँच पैसादेखि ढ्याकसम्म तामाको र अरू सबै चाँदीका पैसा हुन्थे। मामाघरमा हामीले दुई पैसा दक्षिणा पाउथ्यौं । बालाई मोहोर (५० पैसा) दिने चलन थियो। त्यो नै ठूलो कुरा हुन्थ्यो।

भक्तपुरमा चारचार पैसाको पेडा पाइन्थ्यो। मेरो बाले आठ पैसामा दुई वटा पेडा किन्नुहुन्थ्यो र मामाघरको तलदेखि सबैलाई थोरथोरै थोरथोरै बाँड्दै हिड्नुहुन्थ्यो। बालाई देखेपछि वरिपरिका केटाकेटी झुम्मिन्थे पेडा खान पाइन्छ भनेर। मामाघर साह्रै प्रिय लाग्थ्यो। मेरी आमा नभएर पनि होला मामाघरतर्फका सबैले माया गर्थे।

पाँच, छ वर्षअघिसम्म पनि म मामाघर जान्थेँ । मेरा कान्छा मामा बलराम ढुंगाना र मेरो उमेर खासै फरक होइन। उहाँ दुई वर्षअघि ९६ वर्षको उमेरमा बित्नुभयो। कान्छा मामा र मेरो उमेर खासै फरक नभएकाले पनि मामाघर पुग्दा साथीसँगै खेलेजस्तो हुन्थ्यो।

दशैंका बेला हाम्रो घरतिर लिंगे पिङ लगाइन्थ्यो। रोटे पिङ बनाउन अलि बढी मेहनत चाहिने भएकाले यस्तो पिङको चलन भने थिएन। लिंगे पिङ फूलपातीको दिनदेखि चल्थ्यो। केटाकेटी धेरै अलमल गर्छन्, घरमा काम बिग्रन्छ भनेर दशैंको पूर्णिमापछि पिङका लठ्ठा झिकेर राखिन्थ्यो। पछि फेरि काग तिहारको दिनदेखि फेरि पिङ खेल्न मिल्ने बनाइन्थ्यो। तिहार सकिएपछि हटाइन्थ्यो। गाउँका युवक र किशोरहरू मिलेर पिङ बनाउने गरिन्थ्यो। एउटा पिङमा एकै पटक दुईजना खेल्न मिल्ने खालको दोहोरे पिङ हुन्थ्यो।

दशैंका बेला अघिपछि भन्दा धेरै मासु खाइथ्यो। पोषिलो कुरो पचाउन गाह्रो पिङमा जति मच्चियो, त्यति पच्दो रहेछ। त्यो बेला मनोरञ्जनको अरू खासै साधन थिएन। पिङमा चढेपछि अरूलाई पालो नदिने, आफैं मात्र खेलिरहने यस्तो जिद्धी स्वभाव हामी केटाकेटीहरूमा हुन्थ्यो।

चाडबाडका बेला दुईथरी साथीहरूसँग भेटघाट हुन्थ्यो। एक थरी गाउँका र अर्कोथरी स्कूलका साथी हुन्थे। मेरो गाउँबाट स्कूलका साथी थिएनन् भन्दा पनि हुन्छ। गाउँमा पढ्ने मान्छे अत्यन्त कम हुन्थे। म पुरोहितको छोरो भएकाले मेरो बाले मलाई पढाउनुभयो।

(अग्रज पत्रकार रिसालसँग टीका बन्धनले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved