गठबन्धनभित्र मन्त्रालय बाँडफाँट सकियो, मन्त्री छान्न सकस

माओवादीले भने टुंग्यायो चार जनाको नाम

नेपालभ्युज

गठबन्धनभित्र मन्त्रालय बाँडफाँट सकियो, मन्त्री छान्न सकस

काठमाडौं। सतारुढ गठबन्धनमा मंगलबार मन्त्रालयको भागबण्डा टुंगिएसँगै बुधबार सबै दल मन्त्री छान्नका लागि आन्तरिक छलफलमा जुटेका छन्। मन्त्री छान्न दलहरूभित्र नेताहरूको तीव्र दौडधूप चलिरहको छ।

दलहरू सरकारमा पठाउने मन्त्री छान्न जुटेका छन्। जसपा र माओवादी केन्द्रमा मन्त्री छान्ने जिम्मा शीर्ष नेतृत्वहरूलाई दिएका छन। नेकपा (एकीकृत समाजवादी) ले बुधबार (आज) अनौपचारिक छलफल गरे पनि औपचारिक रूपमा भोलि ११ बजे स्थायी कमिटी बैठक गरेर मन्त्री टुंग्याउने बताएको छ।

नेपाली कांग्रेसले भने बुधबार साँझ पदाधिकारी बैठक बसेर मन्त्रीहरू छान्नेबारे छलफल गरेको छ। बुधबार कांग्रेस पदाधिकारी बैठक बस्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै आन्तरिक छलफल गरेको थियो। कांग्रेसमा सिटौला पक्षले मंगलबारै अन्तरिक छलफल गरेर आफ्नो समूहबाट एक जना मन्त्रीको सिफारिस गर्ने नाम तय गरिसकेको छ।

सिटौला समूहबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउने तय भएको हो। कांग्रेससँग अब थप पाएका चार ओटासहित मन्त्रालयमा सञ्चार, स्वास्थ्य, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय हुनेछ।

कांग्रेसले यसअघि गृह, परराष्ट्र र कानून मन्त्रालय पाइसकेको छ। अब ज्ञानेन्द्र बहादुर कार्कीको मन्त्रालय फेरिने छ भने बाँकी तीन ओटामा कांग्रेसबाट वरिष्ठ नेता पौडेल, सिटौला पक्ष र देउवा पक्षको समूहबाट मन्त्री हुनेछन्।

त्यसैगरी माओवादी केन्द्रले भने देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री बनाउने भएको छ भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ।

सत्ता गठबन्धन बैठकमा माओवादीलाई थप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी र कृषि तथा पशुपन्क्षी मन्त्रालय दिने सहमति भएको थियो।

जनता समाजवादी पार्टी (जसपा) मा पनि चार ओटा मात्रै मन्त्रालयमा अधिकांश नेताहरूले चासो देखाएपछि अध्यक्ष उपेन्द्र यादवलाई सकस भएको छ। बुधबारको बैठकमा नेताहरूले नयाँ अनुहारकालाई प्राथमिकता दिन जोड दिएका थिए। पार्टीभित्र मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिइएको छ।

जसपा महासचिव रामसहाय यादवले बुधबारको बैठकमा कार्यकारणी समिति सदस्यहरूले मन्त्री छान्न आफ्नो सुझाव दिए पनि शीर्ष नेताहरूले त्यसबारे अन्तिम टुंगो लगाउने बताए।

नेकपा (एस) बाट सरकारमा विरोध खतिवडाको नेतृत्वमा जाने पक्काजस्तै भए पनि अन्य तीन मन्त्रीको अन्तिम टुंगो बिहीबार मात्रै लाग्ने पार्टीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved